मान्छेसँग हुर्किएका गैँडाका टुहुरा केटाकेटी वयस्क भएपछि कहाँ जान्छन्?

सडकमा गैँडा
    • Author, ईश्वर जोशी
    • Role, चितवन

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा राम, देव, पूजा र माइला नाम दिइएका गैँडाका चार वटा बच्चा मानव रेखदेखमा हुर्कँदै छन्।

माउबाट छुट्टिएका वा बाघको आक्रमणमा परेर घाइते भएका गैँडाका केटाकेटीहरूको उद्धार गरेर ल्याएपछि कोषले तिनको उपचारसँगै पालन पोषण गरेर हुर्काउँछ।

मानिसको निगरानीमा हुर्किएर वयस्क भइसकेपछि गैँडाका केटाकेटीहरूलाई पुनः जङ्गली जीवन सुरु गर्न सहज नहुने संरक्षणविज्ञहरू बताउँछन्।

अहिले सौराहामा हुर्कँदै गरेका चारै वटा गैँडाका बच्चाहरू बाघको आक्रमणमा परेर गम्भीर घाइते अवस्थामा उद्धार गरेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिए।

जङ्गलबाट संरक्षण कोषको यात्रा

गैँडाका केटाकेटी

चार वटामध्ये देव नाम दिइएको बच्चा चितवनको देवनगरबाट घाइते अवस्थामा ल्याइएको थियो।

रामलाई बाघमारा सामुदायिक बनमा बाघले आक्रमण गरेपछि माउसँग छुट्टिएको अवस्थामा उद्धार गरेर ल्याइएको अधिकारीहरू बताउँछन्।

पूजालाई सौराहा पारीको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्तीघाटबाट ल्याइएको थियो भने माइला नाम दिइएको गैँडाको बच्चा त्यहाँबाट ४०० किलोमिटर पश्चिमको बर्दिया राष्ट्रिय निकुञ्ज असोज ३ गते मात्रै बाट ल्याइएको हो। ती सबै गैँडाका बच्चाहरू अहिले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा सँगसँगै हुर्कँदै छन्।

चार वटामध्ये राम र देव करिब १४ महिना उमेरका भएका छन्। उनीहरूमध्ये पूजा सबैभन्दा जेठी हुन्। पूजा दुई वर्षकी पुग्न लागिन्। अनि चारमध्ये उमेरले सबैभन्दा कान्छा तर नाम माइला राखिएका बच्चाको उमेर एक वर्षको छ। घाइते अवस्थामा ल्याइएका गैँडाका बच्चाहरू उपचार गरेर बचाउन निकै कठिन र खर्चिलो पनि हुने गरेको चिकित्सक श्रेष्ठ बताउँछन्।

विसं २०७४ सालदेखि २०८१ असोजसम्ममा दुर्लभ एकसिङ्गे गैँडाका २० वटा बच्चाको उद्धार गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका सूचना अधिकारी आशिष गुरुङले बताए।

उद्धारपछि पनि मृत्युको जोखिम

गैँडाका बच्चाहरूलाई चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक प्राविधिकहरूको सल्लाह र निगरानीमा राख्ने गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाले बताए।

प्रायजसो गैँडाका बच्चाहरू बाघको आक्रमणमा परेर घाइते माउसँग छुटेका, बाढीले बगाएर ल्याएका र गोहीको आक्रमणमा परेको अवस्थामा उद्धार गरेर ल्याइने गरिएको उनी सुनाउँछन्।

ती बच्चाहरू संरक्षण केन्द्रसम्म आइपुग्दा नै गम्भीर अवस्थामा आउने गरेका कारण र उपचार गरेर बचाउन निकै कठिन हुने गरेको सडौलाले बताए।

टुहुरा गैँडाको जङ्गल यात्रा

चितवनमा गैँडा

कुल २० वटा गैँडाका बच्चाहरू उद्धार गरी ल्याइएकामा १७ वटा राष्ट्रिय प्रकृति संरक्षण कोष र तीन वटा चितवन राष्ट्रिय निकुञ्जको कसरमा राखिएको थियो। जसमध्येका दुई वटा गैँडा ललितपुरको सदर चिडियाखानामा पठाइएका थिए।

उद्धार गरिएका टुहुरा गैँडाहरूमध्येबाटै दुई वटालाई सरकारले विदेशी चिडियाघरमा उपहार दिएको छ। ब्यूटी नाम गरेकी पोथी गैँडालाई अस्ट्रियाको भियना चिडियाखानामा एउटा र त्रिवेणी नामको भाले गैँडा चीनको साङ्घाई चिडियाखानामा उपहार दिइएको छ।

त्यस्तै अञ्जली र पुष्पा नाम गरेका दुई वटा पोथी गैँडा सौराहामा हुर्किएपछि कोशीटप्पु वन्यजन्तु आरक्षमा सारिएका छन्। अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषमा चार वटा र सौराहामा अर्को एउटा गैँडा रहेका छन्।

बाँकी नौ वटाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ।

गैँडाको आहारा के हुन्छ?

