टी२० क्रिकेटमा नेपाल पहिलो पटक इटलीसँग खेल्दै, विश्वकपको दोस्रो खेल कस्तो होला?

भारतको मैदान

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, वानखेडे रङ्गशाला, मुम्बई
  • पढ्ने समय: ५ मिनेट

मुम्बईको मौसम अहिलेको समयमा दिउसो ३१ डिग्री सेल्सिअससम्म पुग्ने गर्छ। तापक्रम बढे जसरी नै समूह 'सी' मा रहेको नेपाल र इटलीबीच बिहीवार हुने टी२० विश्वकपको दोस्रो खेलको चर्चा व्यापक देखिन्छ।

दुवै टोली विपक्षी रणनीति बुझ्न र जितका दाउपेचमा देखिन्छन्।

अघिल्लो दिन नेपाली टोलीले वानखेडे रङ्गशालामा अभ्यास गर्दा बुधवार ठुलो प्रशिक्षण गरेन। इटलीले भने दिउसो डीवाई पाटिल रङ्गशालामा प्रशिक्षण गर्‍यो।

त्यहीँ आयोजित पत्रकार सम्मेलनमा इटलीका प्रशिक्षक जोन डेविसनले भने, "हामी नेपाललाई जित्न चाहन्छौँ।"

वरीयतामा नेपाल र यूएई उस्तै उस्तै भएकोले खेलमा जे पनि हुन सक्ने उनको दाबी थियो।

नेपाली टोलीका कप्तान रोहित पौडेल भने आफ्नो टोलीको दरिलो मनोबलमा विश्वास राख्छन्।

उनी भन्छन्, "हामी उच्च मानसिकतामा छौँ। सबै खेलाडीहरू लक्ष्यमा स्पष्ट छन्।"

चुनौती

नेपाल र इटलीबीचको खेल स्थानीय समय अनुसार बिहीवार ३ बजे हुने छ।

सुपर ८ को लक्ष्य बोकेको नेपालको लागि यो यस्तो खेल हुने छ, जहाँ टोलीसँग जितको विकल्प छैन, पराजय भोगेमा टोलीको आगामी यात्रामा लगभग अनिश्चित हुने छ।

इङ्ल्यान्डसँग अन्तिम बलसम्म प्रतिस्पर्धा गरेर जारी विश्वकपमा चर्चा कमाइरहेको नेपालप्रति विपक्षीहरू अब झन् सतर्क रहने पक्का देखिन्छ।

इटलीका कप्तान

तस्बिर स्रोत, CAN

पहिलो खेलमा जसरी नै वानखेडे रङ्गशाला नेपाली समर्थकहरूले भरिभराउ हुने अपेक्षा गरिएको छ।

कतिपयले यस्तोमा टोलीलाई दबाव थपिन सक्ने अनुमान पनि गरिरहेका छन्।

इटलीको अवस्था पनि त्यही नै हो। नेपाल र इटली दुवै शून्य अङ्कमा छन् र दुवै टोलीले १-१ हारको सामना गरेका छन्। इटली पनि आफ्नो युरोपेली प्रतिद्वन्द्वी स्कटल्यान्डसँग हारेको थियो।

इटलीको दाउ

घाइते कप्तान वाइने मेडसेनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटको अनुभव थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घाइते कप्तान वाइने मेडसेनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटको अनुभव थियो

पहिलो पटक विश्वकप खेलिरहेको भए पनि इटलीको क्रिकेट इतिहास कमजोर भने छैन।

युरोपेली छनोटमा स्कटल्यान्ड जस्तो टीमलाई पन्छाएर विश्वकपको ढोका खोलेको टोलीमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलङ्कामा खेलेका खेलाडीहरूको जमात छ।

घाइते कप्तान वाइने मेडसेनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटको अनुभव थियो।

त्यस्तै ग्रान्ट स्टेवार्ट काउन्टी क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा व्यस्त खेलाडी हुन्। ग्रान्ट स्टेवार्टसँगै जेजे स्मुथ जस्ता अलराउन्डरहरू रहेको टोलीमा सन्तुलन देखिन्छ। थोमस ड्राका र अलि हसन टोलीका मुख्य बलर हुन्।

पत्रकार सम्मेलनमा प्रशिक्षक जोनले विश्वकपको वार्मअप खेलमा यूएईलाई ११२ रनको फराकिलो अन्तरले पराजित गरेको विषयलाई जोड दिइरहेका थिए।

विश्व टी२० वरीयतामा नेपाल अहिले १६औँ र यूएई १७औँ नम्बरमा छन्। इटली भने २६औँ वरीयताको टोली हो।

जारी विश्वकपलाई इटलीको क्रिकेट ब्युँताउने अवसर भएको भन्दै प्रशिक्षक जोनले थपे, "यो विश्वकपमा इटली राम्रो छाप छोडेर जाने छ।"

