तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एअर इन्डिया दुर्घटनाको प्रतिवेदनमा चर्चा गरिएको इन्धन नियन्त्रण स्विच के हो?
भारतको अहमदाबादमा २६० जनाको ज्यान जाने गरी भएको एअर इन्डियाको विमान दुर्घटना अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा इन्धन स्विच बन्द भएको विषय उल्लेख भए पछि यी स्विचबारे चर्चा चलिरहेको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो 'एएआईबी'ले तयार गरेको प्रतिवेदनमा विमान दुर्घटनाको एउटा प्रमुख कारण विमान उड्ने बित्तिकै ककपिटमा हुने दुवै इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू केही बेर 'कट-अफ' को अवस्थामा रहनुलाई औँल्याइएको छ।
हवाईजहाजमा इन्धन नियन्त्रण गर्ने स्विचहरू के हुन् र तिनीहरूको काम के हो भन्नेबारे हामीले बुझाउने प्रयास गरेका छौँ।
इन्धन नियन्त्रण स्विचले कसरी काम गर्छ?
विमानको ककपिटको केन्द्रीय कन्सोलमा दुई वटा स्विचहरू हुन्छन्, जसलाई इन्धन नियन्त्रण स्विच भनिन्छ।
विमानलाई जमिनबाट उडाउने क्रममा यी स्विचहरूलाई 'रन' मोडमा राखिन्छ र इन्जिन चालु गर्ने काम गर्छन्। अनि जब विमान अवतरण हुन्छ इन्जिन बन्द गर्न पनि यिनै स्विचले काम गर्छन्। त्यस बेला स्विचलाई 'कटअफ' तर्फ सारिन्छ।
सामान्यतया विमान हावामा हुँदा यी स्विचहरू चलाइँदैन।
यद्यपि, यसमा केही अपवादहरू चाहिँ छन्। उदाहरणका लागि यदि इन्जिन बिग्रियो वा आगो लाग्यो भने, पाइलटले इन्जिनमा थप समस्या र क्षति हुन नदिन इन्धन आपूर्ति बन्द गर्छन्। तर यो धेरै दुर्लभ अवस्थाहरूमा मात्रै प्रयोग हुन्छ।
"इन्धन कट-अफ स्विचहरूमा छुट्टै ऊर्जा प्रणाली र तारहरू हुन्छन् र इन्धन भल्भ यी स्विचहरूद्वारा नियन्त्रित हुन्छ। यदि तिनीहरूको प्रयोगमा कुनै गल्ती भयो भने यसको प्रभाव तुरुन्तै देखिन्छ र इन्जिनमा जाने ऊर्जा बन्द हुन्छ," अमेरिकी उड्डयन सुरक्षा विज्ञ जोन काक्सले समाचार एजेन्सी रोएटर्ससँग भनेका छन्।
उड्डयन विज्ञहरूका अनुसार पाइलटहरूले गल्तीले यो इन्धन स्विच बन्द गरेर इन्जिनमा इन्धन आपूर्ति रोक्न सक्दैनन्। यसको डिजाइन नै त्रुटिवश बन्द नहुने तरिकाले गरिएको हुन्छ। तर यसलाई बारम्बार अन र अफ गर्दा यसको प्रभाव चाहिँ तत्कालै देखिन्छ। किनभने यसलाई बन्द गर्दा इन्जिनमा इन्धन आपूर्ति पूर्ण रूपमा बन्द हुन्छ।
"यो इन्धन नियन्त्रण स्विचको लागि छुट्टै तार र बिजुली आपूर्ति प्रणालीसँगै उक्त स्विच नियन्त्रण गर्ने इन्धन भल्भ पनि हुन्छ," अमेरिकी उड्डयन सुरक्षा विज्ञ जोन काक्स रोएटर्ससँग थप भन्छन्।
अहमदाबादमा दुर्घटनाग्रस्त भएको एअर इन्डियाको विमान बोइङ ७८७ ड्रीमलाइनर हो। यसमा दुई वटा इन्धन नियन्त्रण स्विचहरू थिए। यी दुवै जीई इन्जिनमा जोडिएका थिए र थ्रस्ट लिभरको ठिक मुनि थिए।
यो थ्रस्ट लिभर पाइलटले जहाजमा ऊर्जाको आपूर्ति नियन्त्रण गर्न प्रयोग गर्छ र यो ककपिटमा हुन्छ।
यो स्विचमा स्प्रिङ जडान गरिएको हुन्छ। जसले यसलाई स्थिर रहन सहयोग गर्छ। यसलाई खोल्न वा बन्द गर्न पाइलटले पहिले स्विचलाई माथितिर घुमाउनु पर्छ अनि त्यसपछि मात्रै यो 'कटअफ' वा 'रन' मा जान्छ।
प्रतिवेदनले औँल्याएका थप विषय
प्रतिवेदन अनुसार ककपिटको भ्वाइस रेकर्डिङमा एक जना पाइलटले अर्को पाइलटलाई इन्धनको स्विच बन्द गरेको विषयमा सोधेको र अर्का पाइलटले आफूले बन्द नगरेको जबाफ दिएको उल्लेख छ।
एएआईबीले तयार गरेको १५ पृष्ठको प्रारम्भिक प्रतिवेदनमा एअर इन्डियाको विमान उडेको केही सेकेन्डपछि के भयो भन्ने विवरण दिइएको छ।
"विमानले स्थानीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा १८० नटको अधिकतम गति लिएको र त्यस लगत्तै एक सेकेन्डको फरकमा इन्जिन-१ र इन्जिन-२ को लागि इन्धन प्रवाह हुने स्विचहरू 'रन'बाट 'कट-अफ'को स्थितिमा राखियो," प्रतिवेदनमा भनिएको छ।
त्यसपछि "ककपिट भ्वाइस रेकर्डिङमा एक जना पाइलटले अर्को पाइलटलाई किन बन्द गरेको भनेर सोधेको सुनिन्छ। अर्को पाइलटले आफूले त्यसो नगरेको जबाफ दिन्छन्," प्रतिवेदनमा भनिएको छ।
त्यसको १० सेकेन्डमै "पहिलो इन्जिनमा इन्धन प्रवाह हुने स्विच पुनः खोलिन्छ" अर्थात् 'कट अफ' बाट 'रन' मा लगिन्छ। त्यसको अर्को चार सेकेन्ड पछि "दोस्रो इन्जिनमा इन्धन प्रवाह हुने स्विच पनि 'रन' मा लगिन्छ," यति हुँदा १४ सेकेन्ड बितेको प्रतिवेदन उल्लेख छ।
यसबाट पाइलटले फेरि विमान नियन्त्रण गर्ने प्रयास गरेको देखिएको विज्ञहरूले बताएका छन्।
पुनः त्यसको नौ सेकेन्ड पछाडि एक जना पाइलटले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीहरूलाई आपत्कालिन अवस्थामा पठाइने "मे डे" सन्देश पठाएको प्रतिवेदनमा उल्लेख छ। तर हवाई ट्राफिक अधिकारीहरूले विमान चालकहरूलाई सोध्दा कुनै प्रतिक्रिया नपाएको र त्यस लगत्तै विमान दुर्घटनाग्रस्त भएको देखेका प्रतिवेदनमा उल्लेख छ।
यो विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन मात्रै हो। उक्त प्रतिवेदनले कुनै पनि ठोस निष्कर्ष निकालेको छैन र अनुसन्धान जारी रहेको उल्लेख गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।