नेपालीले अझै किन भारतमा 'क्यूआर कोड'मार्फत् भुक्तानी गर्न पाएनन्

तस्बिर स्रोत, Getty Images
नेपालीहरूले भारतमा 'क्यूआर कोड'मार्फत् भुक्तानी सुरु गर्ने विषयमा एक चरणको अध्ययन सम्पन्न भएको भन्दै केन्द्रीय ब्याङ्कका प्रवक्ताले चाँडोभन्दा चाँडो त्यसलाई सुरु गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्।
गएको मार्च महिनाबाटै भारतीयहरूले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था सुरु भएको थियो।
नेपालीहरूका हकमा पनि भारतीयहरूले त्यस्तै किसिमले भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भन्दै त्यसका लागि तयारी भइरहेको अधिकारीहरू बताउँछन्।
क्यूआरकोड बाहेक व्यक्तिगत खातामा वास्तविक समयमा नै रकम जम्मा हुने व्यवस्था मिलाउनका लागि पनि काम भइरहेको अधिकारीहरू बताउँछन्।
नेपाल राष्ट्र ब्याङ्क के भन्छ?

तस्बिर स्रोत, Getty Images
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले भारतमा पनि नेपालीहरूलाई क्यूआरमार्फत भुक्तानी गर्न दिइने भन्दै ‘चाँडोभन्दा चाँडो’ यसलाई कार्यान्वयनमा ल्याउने पक्षमा आफूहरू रहेको बताए।
उनले भने, “अहिलेसम्म हामीले भारतबाट आउनेहरूलाई यो सेवा दिएका छौँ। नेपालबाट जानेहरूलाई दिएका छैनौँ। हामीले एउटा चरणको अध्ययन सम्पन्न गरिसकेका छौँ। र चाँडोभन्दा चाँडो दिने भन्ने पक्षमा नै छौँ।"
उनले थपे, "नेपालबाट विदेशी विनियम सञ्चिति बाहिर जाने कुरा हो। विदेशी विनिमयसँगको व्यवस्था पनि सबै पालना गराउनुपर्ने भएकाले हामी अलिक सतर्क भएका छौँ।”
हाल नेपालीहरूले भारतमा डेबिट कार्डमार्फत् दैनिक १५ हजार र महिनामा एक लाख भारतीय रुपैयाँसम्म खर्च गर्न पाउँछन्।
उनले भविष्यमा भारतमा क्यूआरमार्फत् गर्न पाइने कारोबारको सीमा आफूहरूले निर्धारण गर्ने भन्दै त्यो डेबिट कार्डको सीमाभन्दा बढी नहुने आफूलाई लागेको बताए।
क्यूआरमार्फत् भारतमा भुक्तानी गर्न सकिने प्रणाली कार्यान्वयन भए त्यसले नेपालबाट भारतमा घुम्न जाने पर्यटक, अध्ययन गर्न जाने विद्यार्थी र उपचारमा जाने मानिसहरूलाई फाइदा पुग्ने ठानिएको छ।
भारत र नेपालबीचको सम्झौताको कार्यान्वयन कहाँ पुग्यो?
राष्ट्र ब्याङ्कले गएको वैशाखमा अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोडलगायतको प्रयोग गरी इन्टनेट तथा अन्तरब्याङ्क भुक्तानीसम्बन्धी एउटा मस्यौदा सार्वजनिक गरेको थियो।
त्यसअघि नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि भारतको न्याश्नल पेमेन्ट कर्पोरेशन अफ इन्डिया अन्तर्गतको एनआईपीएल र नेपाल क्लियरिङ हाउसबीच सन् २०२३ को जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
त्यसमा एनआईपीएलको 'यूनाइटिड पेमेन्ट्स इन्टरफेस' र एनसीएचएलको राष्ट्रिय भुक्तानी प्रणालीलाई आबद्धतालाई सहजीकरण गर्ने सम्बन्धमा दुवै देशका केन्द्रीय ब्याङ्कहरूसमेत रहने नियामक संरचना गठन गरिएको थियो।
यसै वर्षको फेब्रुअरीमा सो संरचनाको कार्यादेश टुङ्ग्याइएको भए पनि ती निकायहरूले औपचारिक रूपमा डिजिटल ब्याङ्किङ कारोबार थालिसकेका छैनन्।

