खाना खाएबापत पैसा हैन प्लास्टिकका फोहोर दिनुपर्ने यो क्याफे

तस्बिर स्रोत, Ritesh Saini/ Ambikapur Municipal Corporation
- Author, हाजरा खातून
सन् २०२५ को सुरुवाततिर कुहिरो लागेको एउटा चिसो दिनमा भारतको पहिलो 'गार्बेज क्याफे'मा पुग्दा मलाई तातो समोसाको सुगन्धका कारण आनन्द आयो।
क्याफेभित्र मानिसहरू काठको बेन्चमा बसेर स्टीलको थाली समातिरहेका देखिन्थे। कोही गफ गरिरहेका थिए त कोही चुपचाप खाना खाइरहेका थिए।
मध्यभारतको छत्तीसगढ राज्यस्थित अम्बिकापुर सहरको यो क्याफेमा हरेक दिन भोका मानिसहरू तातो खान पाउने आशामा आइपुग्छन्।
तर उनीहरू खानाको पैसा तिर्दैनन्। बरु तिनीहरू पैसाका सट्टा पुराना झोला, खानेकुराका खोल र पानीका बोतलहरूजस्ता प्लास्टिकका सामग्री दिने गर्छन्।
मानिसहरूले दालभात, दुई थरी तरकारी, सलाद र अचार भएको भरपेट खानाका लागि एक किलोग्राम प्लास्टिकका फोहोर दिनुपर्ने अम्बिकापुर म्यूनिसिपल कर्पोरेशन (एएमसी)का तर्फबाट क्याफे सञ्चालन गर्ने विनोदकुमार पटेलले बताए।
"आधा किलो प्लास्टिक दिँदा उनीहरूले समोसा वा बडा पावजस्ता खाजा खान पाउँछन्।"
दुई समस्याको एक समाधान
मध्य भारतको छत्तीसगढ राज्यको अम्बिकापुर सहरले प्लास्टिकबाट हुने प्रदूषणलाई भोकमरीलाई सम्बोधन गर्न प्रयोग गर्ने प्रयास गरेको छ। अम्बिकापुर सहरले सन् २०१९ मा 'गार्बेज क्याफे' सुरु गरेको थियो, जसको नारा नै "मोर द वेस्ट, बेटर द टेस्ट (अधिक फोहोर, राम्रो स्वाद)" थियो। एएमसीको सरसफाइअन्तर्गतको बजेटबाट सहरको मुख्य बसबिसौनीनजिकै यो क्याफे खोलिएको थियो।
पटेल भन्छन्, "अम्बिकापुरमा विद्यमान दुई समस्याहरूको समाधानको आवश्यकता थियो : प्लास्टिकका फोहोर र भोक।"
उपाय साधारण थियो : कम आय भएका र खासगरी घर नभएका अनि जीविकोपार्जनको लागि लत्ताकपडा र फोहोर सङ्कलन गर्ने मानिसहरूलाई प्रोत्साहित गर्न सडक र ल्यान्डफिलबाट प्लास्टिक फोहोर सङ्कलन गर्ने र बदलामा उनीहरूलाई तातो खाना दिने।
एक स्थानीय महिला रश्मि मण्डल क्याफेमा प्लास्टिक ल्याउँछिन्। हरेक बिहान उनी अम्बिकापुरको सडकमा फ्याँकिएका प्लास्टिकको खोजीमा निस्किन्छिन्, त्यसमा खानेकुराका खोलदेखि प्लास्टिकका बोतलसम्म पर्छन्। यस्ता सामग्रीहरू जम्मा गर्नु नै उनका लागि बाँच्ने एउटा माध्यम हो।
"मैले यो काम वर्षौँदेखि गर्दै आएकी छु," आफूले जम्मा गरेका प्लास्टिकको सानो पोको हेर्दै मण्डल भन्छिन्। यसअघि उनले जम्मा १० रुपैयाँ प्रति किलोग्राममा त्यस्ता प्लास्टिकहरू जम्मा गर्थिन्। त्यति रकम गर्दै जोडेको पैसाले उनलाई मात्र पनि पुग्दैनथ्यो। "तर अहिले प्लास्टिक दिएर मैले मेरो परिवारकै लागि खानेकुरा पाउँछु। यसले हाम्रो जीवन नै फेरिएको छ।"
