अमेरिकी राष्ट्रपतिको आममाफी दिने कस्तो शक्ति हुन्छ र तिनको प्रयोग कसरी गरिन्छ?

    • Author, जेरेमी हावेल
    • Role, बीबीसी विश्व सेवा

अमेरिकी राष्ट्रपति जो बाइडनले छोरा हन्टरसहित ६० जनालाई आममाफी दिएर आफ्नो कार्यकाल पूरा गर्दै छन्।

बाइडन एक्ला होइनन्। उनी अघिका राष्ट्रपतिहरूले पनि अपराधीहरूलाई सुध्रिने मौका दिन मात्रै आममाफीको अधिकारको प्रयोग गरेका छैनन्। आफू नजिककाहरूलाई सुरक्षा दिन पनि उनीहरूले त्यस्तो अधिकार प्रयोग गरेका थिए।

ह्वाइट हाउसमा फर्कन लागेका डोनल्ड ट्रम्पले आफ्नो पहिलो कदम, सन् २०२१ को ज्यानुअरीमा कंग्रेस आक्रमण गरेकोमा दोषी ठहर भएकाहरूलाई माफी दिने हुने सङ्केत गरिसकेका छन्। तर उनका उपराष्ट्रपति जेडी भान्सले त्यस यता उक्त धारणासँग बाझिने दृष्टिकोण प्रस्तुत गरेका छन्।

अमेरिकी संविधानमा नै राष्ट्रपतिको आममाफी दिने शक्तिबारे चर्चा गरिएको छ तर ती अन्य देशका राष्ट्रप्रमुखको तुलनामा बृहत् रहेको छ।

अमेरिकी राष्ट्रपतिको आममाफी दिने शक्ति कस्तो छ?

अमेरिकी संविधानको धारा दुईको उपधारा दुईमा महाभियोगबाहेक अन्य कसुरमा राष्ट्रपतिसँग माफी दिने अधिकार रहेको उल्लेख गरिएको छ।

राष्ट्रपतिले सङ्घीय वा सैनिक कानुन उल्लङ्घन गरेका व्यक्तिहरूलाई माफी दिनसक्छन् तर राज्यहरूका कानुन तोड्नेलाई माफी दिन सक्दैनन्।

यी शक्तिहरू अङ्ग्रेज सम्राटसँग रहेका 'दया देखाउन पाउने स्वविवेकीय' विशेषाधिकारबाट सुरु भएका हुन्।

कहिलेकाहीँ अङ्ग्रेज शासकले दायाभावले व्यक्तिहरूलाई माफी दिने गर्थे भने कहिलेकाहीँ विद्रोह दबाउन उनीहरूले आममाफी दिने घोषणा गर्थे।

"अमेरिका स्वतन्त्र हुनुभन्दा पहिले त्यहाँ ब्रिटेनका राजाको तर्फबाट उपनिवेशवादी गभर्नरहरूले उक्त विशेषाधिकारको अभ्यास गर्थे। त्यही भएर त्यहाँका मानिसहरूका लागि त्यो पहिले देखि नै एउटा स्थापित विषय बनिसकेको थियो," किङ्ग्स कलेज लन्डनका अमेरिकी इतिहाससम्बन्धी प्राध्यापक इवान मोर्गनले भने। "अमेरिकाका फाउन्डिङ फादर्स (स्वतन्त्र अमेरिकाका संस्थापक नेता)हरूले यो अधिकारलाई कायम नै राख्नुपर्छ भन्ने ठाने।"

जब अमेरिकी संविधानको मस्यौदा भयो, आममाफी राष्ट्रपति वा कंग्रेस कसले दिने भन्नेबारे बहस चलेको थियो।

अमेरिकाका पहिलो अर्थमन्त्री अलेक्जान्डर ह्यामिल्टनले सभाका सदस्यहरूलाई राष्ट्रपतिलाई अधिकार दिनुपर्नेमा मनाएका थिए।

आफूसहितले मिलेर लेखेको 'द फेडेरलिस्ट पेपर्स' मा उनले लेखेका छन्, "व्यक्तिको समूहभन्दा एकजना व्यक्ति सरकारको तर्फबाट क्षमा प्रकट गर्न बढी क्षमतावान् देखिनेजस्तो लाग्छ।'

उनले आन्दोलनहरूलाई शान्त पार्न राष्ट्रपतिले तत्कालै माफी दिने अधिकार प्रयोग गर्नसक्ने भएपनि कंग्रेसलाई त्यही काम गर्न धेरै समय लाग्ने उल्लेख गरेका थिए।

विधायकी वा त्यसको एउटा अङ्गले प्रक्रिया पूरा गरेर यस्तो काम गर्दा 'सुनौलो मौका' बारम्बार गुम्नसक्ने उनको टिप्पणी थियो।

