रुसलाई क्राइमियासँग जोड्ने एकमात्र पुल विस्फोटपछि आंशिक रूपमा खुला

रुसलाई क्राइमियासँग जोड्ने एकमात्र रेल तथा सडक पुलमार्गमा शनिवार भएको विस्फोटबारे रुसी गोताखोरहरूले पूर्ण जाँच शुरू गर्दै छन्।
उक्त पुलमा अहिले सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ र राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण अनुसन्धान गर्न आदेश दिएका छन्।
ठूलो विस्फोट भएको भोलिपल्ट पुलमार्ग आइतवारबाट आंशिक रूपमा खुलेको छ।
युरोपकै सबैभन्दा लामो पुलमा भएको विस्फोटमा तीन जनाको ज्यान गएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
महत्त्वपूर्ण आपूर्ति मार्ग
रुसले सन् २०१४ मा क्राइमियालाई युक्रेनबाट खोसेर आफूमा गाभेको प्रतीकको रूपमा उक्त पुललाई लिने गरेको छ।
केर्च पुलमार्गलाई रुसी राष्ट्रपति पुटिनले सन् २०१८ मा उद्घाटन गरेका थिए।
रुसी अधिकारीहरूका दाबीअनुसार उक्त पुलमा एउटा लरी विस्फोट गराएका बेला त्यहाँ एउटा कारमा रहेका मानिसहरू मारिएका हुन्।
रेल गुड्ने पुलमार्ग पनि आंशिक रूपमा खुलेको बताइएको छ। सो खण्डमा तेल ट्याङ्करहरूमा आगलागी भएको थियो।
शनिवार साँझ रुसी विदेश मन्त्रालयले एउटा भिडिओ प्रकाशित गरेको छ जसअनुसार पुलमार्गमा कारहरू गुडिरहेको देखिन्छ।
सन् २०१८ मा खुला गरिएको उक्त रेल तथा सडक पुलमार्ग युक्रेनमा रुसी अतिक्रमणका लागि एउटा महत्त्वपूर्ण आपूर्ति मार्गको रूपमा रहेको छ।

तस्बिर स्रोत, Reuters
दक्षिणी युक्रेनमा युद्धमैदानमा सेना तथा सैनिक बन्दोबस्तीका सामान ओसार्न रुसले त्यो मार्गलाई प्रयोग गर्दै आएको छ।
रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकार मिखाइलो पोदोलियाकले विस्फोटका लागि सीधै जिम्मेवारी लिएका छैनन्, तर लेखेका छन्-"क्राइमिया, पुल र शुरूवात।"
"हरेक अवैध कुरा ध्वस्त पारिनुपर्छ, लुटिएका हरेक कुरा युक्रेनलाई फिर्ता गरिनुपर्छ रुसले कब्जा गरेका ठाउँबाट धपाइनुपर्छ।"
युक्रेनी रक्षा मन्त्रालयले पुलमा भएको विस्फोटलाई गत एप्रिलमा रुसी युद्धपोत मस्कभा डुबेको घटनासँग तुलना गरेको छ।
मस्कोद्वारा नियुक्त क्राइमियाका गभर्नरले विस्फोट गराएर बदला लिने चाहना देखिए पनि घटनाका कारण अभाव सिर्जना नहुने टिप्पणी गरेका छन्।