यो क्याफेमा धेरैजसो मानिसहरू विपन्न पृष्ठभूमिका आउने यहाँ सुरुदेखि नै काम गरेका शारदा सिंह पटेल बताउँछन्। "यदि प्लास्टिक दिएर खाना खान पाइन्छ भने हामी खाली पेट भर्न मात्रै मद्दत गरिरहेका छैनौँ, हामी वातावरण सफा गर्न पनि योगदान गरिरहेका छौँ।"
विनोद पटेलका अनुसार औसतमा क्याफेले दैनिक २० जनाभन्दा बढी मानिसलाई खाना खुवाउँछ।

तस्बिर स्रोत, Ritesh Saini/ Ambikapur Municipal Corporation
क्याफेले ल्यान्डफिलमा जाने प्लास्टिकको फोहरको मात्रा घटाउनेतर्फ प्रभाव पारेको रितेश सैनीले बताए। उनी 'स्वच्छ भारत मिशन अर्बन' कार्यक्रमअन्तर्गत सहरको सरसफाइ तथा फोहर व्यवस्थापनको समन्वय गर्छन्। यो अभियान भारतीय सरकारले सन् २०१४ मा सुरु गरेको सफाइसम्बन्धी पहल हो।
यो अम्बिकापुरमा समग्र रूपमा फालिएका फोहोरको सानो भाग मात्रै हो। सैनीका अनुसार सन् २०२४ मा २२६ टन प्लास्टिकका फोहोर जम्मा भएको थियो र त्यसमध्ये करिब सबै नै 'रिसाइकल' भएको थियो। तर क्याफेले मुख्य सङ्कलन सञ्जालको माध्यमबाट छुटेका प्लास्टिक सङ्कलन गर्ने उद्देश्य राखेको उनले बताए। त्यसमा आम मानिसलाई सहभागी गराउन पनि खोजिएको उनले बताए।
सहरमा प्लास्टिक फोहोर घटाउन र 'रिसाइकल' गर्नका लागि गरिएको व्यापक प्रयासअन्तर्गत प्लास्टिकको प्रयोगमा कडा नियमहरू र फोहोर छान्ने तथा व्यवस्थापन गर्ने राम्रा तरिकाहरू पनि समावेश रहेको उनले बताए।
यस्तो कार्यले गर्दा यो सहरले भारतको सफामध्येको एउटा सहर भनी प्रसिद्धि कमाएको छ।
डम्पिङ साइट पार्कमा बदलियो
अम्बिकापुरले दैनिक ४५ टन फोहोर उत्पादन गर्ने सैनी बताउँछन्।
उनका अनुसार साढे तीन किलोमिटर टाढाको ठाउँमा कुनै बेला साढे छ हेक्टर जग्गामा डम्पिङ साइट थियो। तर सन् २०१६ मा एएमसीले उक्त क्षेत्रमा पार्क बनायो र सहरको शून्य फोहोर प्रणालीलाई अवलम्बन गर्यो, जसले गर्दा डम्पिङ साइटको आवश्यकता नै हट्यो।
त्यसरी जम्मा गरिएको प्लास्टिकलाई 'रिसाइकल' गरेर सडक निर्माणमा प्रयोग हुने सामग्री बनाइन्छ वा थप 'रिसाइकल' गर्नेलाई बिक्री गरिन्छ। त्यसले गर्दा स्थानीय सरकारलाई आम्दानी पनि हुन्छ।
सन् २०२० को सरकारको प्रतिवेदनका अनुसार कुहिने फोहोरलाई भने कम्पोस्ट बनाइन्छ। नकुहिने र 'रिसाइकल' पनि नहुने सानो परिमाणको फोहोरलाई इन्धनका लागि सिमेन्ट उद्योगमा पठाइन्छ। यस्ता प्रयासहरूका कारण अम्बिकापुर "जिरो ल्यान्डफिल" सहरको रूपमा चिनिएको छ।

तस्बिर स्रोत, Ritesh Saini/ Ambikapur Municipal Corporation
गार्बेज क्याफेमा सङ्कलन गरिएको प्लास्टिकलाई एएमसीद्वारा सञ्चालित स्थानीय फोहोर सङ्कलन केन्द्रहरू (एसएलआरएम) मा पठाइन्छ।
