युक्रेन-रुस युद्ध: रुसलाई क्राइमियासँग जोड्ने एकमात्र पुलमा विस्फोटन र भीषण आगलागी

केर्च पुल

तस्बिर स्रोत, Reuters

रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा शनिवार सबेरै ठूलो विस्फोटन भएका विवरण आएका छन्।

सामाजिक सञ्जालमा व्यापक शेअर गरिएका तस्बिरहरूमा केर्च पुलमा एउटा रेल भीषण आगलागीको चपेटा परेको देखिन्छ।

साथै छेवैको सडक पुल पनि क्षतिग्रस्त भएको देखिन्छ।

कारण के हो?

पुलमा भएको विस्फोटन तथा आगलागीको कारण अझै अस्पष्ट छ।

रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ इन्धन ट्याङ्कमा आगो सल्किएको र सबै आवतजावत बन्द गरिएको छ।

केर्च पुलमार्गलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गरेका थिए।

सन् २०१४ मा क्राइमियालाई मस्कोले अवैध रूपले आफ्नो देशमा गाभेको हो।

रुसले उक्त पुलबाट सैन्य सामग्री युक्रेनमा ‌ओसारपसार गर्ने हुनाले त्यसलाई युक्रेनी फौजको निम्ति महत्त्वपूर्ण निशाना भएको बताइन्थ्यो।

केर्च पुल

तस्बिर स्रोत, Reuters

आगो निभाउने प्रयास

क्राइमियाका प्रमुखका एकजना सल्लाहकारलाई उद्धृत गर्दै रुसी सरकारी एजेन्सी रिया नोभोस्टीले आगो निभाउने कार्य जारी रहेको उल्लेख गरेको छ।

उक्त पुल युक्रेनको नियन्त्रण भएका नजिकका क्षेत्रबाट एक सय माइल पर रहेको छ।

विस्फोटनसम्बन्धी एकजना विज्ञले बीबीसीसँग कुरा गर्दै उक्त विस्फोटन क्षेप्यास्त्रका कारण सम्भवत: नभएको बताए।

"सडक सतहमा विस्फोटले हुने क्षति नदेखिएको हुँदा शायद यो हवाईमाध्यमबाट प्रहार गरिएको अस्त्रका कारण नभएको हुनसक्छ," उनले भने।

तर 'मुन्तिरबाट सुनियोजित रूपमा आक्रमण गरिएको हुनसक्ने' सम्भावना चाहिँ रहेको उनले बताए।