पाकिस्तानले भारतीय हवाई हमलाको जबाफ कसरी दिन सक्छ

तस्बिर स्रोत, NurPhoto via Getty Images
- Author, सौतिक बिस्वास
- Role, भारत संवाददाता
भारतले "आतङ्ककारीहरूको ठेगाना" भन्दै पाकिस्तान तथा पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा गरेको २५ मिनेट लामो क्षेप्यास्त्र तथा हवाई हमलाले ठूलो खैलाबैला मच्चिएको छ।
पाकिस्तानले केवल छ ठाउँमा प्रहार भएको भनेको छ। उसले आफ्नो सेनाले भारतका पाँचवटा लडाकु विमान र एउटा ड्रोन खसालिदिए दाबी गरेको। तर भारतले त्यसबारे केही भनेको छैन।
इस्लामाबादले भारतीय हवाई आक्रमण तथा नियन्त्रण रेखामा भएका गोलाबारीमा आफ्नो तर्फ ३१ जना मारिएका र ५७ जना घाइते भएको बताएको छ। त्यस्तै नियन्त्रण रेखामा भएको गोलाबारीमा १५ गैरसैनिक मानिस मारिएको भारतीय सेनाले बताएको छ।
केही साताअघि भारत-प्रशासित कश्मीरको पहलगाममा भएको हमलामा २६ जना मारिएपछि तनाव चुलिएको बेला तीव्र गतिमा सैन्य द्वन्द्व उत्पन्न भएको हो।
भारतले पहलगाम घटनामा पाकिस्तानमा भएका आतङ्ककारीको संलग्नता भएको प्रमाण आफूसँग भएको दाबी गरेको छ। तर पाकिस्तानले भारतको दाबीलाई ठाडै अस्वीकार गरेको छ। आफ्नो दाबी प्रमाणित गर्न भारतले कुनै प्रमाण पेस नगरेको इस्लामाबादको भनाइ छ।
के भारतले गरेको हमलाले नयाँ सैन्य जोखिम निम्तिएको हो?
सन् २०१६ मा उरीमा १९ भारतीय सैनिक मारिएपछि भारतले नियन्त्रणरेखापारि पाकिस्तानपट्टि 'सर्जिकल स्ट्राइक' गरेको थियो।
सन् २०१९ मा पुलवामा बम आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीहरूको मृत्यु भएपछि भारतले पाकिस्तानभित्र बालाकोटमा हवाई हमला गर्यो। सन् १९७१ पछि पाकिस्तानी क्षेत्रभित्र घुसेर गरिएको त्यो पहिलो सैन्य कारबाही थियो।
विज्ञहरूका अनुसार पहलगाम हमलापश्चात् गरिएको भारतीय कारबाहीको दायरा निकै ठूलो छ। भारतले एकैपटक पाकिस्तानस्थित तीन मुख्य विद्रोही समूह (लश्कर-ए-तैय्यबा, जैश-ए-मोहम्मद र हिज्बुल मुजाहिद्दिन) लाई निसाना बनाएको छ।
सीमाबाट ६-१८ किलोमिटर पर रहेको सियालकोटमा अवस्थित दुई शिविर अनि १०० किलोमिटर पर रहेको बहावलपुरस्थित जैश-ए-मोहम्मदको मुख्यालयमा पनि आक्रमण गरिएको भारतले बताएको छ।
पाकिस्तानले चाहिँ केवल ६ स्थानमा प्रहार भएको भनेको छ र ती आतङ्कवादीका शिविर भएको अस्वीकार गरेको छ।

तस्बिर स्रोत, Anadolu via Getty Images
"यस पटकको हमलाको विशेषता के रह्यो भने भारतले निसाना तय गर्दा विगतको शैली पछ्याएन। विगतमा बालाकोट हमला लगायतमा नियन्त्रणरेखापारि पाकिस्तान-प्रशासित कश्मीरमा हमला केन्द्रित हुन्थ्यो," दिल्लीस्थित इतिहासकार श्रीनाथ राघवनले बीबीसीलाई भने।
"अहिले भारतले अन्तर्राष्ट्रिय सीमापारि पाकिस्तानको पन्जाबमा आतङ्ककारीका संरचना, मुख्यालय तथा थाहा भएका ठेगानामा बहावलपुरमा प्रहार गर्यो। साथै लश्कर-ए-तैय्यबासँग सम्बन्ध भएको मुरिदकेमा प्रहार गर्यो। यसले विस्तारित कारबाहीको सङ्केत गर्नुका साथै विविध समूहहरू भारतको निसानामा रहेको देखायो – र बृहत् सन्देश दियो," उनले भने।
पाकिस्तानका निम्ति भारतका भूतपूर्व उच्चायुक्त अजय बिसारियाका अनुसार भारतले "बालाकोट हमलाको बेलाभन्दा अघि बढेर प्रतिक्रिया दिएको" र त्यसको उद्देश्य आगामी दिनमा आफ्नो तर्फ आतङ्कवादी हमला नहोस् भन्ने निश्चित गर्नु हो।
"यी प्रहारहरू थप केन्द्रित, परिलक्षित अनि विगतमा भन्दा बढ्ता देखिने गरी भएका छन्। त्यसैले (तिनको) खण्डन गर्न पाकिस्तानलाई कठिन हुने छ," उनले भने।
भारतीय सूत्रहरूले भावी दिनमा भारतलाई लक्ष्य गरी हुन सक्ने आक्रमण निरुत्साहित गर्ने उद्देश्य भएको बताए।
"सन् २०१९ मा गरिएको कारबाहीले स्थापित गरेको निरुत्साहन कमजोर भएको र त्यसलाई पुनर्स्थापित गर्न आवश्यक भएको भारतीय सरकारलाई लागेको छ," प्राध्यापक राघवनले भने।
"यो इजरेलको नीतिसँग मेल खान्छ जसले यस्ता निरुत्साहनका कारबाही बेलाबेला र आवधिक रूपमा जरुरी ठान्छ। तर यदि हामी प्रतिकारात्मक कारबाहीले मात्र आतङ्कवाद निरुत्साहित हुन्छ भन्ने कुरा मात्र मान्छौँ भने त्यसले पाकिस्तानलाई जबाफी कारबाही गर्न उक्साउने छ। अनि त्यो छिट्टै अनियन्त्रित हुन सक्छ।"
के ठूलो युद्ध हुन सक्छ?