तस्बिर स्रोत, Reuters
नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले आफूहरूले परीक्षणको काम सम्पन्न गरेको र अनुमोदन पर्खिरहेको बताए।
उनले भने, “हामीहरूले परीक्षण गरिसकेका छौँ। नेपालबाट भारत र भारतबाट नेपालसम्म व्यक्ति तहमा (रकम) पठाउने गर्ने प्रणाली छिट्टै लागु हुँदै छ। मितिको बारेमा कुरा हुँदै छ, भारतबाट यसबारेमा निर्णय आउँदै छ।”
उनले आफूहरूले सेवा दिन थालेपछि नेपालमा नै बसेर भारतको खातामा र भारतमा बसेर नेपालको खातामा मोबाइल ब्याङ्किङ प्रयोग गरेर रकम जम्मा गर्न सकिने बताए।
पहिलो चरणमा यो सेवा सुरु गर्ने र त्यसपछि सम्बन्धित देशको नागरिक अर्को देशमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने 'पीटूएम' प्रणाली कार्यान्वयनमा ल्याउने अधिकारीहरूले बताउँदै आएका छन्।
भारतीयहरूले दैनिक कति खर्च गरिरहेका छन्
कतिपय भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरूमार्फत् नेपालमा भारतीयहरूले क्यूआर कोडमार्फत् भुक्तानी गर्ने प्रणाली गएको मार्च १ मा सुरु भएको थियो।
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले यसपछि नेपालमा औसतमा दैनिक १४ लाख रुपैयाँ कारोबार भइरहेको देखिएको बताए।
उनले भने, “भारतबाट आउने पर्यटकहरूले क्यूआरबाट भुक्तानी गर्दै आएका छन्। हरेक दिन १४ लाख रुपियाँ औसतमा कारोबार भएको देखिन्छ। यो राम्रो हो।”

तस्बिर स्रोत, GETTY IMAGES
एउटा निजी भुक्तानी प्ल्याटफर्म फोनपेका प्रमुख कार्यकारी दिवस सापकोटाले झन्डै ३ महिनाको अवधिमा नेपालमा भारतीयहरूले ६० हजार भन्दा बढी कारोबार फोनपेमार्फत् गरेको बताए।
उनले भने, “परिमाणमा हेर्ने हो भने १२० करोड रुपैयाँ जति कारोबार भइसकेको छ। सबैभन्दा धेरै कारोबार ट्राभल टूर्स अनि होटल क्षेत्रमा भइरहेको छ। सुरुमा सीमा क्षेत्रमा बढी कारोबार हुँदै आएकोमा अहिले काठमाण्डू र पोखरामा बढी रहेको छ।”
उनका अनुसार भारतीय नीतिअनुसार प्रयोगकर्ताले दैनिक एक लाख भारुसम्म क्यूआर कोडमार्फत् कारोबार गर्न सक्छन्।
फोनपेका प्रमुख कार्यकारी सापकोटा भारतमा पनि नेपालीहरूलाई यस्तो सेवा दिन सक्ने अवस्थामा आफूहरू रहेको बताउँछन्।
उनले थपे, “प्राविधिक तयारी गरेर लाइभ जानका लागि हामी तयार अवस्थामा नै छौँ। तर राष्ट्र ब्याङ्कले नियमहरू नबनाएका कारणले अहिले रोकिएको छ। भारतबाट ‘ग्रीन सिग्नल’ प्राप्त भयो भने अर्को दिन नै हामी सुरु गर्न सक्छौँ।”
नेपालमा कुन परिमाणमा हुन्छ डिजिटल कारोबार

सन् २०२०-२१ को जुनमा क्यूआर भुक्तानीको सङ्ख्या ८ लाख ५५ हजार रहेकोमा यो वर्षको मार्च एप्रिलसम्म आइपुग्दा त्यो बढेर १ करोड ६१ लाख पुगेको छ।
सन् २०२०-२१ को जुनमा क्यूआरमार्फत भएको भुक्तानी ३ अर्ब ६५ करोड रहेको थियो।
यस वर्षको मार्च र एप्रिल महिनामा आइपुग्दा ४५ अर्ब ६७ करोड रुपियाँ पुगेको छ। त्यो कारोबार कुनै पनि महिनामा भएको हालसम्मकै उच्च रहेको अधिकारीहरू बताउँछन्।
राष्ट्र ब्याङ्कको आँकडाले क्यूआरमा आधारित भुक्तानी निरन्तर वृद्धि हुँदै गएको देखाउँछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








