डढेलोका कारण धुवाँ फैलिएपछि लस एन्जलसका बासिन्दालाई घरभित्रै बस्न आग्रह

तस्बिर स्रोत, Reuters
अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ।
डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेपछि लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ।
स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण वायुको गुणस्तर निकै खराब भएको चेतावनी जारी गरेको छ। जसका कारण जनस्वास्थ्यमा तत्काल देखिने देखि र दिगो जोखिम हुनसक्ने चेतावनीमा उल्लेख छ।
सहरमा परेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुर्याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
प्रशासनले धुलो उडाउने कुनै पनि उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ। अत्यधिक खरानी र धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा रहेका मानिसहरू, बालबालिका र वृद्धवृद्धालाई समस्या हुनसक्ने भन्दै सजग गराइएको छ।
प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ। धुवाँ फैलिएका क्षेत्रमा घर बाहिर निस्कँदा मास्क लगाउन पनि प्रशासनले निर्देशन दिएको छ।

तस्बिर स्रोत, Reuters
यसअघि प्रशासनले लस एन्जलसका केही भागमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको थियो।
मङ्गलवारदेखिको भीषण डढेलोका कारण सहरबाट अनिवार्य रूपमा बाहिरिनुपर्ने आदेशका कारण डेढ लाख भन्दा धेरै मानिसहरूले घर छाडेका छन्।
सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। ती सबै क्षेत्रका मानिसहरूलाई उद्धारका लागि निर्देशन दिइएको छ।
प्रहरीले मानिसहरू नभएका घरहरूमा कुनै पनि किसिमको आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ।
मानव रहित बस्तीहरूबाट कम्तीमा १२ जना सन्दिग्ध लुटेराहरूलाई पक्राउ गरिएको छ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले केही अग्निनियन्त्रकले पानी अभाव झेलिररहेको अवस्थाको स्वतन्त्र समीक्षा गर्न आदेश दिएका छन्।
विस्थापित कैयौँ मानिसहरूले घरमा अब फर्कनका लागि केही बाँकी नरहेको बताएका छन्।
आपत्कालीन सेवाहरूले आगोका ज्वालासँग जुझ्ने काममा आफूहरूले प्रगति गरिरहेको बताएका छन्।
केही ठाउँमा हावाको बेग सहज हुँदा आंशिक सफलता मिलेको उनीहरूले बताएका छन्।
१० हजार घर नष्ट

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्।
प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ।

तस्बिर स्रोत, Getty Images
लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति टुटेको छ।
लस एन्जलसका अधिकारीहरूले दोस्रो पटक भूलवश पठाइएको आपत्कालीन चेतावनी 'अलर्ट'का लागि क्षमा मागेका छन्। तर त्यस्ता अलर्ट बन्द गरेर भने नबस्न सजग गराएका छन्।
'युद्धभूमि'जस्तो अवस्था

तस्बिर स्रोत, Lucy Sherriff / BBC
राष्ट्रपति जो बाइडनले लस एन्जलसले आफूलाई "युद्धभूमि" सम्झाएको बताउँदै मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बताए। उनले यस विपद्सँग जलवायु परिवर्तनका पक्ष जोडिएको बताए।
राज्यका गभर्नर न्यूजमले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पलाई क्षति प्रत्यक्ष हेर्नका लागि क्यालिफोर्निया आउन निम्त्याउँदै विपद्लाई "राजनीतिकरण" नगर्न आह्वान गरेका गरेका छन्।
रिपब्लिकन दलबाट प्रतिनिधित्व गर्ने ट्रम्प क्यालिफोर्नियाका डेमोक्र्याटहरूले यस आपत्कालमा गरिरहेको कामलाई लिएर चर्को आलोचना गरिरहेका छन्।
लस एन्जलस सहरका मेयरले त्यहाँका मानिसहरूलाई आफूहरूप्रति भरोसा राख्न आह्वान गरेका छन्।
ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगन राहत केन्द्रमा पुगेर सुरुवाती उद्धारकर्ता र विस्थापित मानिसहरूलाई भेटेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








