उत्तर कोरियाद्वारा 'शक्तिशाली युद्धशीर्ष बोकेको नयाँ अस्त्र परीक्षण' गरेको दाबी

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाले परबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको छ।
"ट्याक्टिकल गाइडिड वेपन" भनिएको सो अस्त्रबारे त्यहाँको सरकारी समाचारसंस्थाले धेरै जानकारी दिएको छैन तर उसले त्यसमा "शक्तिशाली युद्धशीर्ष" जडान भएको उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर कोरियाले अस्त्र परीक्षण गरेको हो।
उत्तर कोरियाले यसअघि पनि यस्तै किसिमको अस्त्र परीक्षण गरेको दाबी गरेको थियो। तर पर्यवेक्षकहरूले त्यसलाई अमेरिकामाथि दबाव सिर्जना गर्ने प्रयासका रूपमा अर्थ्याएका थिए।
गत हप्ता नेता किमले अमेरिका राष्ट्रपति ट्रम्पले वार्ताका लागि 'सही नियत' लिएर आए थप वार्ता गर्न सकिने बताएका थिए।
उत्तर कोरियाको दाबी के हो?
सरकारी समाचारसंस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उक्त परीक्षणको निरीक्षण नेता किम आफैँले गरेका थिए।
केसीएनएका अनुसार उक्त अस्त्रमा उडानलाई मार्ग निर्देशन गर्ने विशिष्ट विधि छ।
उसले यो परीक्षणमा विभिन्न लक्ष्यमा विभिन्न तरिकाबाट प्रहार गरिएको जनाएको छ।

तस्बिर स्रोत, KCNA VIA REUTERS
परीक्षणपछि प्रतिक्रिया दिँदै किमले यो "जनसेनाको युद्ध शक्ति बढाउन धेरै महत्त्वपूर्ण" उपलब्धि भएको बताएका छन्।
उक्त अस्त्रबारे खासै धेरै विवरण सार्वजनिक गरिएको छैन।
यद्यपि सानो दुरीको अस्त्र भएकोले त्यसबाट संयुक्त राज्य अमेरिकालाई खतरा नरहेको विश्लेषकहरूको धारणा छ।
गत वर्ष आफ्नो परमाणुक्षमता "पुष्टि भइसकेको" जनाउँदै प्योङ्याङले अबका दिनमा अन्य महाद्वीपमा हमला गर्न सक्ने लामो दुरीको क्षेप्यास्त्र परीक्षण नगर्ने जनाएको थियो।
उत्तर कोरियाले बलिस्टिक र लामो दुरीको क्षेप्यास्त्रमा समेत अटाउने परमाणुबम बनाएको र उक्त अस्त्र अमेरिकासम्म पुग्न सक्ने दाबी गर्दै आएको छ।