राष्ट्रपतिहरूले आफ्नो आममाफीको शक्ति कसरी प्रयोग गरेका थिए

सबैभन्दा पहिला पहिलो अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले आममाफीको अधिकारको प्रयोग गरेका थिए। उनले राजनीतिक सङ्कट शान्त पार्न यसलाई प्रयोग गरेका थिए।

उनले सन् १७९४ को ह्विस्की विद्रोहमा सहभागी भएकोमा देशद्रोही ठहर भएका दुईजना व्यक्तिहरूलाई रिहा गरिदिएका थिए। यो डिस्टिल्ड मदिरामा लगाइएको नयाँ कर विरुद्ध भएको आन्दोलन थियो।

सन् १८६८ मा एन्ड्रयु जनसनले अलग्गै रहने भनी घोषणा गरेका अनि अमेरिकाको गृहयुद्धको समयमा सङ्घको विरोध गरेकोमा कन्फेडरेट स्टेट्सका अध्यक्ष जेफरशन डेभीश र अन्यलाई माफी दिएका थिए।

सम्भवत: सबैभन्दा विवादास्पद रूपमा यो अधिकारको प्रयोग राष्ट्रपति जेराल्ड फोर्डले गरेका थिए। उनले सन् १९७४ मा आफ्ना पूर्ववर्ती रिचर्ड निक्सनलाई वाटरगेट काण्डमा उनले गरेको हुनसक्ने कुनै पनि कसुरलाई लिएर माफी दिने घोषणा गरेका थिए। फोर्डले देशलाई एकताको मल्हम लगाउन आफूले त्यस्तो गरेको बताए।

"यस पटक राष्ट्रपतिको विशेषाधिकार दोषी प्रमाणित भएको भन्दा पनि कसैले गरेको हुनसक्ने अपराधका निम्ति माफी दिन प्रयोग गरिएको थियो," प्राध्यापक मोर्गन भन्छन्। "यसको अर्थ हामीले निक्सन के मा दोषी थिए भनेर कहिल्यै पनि थाह नपाउनसक्छौँ।"

सन् २००१ मा राष्ट्रपति बिल क्लिन्टनले आफ्ना आफन्त रोजर क्लिन्टनलाई सन् १९८५ तिरको कोकेनसँग सम्बन्धित कसुरमा आममाफी दिएका थिए।

उनले एकजना व्यापारी मार्क रिचलाई पनि माफी दिए जसलाई अमेरिकामा ठगी, कर छली र गैरकानुनी व्यवसाय सञ्चालन गरेको आरोप लगाइएको थियो। रिचकी श्रीमतीले उनको राष्ट्रपतीय लाइब्रेरीलाई ठूलो चन्दा रकम घोषणा गरेपछि उनले यस्तो निर्णय लिएका थिए।

क्लिन्टनले पछि उक्त आममाफीलाई लिएर पछुतो व्यक्त गरेका थिए तर उनले उक्त उपहारले आफ्नो निर्णय प्रभावित तुल्याएको अस्वीकार गर्दै आएका छन्।

आफ्नो पहिलो कार्यकालमा डोनल्ड ट्रम्पले करसम्बन्धी अभियोग लागेका आफ्ना ज्वाइँ ज्यारेडका पिता चार्ल्स कुश्नरलाई माफी दिएका थिए।

उनले विभिन्न अपराधमा दोषी ठहर भएका स्टिभ ब्यानन, पल म्यानफोर्ट र रोजर स्टोनजस्ता आफ्ना राजनीतिक सहयोगीलाई पनि माफी दिए।

सन् २०२४ को डिसेम्बरमा जो बाइडनले आफ्नो छोरा हन्टरलाई माफी दिएका छन्। त्यतिखेर ह्यान्डगन किन्दा आफूले लागुऔषध प्रयोग गरेकोबारे झूटो बोलेको तथा कर मामिलासम्बन्धी गरी हन्टरविरुद्धका दुईवटा मुद्दाको फैसला आउन बाँकी रहेको थियो।

निक्सनलाई फोर्डले दिएको माफीजस्तै यसले हन्टरलाई सन् २०१४ को सुरुमा उनले गरेको अपराधका लागि भविष्यमा पनि कुनै अभियोग लगाउनबाट रोकिदियो।

वाशिङ्टन डीसीस्थित जर्ज म्यासन विश्वविद्यालयमा कानुनका सहप्राध्यापक एन्ड्र्यू नोभाक भन्छन्, "राष्ट्रपतिहरूका आफ्नै स्वार्थ प्रेरित यस्ता व्यवहार पहिलेको भन्दा पक्कै पनि बढी देखिएको छ।"

उनी भन्छन्, "अमेरिकी संविधानको खाका कोर्नेहरूले यसले राष्ट्रपतिहरूलाई निजी स्वार्थ प्रेरित निर्णय गर्नबाट रोक्ने ठानेका थिए। तर सायद पछिल्ला वर्षहरूमा राजनीतिक नैतिकता खस्केको छ।"

अन्य देशमा कस्ता छन् व्यवस्था?

