तातोपानी नाकाः उद्‌घाटन भए पनि अझै सञ्चालनमा आउन सकेन

नेपाल चीन

तस्बिर स्रोत, RSS

ठूलो तामझामका बीच तातोपानी नाका उद्‌घाटन गरिएको करिब तीन हप्ता हुन लाग्दा समेत सञ्चालनमा आउन नसकेको व्यवसायीहरूले बताएका छन्।

गत महिना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले एउटा कार्यक्रमबीच नाका उद्घाटन गरेका थिए।

चार वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको नाका सञ्चालनमा आएसँगै चीनबाट सरसामान आयात गर्न सहज हुने र त्यसले बजार भाउमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै व्यवसायीहरू उत्साहित देखिएका थिए।

तर नेपालतर्फका संरचना पूर्ण रूपमा तयार नहुँदा र काम कारबाही अघि बढाउनका लागि प्रक्रियागत कार्यहरू सम्पन्न हुन नसक्दा उक्त नाका सञ्चालनमा आउन नसकेको उनीहरू बताँउछन्।

"नियमित कार्यका हिसाबले नाका उद्घाटन गरिएको जस्तो देखिन्छ। नाका सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने धेरै काम बाँकी नै छन्," नेपाल-चीन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पञ्चरत्न शाक्यले भने।

नेपाल चीन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मर्मतपछिको मितेरी पुल

हाल केरुङबाट सहजै आयात निर्यातका कार्य सम्पन्न भएको अवस्थामा तातोपानी नाका पूर्ण रूपमा व्यवस्थित भएपछि मात्रै व्यवसायीहरू त्यसतर्फ आकर्षित हुने सक्ने उनले जानकारी दिए।

उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठले हालसालै निर्माण सम्पन्न भएको भनिएको बन्दगाहमा टेबुल र कुर्सीजस्ता सामग्री समेत नरहेको बताउँछन्।

"त्यसबाहेक तातोपानीसम्म पुग्ने बाटो पनि भरपर्दो छैन। पानी पर्ने मौसम भएकाले सडकसम्बन्धी जोखिम झन् बढेको छ," उनले थपे। "नाका औपचारिक रूपमा खुल्ने बाहेक अन्य धेरै काम बाँकी छन्।"

तर सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने तातोपानी पुग्ने सडकमा १२ पाङ्ग्रे ट्रक समेत सञ्चालन हुन सक्ने दाबी गरे।

चीनबाट फलफूल आयात गर्ने एकजना व्यवसायी उत्तम थापा भने हालका दिनमा रेलमार्ग हुँदै सामान चीनको सिगात्सेसम्म आइपुग्ने र त्यहाँबाट केरुङनजिक पर्ने हुँदा सामान आउन चाँडो हुने हुँदा आफूहरूले तातोपानीतर्फ ध्यान नदिएको बताउँछन्।

"तातोपानी नाका कस्तो भएको छ मैले बुझ्न पाएको छैन। तर भूकम्पका कारण बन्द हुनुअघिको अवस्थासँग तुलना गर्ने हो भने केरुङ निकै व्यवस्थित छ," उनले थपे।

नेपाल चीन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चिनियाँ सरकारले निर्माण गरेको तातोपानी सुक्खा बन्दरगाह

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकाल भने व्यवसायीहरूले २-३ महिनाअघि नै सामान ढुवानी गर्ने मार्ग निश्चित गर्ने गरेका कारण सामान आयात वा निर्यात तातोपानी बाट हुन नसकेको बताउँछन्।

"व्यवसायीहरूले तातोपानीबाट सामान ल्याउन शुरू गर्नासाथ नाका सञ्चालनमा आउनेछ," उनले बीबीसी नेपाली सेवालाई बताए।

ढकालले हाल भन्सारमा चाहिने सफ्टवेयर जडान गर्ने कार्य भइरहेको जानकारी दिए।

चिनियाँ पक्षले बनाइदिएको सुक्खा बन्दरगाह लगायतका संरचना नेपाललाई हस्तान्तरण गरिएको भन्ने बेहोराको पत्र नेपाललाई हालसम्म प्राप्त नभएको समेत उनले बताए।

"तर नाका सञ्चालन नहुनुमा यसको भूमिका छैन," उनले थपे।

ढकालले मूलतः व्यवसायीले नै केरुङ हुँदै सामान आयात गरेकाले नाका प्रयोगमा आउन नसकेको बताए पनि समितिकै सूचना अधिकारी करुणा अधिकारीले भने बन्दरगाहको आन्तरिक व्यवस्थापन, भन्सारसँग सम्बन्धित विभिन्न विषय वस्तु र नाकामा आवश्यक पर्ने कर्मचारी नहुँदा नाका सञ्चालनमा आउन नसकेको बताइन।

नेपाल चीन

तस्बिर स्रोत, नेपाल इन्टरमोडल यातायात विकास समिति

तस्बिरको क्याप्शन, समितिले जारि गरेको सूचना

समितिअन्तर्गतको तातोपानी सुक्खा बन्दरगाह सञ्चालनका लागि कम्पनी नियुक्ति गर्ने काम पनि हुन सकेको छैन।

तत्कालीन आवश्यकता परिपूर्ति गर्ने भन्दै समितिले प्राविधिक पदमा कर्मचारीहरू करार सेवामा लिने भन्दै आवेदन माग गरेको छ।

समितिले कर्मचारी करारमा लिने सम्बन्धी सूचना ज्येष्ठ महिनाको अन्तिममा जारी गरेको थियो।

आवेदन दिने म्याद असार १५ गते सम्म तोकिएको छ, जसले आवश्यक तयारी विनै नाका खोलिएको देखाउँछ।