गैँडाको एउटा बच्चालाई मासिक २५ किलोग्राम पाउडर दूध खुवाउन करिब २० हजार रुपैयाँ बराबरको खर्च हुने गरेको कोषले जनाएको छ। गैँडाका बच्चाहरूलाई पाउडर दूधका अतिरिक्त दैनिक करिब छ केजी फलफूल खुवाउनुपर्ने हुन्छ। ठूलो हुँदै गएपछि हरियो खानेकुरा पनि खुवाउने गरिएको छ।

टुहुरा गैँडाका बच्चालाई हुर्काउन राष्ट्रिय प्रकृति संरक्षण कोष र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दाताहरू बाट आर्थिक सहयोग हुँदै आएको कोषले जनाएको छ।

उद्धारपछिको व्यवस्थापन

पुष्पा र अञ्जली

ठूला जनावरका बच्चाहरू हुर्कँदै गएपछि व्यवस्थापनमा चुनौती हुने गरेको छ। त्यस्ता वन्यजन्तुका बच्चाहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले पूर्वको कोशीटप्पु वन्यजन्तु आरक्षलाई ‘राइनो साङ्चुअरी’को रूपमा विकास गर्ने नेपाल सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको योजना रहेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिल बहादुर पुर्जा पुनले बताए।

यसअघि पुष्पा र अञ्जली नाम दिइएका दुई वटा गैँडाका बच्चा राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा लगेर छाडिएको छ।

त्यसपछि कोशी लगिएको मेघौली नाम गरेको गैँडा पुन चितवन नै फर्काउन परेको थियो। मैघौलीले खाना नखाएको कारण फर्काउन परेको चिकित्सकहरूले बताएका छन्। सरकारले चितवनको देवनगरमा टुहुरा वन्यजन्तु व्यवस्थापनको लागि पुनर्स्थापना केन्द्र बनाएर व्यवस्थापन गर्ने योजना बनाएको वार्डेन पुनले बताए।

वासस्थानमा फर्काउन समस्या

सडकमा गैँडा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले टुहुरा गैँडाका बच्चा हुर्केर वयस्क भएपछि पुनर्स्थापनाका लागि निकुञ्जभित्र लगेर छाड्ने अभ्यास पनि गरेको थियो। तर मानिसको रेखदेखमा हुर्किएका ती गैँडाका बच्चाहरू जङ्गलभित्र छाडिए पनि मानिस भएका गाउँमा आउने गरेका थिए।

पुष्पा र अञ्जली नाम गरेका ती गैँडाका बच्चालाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको थियो। तर ती गैँडा निकुञ्जमा बसेनन् र बाहिर गाउँमा आएर बालीनाली खान थालेपछि कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएको थियो।

नेपाल सरकारले टुहुरा वन्यजन्तुहरू विभिन्न देशहरूलाई उपहार पनि दिने गरेको छ।

चितवनको सौराहामा हुर्कँदै गरेका ४ वटा गैँडा वयस्क भएपछि कहाँ व्यवस्थापन गर्ने भन्ने योजना निकुञ्जसँग छैन।

निकुञ्जका अधिकारीहरूका अनुसार सरकार र विभागले जे निर्णय गर्छ ती गैँडाका बच्चाहरूलाई त्यहीँ पठाइने सम्भावना छ।

हाल मेघौली नाम गरेको भाले गैँडा सौराहाकै आसपासमा बस्ने र कहिले बजारमा आउने कहिले खेत बारीमा पसेर बाली खाइदिने गरेको गुनासो आउने गरेको छ। व्यवस्थापनको ठोस योजना नहुँदा हुर्कँदै गरेका गैँडाका बच्चाहरूको पनि 'मेघौलीको जस्तो हालत हुने हो कि' भन्ने चिन्ता अधिकारीहरूको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।