तस्बिर स्रोत, AFP via Getty Images
अधिकांश विज्ञहरू पाकिस्तानले गर्ने जबाफी कारबाही अवश्यम्भावी भएकोमा सहमत छन्। उनीहरू यो परिस्थितिमा कूटनीतिले पनि ठूलो भूमिका हुने मान्यता राख्छन्।
"पाकिस्तानले पक्कै प्रतिक्रिया दिन्छ। अर्को चरणको विस्तार व्यवस्थापन गर्नु चुनौती हुने छ। यहाँनिर सङ्कट समाधानको कूटनीति महत्त्वपूर्ण हुने छ," बिसारियाले भने।
"संयम अपनाउन पाकिस्तानलाई सुझाव दिइने छ। तर पाकिस्तानी प्रतिक्रियापश्चात् हुने कूटनीतिको महत्त्व बढी हुन्छ, त्यसले दुवै देशलाई द्वन्द्व चर्काउन दिँदैन।"
लाहोरस्थित राजनीतिक एवं सैन्य विश्लेषक इजाज हुसैनजस्ता पाकिस्तानी विज्ञहरू "विद्यमान तनावका माझ" मुरिदके र बहावलपुरजस्ता स्थानलाई भारतीय 'सर्जिकल स्ट्राइक'ले लक्षित गर्ने विषय "अपेक्षित" नै रहेको बताउँछन्।
उनी पनि जबाफी कारबाही हुने सम्भावना देख्छन्। "पाकिस्तानी सेनाले सञ्चारमाध्यममा दिइरहेको टिप्पणी अनि प्रतिधोधात्मक कारबाही गर्ने उसको दृढताका माझ सीमापारि 'सर्जिकल स्ट्राइक'जस्ता कारबाही आगामी दिनमा सम्भव छ," उनले बीबीसीलाई भने।
तर दुवै पक्षबाट हुने यस्ता सर्जिकल स्ट्राइक "फैलिएर भएर सीमित परम्परागत युद्धमा परिणत" हुन सक्ने उनको चिन्ता छ।
अमेरिकाको यूनिभर्सिटी अफ अल्बानीका क्रिस्टोफर क्लारी भारतले देखिने गरी गरेको कारबाहीपश्चात् पाकिस्तानले जबाफी हमला गर्ने सम्भावना धेरै भएको बताउँछन्।
"अन्यथा यसबाट दिल्लीले पीडित भएको ठानेको जुनसुकै बेला उसले पाकिस्तानमा आक्रमण गर्न छुट पाएको सन्देश जाने र त्यो सन्देश पाकिस्तानी सेनाको 'जस्तालाई तस्तै' बदला लिने सिद्धान्तविपरीत हुने छ," दक्षिण एशियाली राजनीतिका जानकार क्लारीले बीबीसीलाई भने।
बढ्दो तनावका माझ केही विज्ञहरूले मत्थर हुने आशा पनि राखेका छन्।
"अर्को एउटा जबाफी कारबाही अनि नियन्त्रणरेखामा चर्को हानाहानका साथ यो सङ्कट समाधान हुने सम्भावना पनि छ," क्लारीले भने।
तर सङ्कट विस्तार हुने सम्भावना अझै उच्च छ। "सन् २००२ यताकै यो सबभन्दा खतरनाक भारत-पाकिस्तान द्वन्द्व हो – सन् २०१६ र सन् २०१९ को भन्दा पनि खतरनाक," उनले भने।
के पाकिस्तानी कारबाही अवश्यम्भावी हो?