अम्बिकापुरमा अहिले यस्ता २० वटा केन्द्रहरू छन्। तिनले सङ्कलन गरिएको फोहोरलाई ६० भन्दा बढी वर्गमा विभाजन गर्छन् ता कि रिसाइकल गर्न मिल्ने सामग्रीहरू बढीभन्दा बढी प्रयोग गर्न सकियोस्।
यी केन्द्रहरूमा ४८० महिलाहरूले काम गर्छन्, जसलाई 'स्वच्छता दिदीहरू' भनिन्छ। उनीहरूले फोहोर छुट्याउने काम मात्र नभई हरेक दिन घरघरमै गएर घरेलु फोहोर सङ्कलन गर्ने काम पनि गर्छन्। उनीहरूले प्रति महिना ८,००० देखि १०,००० भारतीय रुपैयाँ कमाउँछन्।
"हरेक दिन झन्डै ३० देखि ३५ जनाले यहाँ प्लास्टिक ल्याउँछन्," सोना टोप्पोले भनिन्। उनी यस्ता फोहोर सङ्कलन केन्द्रहरूमध्ये एक चलाउँछिन्।
"केही नियमित रूपमा प्लास्टिक ल्याउँछन् भने अरू कहिलेकाहीँ मात्र सहभागी हुन्छन्," उनले भनिन्।
फोहोर ल्याउनेहरूमा फोहोर टिप्नेहरूदेखि लिएर पसलमा काम गर्ने र सामान्य मजदुरहरू समेत हुने उनले बताइन्।
फोहोर सङ्कलन केन्द्रमा काम गर्ने कर्मचारीहरूलाई स्वास्थ्यमा पर्ने जोखिम कम गर्नका लागि पन्जा, मास्क र अन्य सरसफाइमा प्रयोग हुने सामानहरू उपलब्ध गराइने सैनीले बताए।
तर फोहोर सङ्कलन गर्नेहरूलाई भने यस्ता सरसफाइ सामग्री प्रदान गरिँदैन। पश्चिमी भारतको गुजरातस्थित अहमदाबाद विश्वविद्यालयकी असोसिएट प्रोफेसर र सहरी वातावरणमा जलवायु न्यूनीकरणसम्बन्धी अनुसन्धानकर्ता मीनल पाठक भन्छिन्, "साधारण सुरक्षात्मक उपकरणबिना फोहोर बटुल्नेहरू दैनिक रूपमा ब्याक्टेरिया, धारिलो वस्तु र विषाक्त फोहोरको सम्पर्कमा आउँछन्, जसका कारण उनीहरूमा बिरामी हुने खतरा उच्च हुन्छ।"
फोहोर सङ्कलन गर्ने महिलाहरूको व्यवस्थापन गर्ने स्वच्छ अम्बिकापुर मिशन सिटी लेभल फेडरेशनकी अध्यक्ष शशिकला सिन्हा सन् २०१६ मा सुरु भएदेखि केन्द्रहरूले करिब ५०,००० टन प्लास्टिक, कागज/कार्डबोर्ड, धातु तथा विद्युतीय सामग्रीलगायत सुक्खा फोहोर सङ्कलन र 'रिसाइकल' गरेको बताउँछिन्।
'अम्बिकापुर मोडल'
घरघरमै गएर फोहोर सङ्कलन गर्ने योजना यति सफल भयो कि त्यसले "अम्बिकापुर मोडल" भनेर ख्याति कमायो र अहिले यो छत्तीसगढ राज्यभरि ४८ वटा वडाहरूमा लागू गरिएको छ।
अम्बिकापुरमा शून्य-फोहोर मोडलको अगुवाइ गर्ने सरकारी अधिकारी ऋतु सैनीले प्रिन्स्टन विश्वविद्यालयका लागि सन् २०२५ मा लेखेको ब्लगमा उल्लेख गरेअनुसार, "हाम्रो उद्देश्य अम्बिकापुर मात्र होइन, यस्तै चुनौती भोगिरहेका अन्य मध्यम आकारका सहरहरूको समस्याको समाधान गर्नु थियो। हाम्रो लक्ष्य एक यस्तो मोडल बनाउने थियो जुन प्राविधिक रूपमा सम्भव, वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यावहारिक होस्।"
