नेपाल-चीनबीचको तातोपानी नाका खोल्ने 'तयारी पूरा'

तस्बिर स्रोत, Surendra Phuyal
भूकम्पयता बन्द भएको चीनसँग जोडिएको तातोपानी नाका खुलाउने तयारी हुँदै गर्दा सीमानाकामा आवश्यक पर्ने सरकारी कार्यालय र जनशक्ति परिचालनको काम सकिएको अधिकारीहरूले बताएका छन्।
व्यवसायीहरुले नाका सञ्चालनसँगै सामान ल्याउने लैजाने स्थानका रुपमा सुख्खा बन्दरगाह प्रयोगमा ल्याउनु पर्ने अन्यथा असहज हुने बताएका छन्।
तातोपानी नाका बन्द हुँदा सामान आयात निर्यातका लागी रसुवागढी नाका प्रयोग हुँदै आएको थियो।
नेपाल र चीनबीच व्यापारिक कारोबार र आवतजावत गर्नका लागि प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका बन्द भएको ४ वर्ष भन्दा बढी भइसकेको छ।
भूकम्पका कारण भत्किएका सडक पुल लगायतका संरचना निर्माणको प्रक्रिया शुरु गर्दै गर्दा उक्त क्षेत्र भूकम्पको जोखिम रहेको भन्दै चीन सरकारले खासा बजार नै त्यहाँबाट सारेपछि नाका खोल्ने विषय अन्योलमा परेको थियो।
के के काम भइरहेको छ?
नेपाल पक्षको लामो समयको प्रयासपछि चीन सरकार उक्त नाका खोल्न सहमत भएको अधिकारीहरुले बताएका छन।
नाका सञ्चालनको तीव्रतासँगै नेपालको क्षेत्रमा सिमानामा आवश्यक पर्ने सरकारी कार्यालयहरु स्थापना गर्ने काम सकिएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन।
उनले भनिन्, "अध्यागमन कार्यालय, भन्सार कार्यालय, क्वारन्टिन र सुरक्षा बलको लागि सबै व्यवस्था गर्ने काम भइरहेको छ।"

तस्बिर स्रोत, SP/BBC
उनका अनुसार भन्सार कार्यालयको नेटवर्किङका लागी आश्यक पर्ने इन्टरनेट अनि क्वारन्टिन कार्यालयका लागि आवश्यक पर्ने उपकरणको व्यवस्था मिलाउने काम भइरहेको छ।
हिमालय सीमापार व्यवासायीहरुले भने सीमाक्षेत्रमा सामान झार्ने र ल्याउने लैजाने गर्दा झन्झटिलो हुने भन्दै सुख्खा बन्दरगाहलाई प्रयोगमा ल्याउनु पर्ने बताएका छन्।
नाका संचालनसँगै चीन सरकारले निर्माण गरिदिएको सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गरिने बताइएको छ।
मर्मत
मितेरी पुलको निर्माण अन्तिम चरणमा रहेको र भूकम्प र बाढी पहिरोले बिगारेका नेपालको विभिन्न खण्डमा सडकमध्ये धेरै जसो मर्मत भइसकेको सरकारी भनाइ छ।
तातोपानी नाकालाई, हालै मात्र पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गरेको नेपाले तेस्रो मुलुक सम्म सामान आयात र निर्यातलाई सहज हुने रूपमा लिएको छ।
चीनले सुरक्षाका हिसाबले उक्त नाकालाई निकै संवेदनशील रूपमा लिँदै आएको छ।