तस्बिर स्रोत, AFP via Getty Images
पाकिस्तानी विज्ञहरूका अनुसार भारतीय आक्रमणको सेरोफेरोमा युद्ध उन्माद नदेखिए पनि अवस्था निकै चाँडो बदलिन सक्छ।
"हामीकहँ निकै विभाजित राजनीतिक समाज छ जहाँ देशका सबभन्दा लोकप्रिय नेता जेलमा छन्। इमरान खानलाई जेल हालेपछि सेनाविरुद्ध कडा सार्वजनिक प्रतिरोध भयो," इस्लामाबादस्थित विश्लेषक तथा जेन्स डिफेन्स विक्लीका भूतपूर्व संवाददाता उमर फारुकले भने।
"सन् २०१६-२०१९ ताकाभन्दा अहिले सेनालाई समर्थन गर्न पाकिस्तानी जनता कम उत्सुक छन् – अरू बेला देखिने जस्तो युद्ध उन्माद देखिँदैन। तर भारतविरोधी भावना निकै व्याप्त रहेको मध्यपन्जाब क्षेत्रमा सार्वजनिक मत परिवर्तन भयो भने सैन्य कारबाहीका लागि जनदबाव बढ्न सक्छ। अनि त्यही द्वन्द्वमार्फत् सेनाले गुमेको लोकप्रियता हासिल गर्न सक्छ।"
डा हुसैनको धारणा पनि त्यस्तै छ। "मलाई लाग्छ भारतसँगको वर्तमान गतिरोधले पाकिस्तानी सेनालाई जनताको समर्थन पुन: हासिल गर्ने मौका दिएको छ। खास गरी सहरी मध्यमवर्गका मानिसहरूको समर्थन जसले हालैका दिनमा उसका राजनीतिक हस्तक्षेपको आलोचना गरेका थिए," उनले भने।
"सेनाको सक्रिय रक्षा कारबाहीलाई मूलधारका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बढाइचढाइ गर्न थालिसकिएको छ। केहीले ६-७ वटा भारतीय जेट खसालिएको दाबी पनि गरेका छन्।"
"यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन आवश्यक भए पनि तिनले बाह्य खतराको बेला राष्ट्रिय सुरक्षाको विषय गोलबन्द हुने जनतामाझ सेनाको छवि उच्च पार्ने छ।"
के भारत र पाकिस्तान सङ्कटको मुखबाट उम्किन सक्छन्?

तस्बिर स्रोत, NurPhoto via Getty Images
भारत फेरि एक पटक सैन्य द्वन्द्व र संयमको संवेदनशील दोसाँधमा छ।
पहलगाममा लडाकुहरूले गरेको घातक हमलापछि भारतले तत्कालै पाकिस्तानसँगको मुख्य सीमानाका बन्द, पानी बाँडफाँट सन्धि स्थगित, पाकिस्तानी कूटनीतिज्ञहरूलाई निकाला र धेरै पाकिस्तानी नागरिकहरूको भिसा रद्द गरेको थियो।
सीमावारि र पारि भएका दुवै पक्षका सैनिकहरूले गोली हानाहान गर्दै आएका छन्। पाकिस्तानले भारतीय विमानहरूलाई आफ्नो आकाशमा प्रवेश गर्न निषेध गरेपछि भारतले पनि पाकिस्तानी विमानहरूलाई भारतको हवाई क्षेत्रमा छिर्न नदिने निर्णय गरेको छ।
पाकिस्तानले भारतसँग सन् १९७२ मा गरेको शान्ति सम्झौता स्थगित गर्दै भारतलाई आफ्नै किसिमले जबाफ दिन थालेको छ।
सन् २०१९ मा भारत-प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीहरूमाथि भएको साङ्घातिक हमलापछि भारतले पाकिस्तानले अन्तर्राष्ट्रिय व्यापारका लागि पाएको 'अति सौविध्यप्राप्त राष्ट्र'को मान्यता रद्द गरिदिएको थियो। त्यस बेला भारतले पाकिस्तानमाथि चर्को शुल्क लगाएको थियो भने महत्त्वपूर्ण व्यापारिक र पारवहन मार्गहरू बन्द गरेको थियो।
भारतले बालाकोटमा हवाई हमला गर्दा सङ्कट उत्कर्षमा पुगेको थियो। पाकिस्तानी वायुसेनाले पनि जबाफी कारबाही गरेको थियो। त्यस क्रममा पाकिस्तानी सेनाले भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्धमानलाई नियन्त्रणमा लिएको थियो। यद्यपि कूटनीतिक माध्यमबाट तनाव मत्थर पारियो। त्यसका लागि पाकिस्तानले वर्धमानलाई सकुशल मुक्त गरेको थियो।
"भारत फेरि एक पटक पुरानो शैलीको कूटनीति प्रयोग गर्न इच्छुक देखिएको थियो...। भारतले रणनीतिक र सैन्य उद्देश्य हात पारेर र पाकिस्तानले देशभित्र जनतासमक्ष आफू विजयी भएको दाबी गरेर," बिसारियाले गत साता बीबीसीसँग भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








