जापान सरकारको आँखा छलेर कसरी भागे निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन

जापानमा कार निर्माण गर्ने उद्योगमा कुनै बेला उनको हैसियत नायकको जस्तै थियो। त्यसपछि उनलाई सन्दिग्ध अपराधी मानियो। अहिले उनी अन्तर्राष्ट्रिय भगौडा भएका छन्।

कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख तथा धनाढ्य कार्लोस गोनले आर्थिक हिनामिनासम्बन्धी मुद्दा खेप्ने प्रतीक्षामा कैयौँ महिना बिताए।

कम्तीमा त्यही कुराले जापानी अधिकारीहरूलाई उनी भाग्दैनन् भन्नेमा विश्वस्त बनायो।

गत एप्रिलमा जमानतमा रिहा हुन उनले एक अर्ब जापानी येन पनि तिरे।

के भन्छन् गोन?

टोकियोस्थित उनको निवासवरपर जडित क्यामेरामार्फत्‌ गोनको चौबीसै घण्टा निगरानी हुन्थ्यो।

प्रविधिको प्रयोग गर्न उनीमाथि निकै प्रतिबन्ध लगाइएको थियो र विदेश भ्रमणमा जान रोक लगाइएको थियो।

त्यसपछिको एउटा कदमबाट जापान लज्जित हुनुपर्‍यो भने गोनका वकिलहरूको टोली पनि आश्चर्यमा पर्‍यो। नयाँ वर्षको पूर्वसन्ध्यामा उनी अकस्मात् लेबननमा देखिए।

एउटा वक्तव्यमा उनले भने, "म अन्याय र राजनीतिक दमनबाट उम्किएको छु।"

उनले जापानमा आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका थिए।

यसअघि एक स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जापानमा निष्पक्ष सुनुवाइ नहुने डरले गोन टोकियोबाट भागेको उल्लेख गरेको थियो।

गोनकी पत्नीले आफूहरूलाई "धम्काउन तथा होच्याउन" खोजेको गत जुन महिना बीबीसीलाई बताएकी थिइन्। उनका वकिलहरूले जापान सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् र अभियोजनकर्ताहरूले अघि सारेको मुद्दाको राजनीतिक अभिप्राय रहेको दाबी गरेका थिए।

"हामी एकदमै आश्चर्यचकित भएका छौँ। म त निःशब्द भएको छु," गोन लेबनन पुगेको खबर पाएलगत्तै टोकियोमा गोनका वकिल जुनिचिरो हिरोनाकाले पत्रकारहरूलाई भने।

"हामी सोध्न चाहन्छौँ - तपाईँ कसरी यस्तो गर्न सक्नुहुन्छ?" हिरोनाकाले भने।

अर्को एउटा प्रश्न पनि उठको छ - गोनले त्यसो गर्न कसरी सम्भव भयो?

उनी कसरी भागे?

लेबननको टेलिभिजन च्यानल एमटीभीका अनुसार गोन टोकियोस्थित निवासबाट एउटा साङ्गीतिक समूहमा भेष बदलेर सम्मिलित एउटा अर्धसैनिक समूहको सहयोगमा भागेका हुन्।

सो टेलिभिजनका गोनको निवासमा साङ्गितिक कार्यक्रम प्रस्तुत गरेको थियो र त्यो सकिनासाथ वाद्यवादनका सामान राख्ने खोलमा ६५ वर्षीय गोन लुके। ती सामानलाई एउटा स्थानीय विमानस्थल पुर्‍याइयो र विदेश लगियो।

यदि साँच्चै त्यसो भएको थियो भने साँढे पाँच फूट अग्ला गोनलाई वाद्यवादनका सामानबीच लुक्नै निकै गाह्रो भएको हुनुपर्छ।

एमटीभीका अनुसार त्यसपछि गोन टर्की पुगे र त्यहाँबाट एउटा निजी विमानमार्फत्‌ लेबनन गए।

एमटीभीले त्यसबारे कुनै प्रमाण दिएको छैन। तर अपेक्षा गरिएझैँ सामाजिक सञ्जालमा यो कुरा तीव्र गतिमा फैलियो।

यद्यपि गोनकी श्रीमती कारोलले उनी त्यसरी भागेको कुरा काल्पनिक भएको समाचारसंस्था रोएटर्सलाई बताइन्।

आफ्ना श्रीमान् जापानबाट कसरी भागे भन्नेबारे चाहिँ उनले विवरण दिइनन्।

कसरी बन्यो होला भाग्ने योजना?

हुन त जासुसी चलचित्रमा जस्तै भेष बदल्ने कुरा गोनका लागि कुनै नौलो काम होइन।

गत मार्चमा उनी पत्रकारहरूको नजरबाट जोगिन निर्माणक्षेत्रमा काम गर्ने मानिसहको भेषधारण गरेर जेलबाट निस्किएका थिए।

तर तत्कालै उनी चिनिए र सञ्चारमाध्यममा उनको खिल्ली उडाइयो। गोनका वकिलले त्यो "परिपक्व योजना" का लागि क्षमायाचना पनि गरे।

सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार निसानका पूर्वप्रमुख कार्यकारी अधिकृत गोनले टोकियोबाट भागेर बेरुत पुग्ने योजना कैयौँ हप्ता वा महिनादेखि बनाएको हुन सक्छ।

नाम उल्लेख नगरिएका थुप्रै स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएअनुसार भाग्ने योजना कार्यान्वयन गर्न एउटा टोली सावधानीपूर्वक काम गरेको थियो।

लेबनन पुग्न गोनले प्रयोग गरेका कागजपत्रबारे कति प्रश्न अनुत्तरित छन्।

उनीसँग ब्रजिल, फ्रान्स र लेबनन गरी तीन देशका पासपोर्ट छन्।

तर उनको कानुनी समूहका अनुसार ती सबै पासपोर्ट जापान सरकारको नियन्त्रणमा थियो।