भारतका अन्य स्थानहरूमा पनि गार्बेज क्याफेहरू खुलिरहेका छन्। पश्चिम बङ्गालको सिलिगुडीमा सन् २०१९ मा प्लास्टिक फोहोरको सट्टामा निःशुल्क खाना दिने योजना सुरु गरिएको थियो।
त्यही वर्ष तेलङ्गानाको मुलुगु सहरमा पनि एक केजी प्लास्टिकको फोहोरको सट्टा बराबर तौलको चामल दिने योजना सुरु गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार कर्नाटकको मैसूरमा सन् २०२४ मा सुरु गरिएको योजनाअनुसार मानिसहरूले राज्यद्वारा सञ्चालित इन्दिरा क्यान्टीनमा ५०० ग्राम प्लास्टिक दिएर निःशुल्क खाजा वा १ केजी प्लास्टिक दिएर निःशुल्क खाना प्राप्त गर्न सक्छन्। यसैबीच, उत्तर प्रदेशमा एउटा अभियानअन्तर्गत महिलाहरूलाई प्लास्टिक फोहोरको सट्टा स्यानिटरी प्याड दिइन्छ।
यद्यपि यस्ता योजना सधैँ समस्यारहित रूपमा सञ्चालन भएका छैनन्।
दिल्ली सहरले पनि सन् २०२० मा गार्बेज क्याफे खोलेर प्लास्टिकको फोहोर सङ्कलन गर्ने पहल सुरु गरेको थियो। त्यस्तो अभियानमा २० भन्दा बढी क्याफेहरू रहेका थिए। तर जनचेतनाको कमी, फोहोर छुट्याउने कमजोर अभ्यास र 'रिसाइकल' गर्न पूर्वाधारको अभावका कारण त्यस्तो अभियान बिस्तारै बन्द हुँदै गएको तीमध्ये धेरै क्याफेहरूले बीबीसीलाई बताएका छन्।
सैनीका अनुसार दिल्लीमा गार्बेज क्याफेप्रति कम उत्साह देखिनुको कारण सम्भवतः त्यहाँ अम्बिकापुरको तुलनामा कम आय भएका व्यक्तिहरूको सङ्ख्या कम हुनु हुन सक्छ।
भारतबाहिर क्याम्बोडियाले पनि फोहोर र भोकमरीलाई एकसाथ सम्बोधन गर्न यस्तै कार्यक्रमहरू अपनाएको छ।
सीमाहरू
अम्बिकापुरमा जस्ता फोहोर सङ्कलनको पहलले प्लास्टिक फोहोरको नकारात्मक प्रभावबारे जनचेतना बढाउन पनि मद्दत गर्ने पाठक बताउँछिन्। तर सरकारले अन्य सहरहरूलाई गार्बेज क्याफे विधि उनीहरूको लागि उपयुक्त छ कि छैन भनी मूल्याङ्कन गर्न सहयोग पुर्याउनका लागि थप तथ्याङ्क उपलब्ध गराउनुपर्ने उनले बताइन्।
प्लास्टिक फोहोर सङ्कलन योजनाहरूले केही प्रभाव पारेका छन् तर ती योजनाहरूले प्लास्टिकको अत्यधिक उत्पादन, 'रिसाइकल' नहुने प्लास्टिकहरू र अधिकांश भारतीय घरहरूमा फोहोर छुट्याउने प्रणालीको अभावजस्ता समस्याहरू समाधान गर्न नसक्ने उनी बताउँछिन्।
"यो प्लास्टिक समस्याका मूल कारणहरूभन्दा सतही समस्याहरूलाई छिटो समाधान गर्ने उपायजस्तो हो," उनले भनिन्।
तर उनी यी प्रयासहरू उपयोगी रहेको बताउँछन्। यसले मानिसहरूलाई समस्याबारे सिकाउने र स्थानीय समाधानहरूले प्रभाव पार्न सक्नेबारे देखाउने बताइन्। "यो राम्रो सुरुवात हो, तर हामीलाई ठूला परिवर्तनहरू पनि आवश्यक छन्," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