यद्यपि ३० वर्षभन्दा माथिका खेलाडीहरू धेरै भएको यो टोली सुरुआतमा सम्हालिएर खेल्न नसके छिटो धराशायी हुन सक्ने खालको देखिन्छ।

४२ वर्षीय कप्तान मेडसेन घाइते हुँदा इटलीलाई केही समस्या पर्न सक्ने ठानिएको छ।

बलियो मानसिकतामा नेपाल

क्रिकेट टोली

तस्बिर स्रोत, CAN

इटलीको बलियो र कमजोर पक्ष बुझेको नेपाली टोली भने पहिलो खेलपछि झन् सुदृढ देखिएको छ।

विश्वकपमा अब्बल असोसिएट राष्ट्रको छाप छोडेको नेपाली टोली हरेक क्षेत्रमा बलियो देखिएको छ।

ब्याटिङको सुरुआत, मध्य क्रमको तालमेल र अन्तिममा विस्फोटक रूप देखाएको टोलीको प्रदर्शन उच्च स्तरको भन्दै प्रशंसा गरिएको थियो।

मध्य क्रममा सन्दीप जोराको एउटा विकल्प छ तर नेपाली प्रशिक्षक स्टुआर्ट ल टोलीमा धेरै परिवर्तन गर्ने मुडमा हुने छैनन्।

तीव्र गतिको बलरलाई बढी मद्दत पुग्ने भनिएको वानखेडे रङ्गशालामा स्पिनरहरूको प्रभाव पनि राम्रै देखिएको छ।

सबै खेल वानखेडे रङ्गशालामा खेल्न पाउने विश्वकपको भाग्यमानी टोली नेपालको लागि उक्त मैदान अवसर हुन सक्ने मानिएको छ।

इटलीका प्रशिक्षक जोन डेविसनलाई यही कुरामा डर छ।

कोलकाताको इडेन गार्डेनमा खेलेर मुम्बई आएको इटलीका प्रशिक्षकले यसले नेपाललाई फाइदा पुग्न सक्ने बताएका छन्।

नेपालको एक मात्र कमजोरी भनेको 'डेथ ओभर'मा धेरै रन खर्चिनु देखिएको छ। त्यो क्षेत्रमा केही परिवर्तनको सम्भावना देखिन्छ।

नन्दन यादवले पहिलो खेलमा प्रभावकारी बलिङ गरेका थिए। करण केसीले इङ्ल्यान्डविरुद्ध अन्तिम ओभरमा २१ रन खर्चिएका थिए।

सम्भवतः प्रशिक्षक ल ले करणलाई आराम दिन सक्ने छन्। यस्तोमा सोमपाल कामी पहिलो रोजाइमा पर्न सक्ने छन्।

नेपालसँग १२ औँ खेलाडीको रूपमा नेपाली समर्थकहरू त छँदै छन्।

नेपाली समर्थकको बारेमा सोधिएको प्रश्नमा इटलीका कप्तान वाने मेडसेनले नेपाली समर्थक सामु खेल्न आफ्नो टोली उत्साहित भएको तर त्यसले दबाव भने सृजना नगर्ने बताएका थिए।

उनले भने, "हामीलाई दर्शक सामु खेल्ने बानी छ।"

इङ्ल्यान्डविरुद्धको खेलमा ३३ हजार सीट क्षमता भएको वानखेडे रङ्गशालामा १७ हजार समर्थक पुगेका थिए। जसमा अधिकांश नेपालीहरू नै थिए।

नेपाली कप्तान रोहितले भने दर्शकहरूलाई धन्यवाद दिँदै भनेका छन्, "दर्शकलाई धन्यवाद। हामीलाई यसरी नै साथ दिइरहनुहोस्।"

टी२० मा पहिलो भेट

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालभन्दा राम्रो क्रिकेट इतिहास भए पनि बीचमा इटलीको क्रिकेट पछि पर्न गएको थियो। जबकि नेपालले लगातार प्रगति गरिरह्यो।

टी२० मा नेपाल र इटलीबीच यसअघि भेट भएको छैन।

एक दिवसीयमा यी दुई टोली तीन पटक भेट हुँदा तीनै पटक नेपालले बाजी मारेको थियो।

सन् २००५ मलेसियामा भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा शक्ति गौचनको शतकको मद्दतले नेपालले इटलीलाई पहिलो भेटमा हराएको थियो।

सन् २०१० मा इटलीमै भएको विश्वकप लीग डिभिजन ४ मा नेपालले ५ विकेटको जितेको थियो भने सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लीग डिभिजन ३मा नेपाल ८ विकेटले विजयी भएको थियो।

टी२० मा पहिलो पटक भिड्दै गर्दा दुबै टोलीले सुपर ८ को सम्भावनालाई ब्युँताउन २ अङ्कको खोजीमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।