विश्वका धेरै देशहरूमा अदालतका निर्णयविरुद्ध शासकहरूले माफी दिन मिल्ने कानुनहरू रहेको नोभाक बताउँछन्।

"मैले हेरेको करिब दुई तिहाइ देशमा उनीहरूको संविधानले राष्ट्रपतिलाई सजाय पाइसकेका अपराधीलाई मात्र माफी दिने अधिकार दिएको छ। त्यसले फैसला हुनु अघि नै माफी दिने कार्यलाई रोक्छन्," उनले भने।

अमेरिकामा भने त्यसको विपरीत राष्ट्रपतिहरूले आगामी दिनमा हुनसक्ने अभियोगलाई पनि रोक्न सक्छन्।

"कुनै दोस्रो माध्यमबाट माफीसम्बन्धी विषयको पुनरवलोकन गरिने चलन पनि विश्वव्यापी भएको छ," उनले भने, "माफीका लागि बोर्ड वा समितिले सिफारिस दिने चलन हुन थालेको छ।"

भारतजस्ता देशहरूमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा माफी दिन्छन् र कहिलेकहीँ ती क्षमादानका निर्णयहरू न्यायिक पुनरवलोकनको विषय पनि बन्छन्।

यूकेमा दिइने शाही माफीसम्बन्धी शक्तिलाई अहिले न्यायमन्त्री जस्ता अधिकारीलाई प्रत्यायोजित गरिएको छ।

त्यहाँ न्यायिक शक्तिको दुरुपयोग नहोस् भन्नका लागि केही व्यवस्थाहरू गरिएका छन्।

त्यस्ता सम्भावित दुरुपयोगको पुनरवलोकन गर्नका लागि सन् १९९७ मा द क्रिमिनल केसेज् रिभ्यू कमिशन सीसीआरसी गठन गरिएको थियो। त्यसपछि न्यायिक दुरुपयोगका घटना भए त्यसलाई पुनरावेदन गर्न सकिने व्यवस्था यूकेमा छ।

अमेरिकी राष्ट्रपतिहरूले माफीसम्बन्धी व्यवस्थामा गरेको परिवर्तन

सन् १७८९ देखि संयुक्त राज्य अमेरिकामा त्यहाँका महान्यायाधिवक्ता र विदेशमन्त्रीले माफी दिन योग्य व्यक्तिको सूची बनाउने र त्यसलाई अनुमोदनका लागि राष्ट्रपतिकहाँ पठाउने चलन रह्यो।

सन् १८९४ पछि भने यस्तो काम 'पार्डन एटर्नी'मार्फत् गराउन थालियो।

यद्यपि गएको शताब्दीमा राष्ट्रपतिहरूले पार्डन एटर्नीको परामर्शमा कमै साधारण अपराधीहरूलाई माफी दिने गरेका छन्।

  • राष्ट्रपति फ्र्याङ्कलीन डि रुजभेल्टले सन् १९३३ देखि सन् १९४५ का बीच २,८१९ जनालाई माफी दिएका थिए।
  • ह्यारी ट्रुमनले सन् १९४५ देखि सन् १९५३ का बीच १,९१३ जनालाई माफी दिए।
  • जर्ज एचडब्लू बुशले सन् १९८९ देखि सन् १९९३ का बीच ७४ जनालाई माफी दिए।
  • सन् २००९ देखि २०१७ सम्ममा बराक ओबामाले २१२ जनालाई माफी दिए।
  • सन् २०१७ देखि २०२१ सम्ममा डोनल्ड ट्रम्पले १४३ जनालाई माफी दिए।
  • ज्यानुअरी १३, २०२५ सम्ममा जो बाइडनले ६५ जनालाई माफी दिएका छन्।

बिल क्लिन्टन, जो बाइडन र डोनल्ड ट्रम्पजस्ता राष्ट्रपतिहरूले थौरै मात्र माफी दिएका तर उनीहरूले आफू निकटहरूलाई त्यस्तो माफी दिएका पाइएको नोभाक बताउँछन्।

उनी भन्छन्, "म के आशा गर्छु भने राष्ट्रपतिहरूले आफ्ना साथी र परिवारका सदस्यलाई भन्दा साधारण अपराधीप्रति दयाभाव देखाउनका लागि माफीसम्बन्धी अधिकारको प्रयोग गरून्।"

"अन्याय भएका कैयौँ मुद्दाहरू छन् र त्यसका लागि यो शक्तिको उपयुक्त प्रयोग गर्न सकिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।