नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित

भुटानी शरणार्थी शिविरमा एक वृद्धा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अधिकांश भुटानी शरणार्थीहरूलाई पुनर्वासका लागि विभिन्न देशमा लगिएको भए पनि केही हजार शरणार्थीहरू अझै नेपालमै छन् (फाइल तस्बिर)
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

आर्थिक लेनदेन गरेर नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रपञ्च गरिएको मामिलाले नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ।

यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।

“यस मामिलामा नेपाल सरकारको अनुसन्धानको हामी स्वागत गर्छौँ,” उसले भनेको छ।

सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी गरिएका अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

रेड लाइन
रेड लाइन

‘शरणार्थीको सामूहिक पुनर्वास समाप्त भइसक्यो'

यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो।

त्यसमा झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो।

“नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ र त्यो फेरि सञ्चालन हुने छैन,” यूएनएचसीआरले भनेको छ।

आफूले शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई निरन्तर प्रस्तुत गर्दै आएको पनि यूएनएचसीआरले जनाएको छ।

नक्कली शरणार्थीको विषयका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायसामु बिग्रिने चिन्ताका माझ यूएनएचसीआरको अहिले प्रतिक्रिया आएको हो।

बालकृष्ण खाण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बुधवार बिहानै प्रहरीले पक्राउ गरेको छ

के हो पूरै मामिला?

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।

स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।

तर अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेका भन्ने विवरण सञ्चारमाध्यमहरूमा छरपस्ट भएको हो।

बेलडाँगीस्थित शरणार्थी शिविर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९० मा भित्रिएका भुटानी शरणार्थीहरू झन्डै दुई दशकसम्म पूर्वी नेपालका विभिन्न शरणार्थी शिविरमा बसेका थिए

उक्त मामिलालाई लिएर शरणार्थीको सूचीमा नक्कली नामहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता भूतपूर्व गृहसचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

रायमाझी बुधवार दिउँसोसम्म फरार छन्।

यसै मामिलामा बुधवार बिहान पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई प्रहरीले उनको निवासबाटै पक्राउ गरेको छ।

खाणकी पत्नी मञ्जु खाण अनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम समेत यसमा मुछिएको भन्ने विवरणहरू आएका छन्।

उनीहरूले आफूमाथि लागेका आरोपको खण्डन गरिरहेका छन्।