९३ वर्षे रुपर्ट मर्डकले गरे पाँचौँ बिहे, को हुन् उनी

रुपर्ट मर्डक र उनकी श्रीमती एलेना

तस्बिर स्रोत, News Corp

'मिडिया टाइकून' धनाढ्य सञ्चार उद्यमी भनेर चिनिने रुपर्ट मर्डकले ९३ वर्षको उमेरमा पाँचौँ पटक विवाह गरेका छन्।

अमेरिकाको क्यालिफोर्नियामा शनिवार उनको विवाहको समारोह आयोजना भएको थियो। उनकी पत्नी एलेना जुकोभा ६७ वर्षकी छिन्। उनी अवकाशप्राप्त रुसी वैज्ञानिक हुन्।

मर्डकले एन लेज्ली स्मिथसँग हुन लागेको बिहे गत वर्ष एप्रिलमा अकस्मात् स्थगित गरिदिएका थिए। त्यतिबेलै उनको जुकोभासँग सम्बन्ध रहेको चर्चा चलेको थियो।

मर्डकको जन्म अस्ट्रेलियामा भएको हो। उनका दुई छोरा र चार छोरी छन्।

उनी फक्स न्यूज, वाल स्ट्रीट जर्नल, सन र टाइम्सजस्ता पत्रपत्रिका प्रकाशन गर्ने संस्था न्यूज कर्पोरेशनका मानार्थ अध्यक्ष छन्।

गत वर्ष उनले फक्स र न्यूज कर्पको कार्यकारी पद त्याग गर्दै ती दुई कम्पनी आफ्ना छोरा लक्लनलाई जिम्मा लगाएका थिए। लक्लन रुपर्ट मर्डक र उनकी दोस्री पत्नी एना मारिया डेपेस्टरका सन्तान हुन्।

फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको विवरणअनुसार रुपर्ट मर्डक र उनको परिवारको स्वामित्वमा रहेको सञ्चारउद्योगको मूल्य १९.९ अर्ब अमेरिकी डलर छ। सन् २०२१ मा उनीहरूसँग २३.५ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको देखिन्छ।

रुपर्ट मर्डक र उनकी श्रीमती एलेना

तस्बिर स्रोत, News Corp

मर्डक र विवाह

मर्डककी एक पूर्वपत्नी वेन्डी देङले आयोजना गरेको एउटा भोजमा मर्डकले जुकोभालाई पहिलो पटक भेटेको बताइन्छ। देङ चीनमा जन्मिएकी उद्यमी हुन्।

अस्ट्रेलियाली विमानपरिचारिका प्याट्रिसिआ बुकर, स्कटल्यान्डमा जन्मिएकी पत्रकार एना मन र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हलसँग पनि मर्डकले बिहे गरेका थिए। बिहे गरेको ३२ वर्षपछि उनले एनासँग सम्बन्धविच्छेद गरेका थिए।

जुकोभाको बिहे रुसी तेल व्यापारी अलेक्जान्डर जुकोभसँग भएको थियो। उनीहरूकी छोरी दाशाले रुसी धनाढ्य रोमन अब्रामोभिचसँग बिहे गरेकी थिइन् तर उनीहरू सन् २०१७ मा छुट्टिए।

मर्डक

तस्बिर स्रोत, Reuters

मर्डकले कसरी बनाए सञ्चार साम्राज्य

मर्डकको जन्म सन् १९३१ मा मेल्बोर्नमा भएको हो। उनको रुचि सानै उमेरमा सञ्चारमाध्यममा जागेको देखिन्छ। यूकेको अक्सफर्ड यूनिभर्सिटीमा हुँदा उनले विद्यार्थीहरूले प्रकाशन गर्ने पत्रिका किन्न खोजेका थिए। उनी वामपन्थी विचारधाराबाट प्रभावित थिए।

मर्डकले सन् १९५० को दशकमा आफ्नो व्यावसायिक जीवन अस्ट्रेलियामा सुरु गरे। सन् १९६९ मा उनले यूकेबाट प्रकाशित हुने दुई पत्रिका 'न्यूज अफ द वर्ल्ड' र 'सन' किने।

पछि उनले अमेरिकाबाट प्रकाशित हुने 'न्यूयोर्क पोस्ट' र 'वाल स्ट्रीट जर्नल' पनि किने।

सन् १९९६ मा उनले 'फक्स न्यूज' टीभी स्थापना गरे। अहिले संयुक्त राज्य अमेरिकामा उक्त टीभी सर्वाधिक हेरिने समाचार च्यानल हो।

सन् २०१३ मा स्थापित 'न्यूज कर्प' अन्तर्गत अहिले सयौँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारगृह छन्। ती सबैको स्वामित्व मर्डकसँग छ।

रुपर्ट मर्डकले सन् २०१६ मा जेरी हलसँग बिहे गरेका थिए तर पाँच वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुपर्ट मर्डकले सन् २०१६ मा जेरी हलसँग बिहे गरेका थिए तर पाँच वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरे

मर्डक, राजनीति र विवाद

उनको व्यावसायिक जीवनमा बेलाबेलामा विभिन्न विवाद देखा परे।

सन् १९८० को दशकको उत्तरार्धसम्म मर्डकको साम्राज्य ठूलो ऋणमा फसे पनि ढलेन, त्यो अझ फैलिँदै गयो।

उनले हार्परकोलिन्सलाई अग्रणी पुस्तक प्रकाशनगृह बनाए र एशियाभरि प्रसारित हुने स्टार टीभी किने।

तर सञ्चारजगत्‌मा उनको नियन्त्रण र राजनीतिमा उनले पार्ने गरेको प्रभावबारे प्रश्नहरू उठ्न थाले।

सन् १९८५ मा मर्डक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९८५ मा मर्डक

सन् १९८० को दशक र १९९० को दशकको पूर्वार्धसम्म उनका प्रकाशनहरूले प्रायः कन्जर्भेटिभ सरकारलाई समर्थन गरे।

तर सन् १९९७ मा टोनी ब्लेअर प्रधानमन्त्री बन्नुअघि नीति परिवर्तन गर्दै उनले लेबर पार्टीप्रति नरम हुने निर्देशन आफ्ना पत्रपत्रिकालाई दिए। त्यस्तो परिवर्तन विजेतालाई सघाउने रणनीतिअन्तर्गत थियो।

मर्डकले क्यानडाका कन्जर्भेटिभ प्रधानमन्त्री स्टीभन हार्पर अनि अमेरिकाका दुई राष्ट्रपति बराक ओबामा र डोनल्ड ट्रम्पसँग पनि त्यस्तै सहमति गरेको ठानिन्छ।

सन् २०११ मा यूकेमा भएको 'फोन ह्याकिङ' प्रकरणका कारण उनी विवादमा परे।

विभिन्न चर्चित हस्ती र हत्या गरिएकी एक स्कूले छात्रा मिली डाउलर्सका 'भोइसमेल'हरू गैरकानुनी उपायहरू गरेर 'न्यूज अफ द वर्ल्ड'ले सुनेको कुरा बाहिरिएपछि मर्डकले ठूलो क्षति बेहोर्नुपरेको थियो।

एउटा संसदीय समितिका सदस्यहरूले उनलाई ठूलो अन्तर्राष्ट्रिय सञ्चार कम्पनी हाँक्न "अक्षम" व्यक्ति भने। विवादमा परेपछि उक्त पत्रिका बन्द गर्दै मर्डकले क्षमायाचना पनि गरे। उक्त प्रकरणका कारण आफ्नो सञ्चार साम्राज्य विस्तार गर्ने उनको योजना केही समयका लागि रोकिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।