नक्कली शरणार्थी प्रकरणमा २७ करोड बिगो दाबी, ३३ जनालाई मुद्दा चलाउन सिफारिस

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सोमवार सिफारिस गरेको छ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न सिफारिस गरेको प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुईजना पूर्व मन्त्री र एक जना बहालवाला सचिवसहित अधिकारीहरू र उक्त 'गिरोह'मा संलग्न भनिएका व्यक्तिहरू छन्।
उनीहरू विरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी दिएको कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए।
उनका अनुसार आरोपितहरू विरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ।
"हामीले मुख्य गरी ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सकिने र अन्य ऐनहरू पनि आकर्षित हुने राय पेस गरेका छौँ," रिजालले बीबीसी न्यूज नेपालीसँग भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिनेबारे प्रहरीले अनुसन्धान गरेको यसअघि बताएको थियो।
‘सबैलाई मुद्दा नचल्न पनि सक्छ’

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रहरीको प्रतिवेदन अध्ययन सुरु गरिएको जानकारी दिए।
“अपराधको तथ्य प्रमाण कानुन अपराधमा अभियुक्तको कतिसम्म संलग्नता छ भन्ने अवस्था कसुरको मात्रा र हद लगायतका कुरा हामी हेर्छौँ,” नेउपानेले भने।
“त्यस आधारमा मुद्दा चल्छ कि चल्दैन भन्ने हामी हेर्छौँ र अनुसन्धानबाट सङ्कलन भएको सबुत प्रमाणबाट मुद्दा चल्ने जस्तो देखियो भने अभियोगपत्र तयार गरेर हामी अघि बढ्छौँ।”
उनका अनुसार प्रहरीले तयार गरेको मिसिल थप अध्ययन गरेर मात्रै सरकारी वकिलको कार्यालयले कुन कुन अभियोगमा मुद्दा चलाउने वा क-कसलाई चलाउनेबारे निर्णय लिन्छ।
उनले बुधवारसम्म अदालतमा मुद्दा दर्ता भइसक्ने बताए।
नेउपानेका अनुसार प्रहरीले सिफारिस सरेका सबै आरोपितमाथि मुद्दा नचल्न पनि सक्छ।
उनका अनुसार "मुद्दा चल्ने, नचल्ने, को-को विरुद्ध चल्ने, कस्तो चल्ने र कुन कानुन अनुसार चल्ने हेर्न बाँकी नै छ।"
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन थप अध्ययन गरेर मुद्दाबारे निर्णय लिन जिल्ला सरकारी वकिलको कार्यालयले आठ जनाको टोली तयार गरेको उनले जानकारी दिए।
नेउपानेले मुद्दा दायर भइसकेपछि पनि कोही व्यक्ति संलग्न भएको भेटिए उनीहरू विरुद्ध पनि मुद्दा चलाउने बाटो खुला रहने बताए।
“थप अभियोगपत्र पछिसम्म जानसक्ने अवस्था हुन्छ,” उनले भने।
मुद्दा दर्ताको हदम्याद

सङ्गठित अपराध निवारण ऐनअनुसार त्यस्ता कसुरको आरोप लागेका व्यक्तिलाई अदालतको अनुमतिमा पटकपटक गरेर ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ।
यो प्रकरणमा ‘गिरोहका सञ्चालक’ भनिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङलाई प्रहरीले गत चैत १२ गते पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका प्रमुख नेउपानेका अनुसार यो मुद्दा अदालतमा दायर गरिसक्नुपर्ने हदम्याद बुधवार सकिँदै छ।
यो प्रकरणमा नाम जोडिएका तर अहिले प्रमाण नभेटिएका व्यक्तिबारे प्रमाण भेटिए उनीहरूलाई मुद्दा चलाउन मिल्नेगरी अभियोगपत्र तयार पारिने नेउपानेले यसअघि बताएका थिए।
अहिलेसम्म यो प्रकरणमा ११२ जनाले आफू पीडित भएको भन्दै उजुरी दिएका छन्।
पीडितहरूले आफूहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने आश्वासन दिएर २३ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको दाबी उजुरीमा गरेको प्रहरीले जनाएको छ।
१६ जना आरोपितहरू थुनामा

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका १६ जनालाई आगामी मङ्गलवारसम्म हिरासतमै राख्न प्रहरीले अदालतबाट अनुमति पाएको प्रवक्ता रिजालले जानकारी दिए।
उनीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले आइतवार जिल्ला अदालत काठमाण्डूबाट अनुमति पाएको हो।
प्रकरणमा संलग्नताको आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजाल सहित १६ जना प्रहरी हिरासतमा छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको बताएको छ।
नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?
८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो
२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो
१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन
२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ











