खशोग्गीको मृत्यु भइसकेको ट्रम्पको विश्वास

तस्बिर स्रोत, AFP
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई अब साउदी पत्रकार जमाल खशोग्गी मरिसकेको विश्वास लागेको बताएका छन्।
जताततैबाट आएका खुफिया सूचनाले उनको मृत्यु भइसकेको संकेत गरेको उनले बताए।
साउदी-अमेरिकी सम्बन्धमा प्रभाव
साथै साउदी अरेबियामाथि कडा हुँदै गएको अमेरिकी व्यवहार दर्शाउँदै उनले खशोग्गीको मृत्युमा साउदी सरकारको संलग्नता रहेको प्रमाण भेटिए त्यसले अमेरिकासँगको उसको सम्बन्धबारे गम्भीर प्रश्न उब्जने बताए।
टर्कीस्थति साउदी वाणिज्यदूतावास प्रवेश गरेपछि बेपत्ता भएका साउदी पत्रकार जमाल खशोग्गीबारेको अनुसन्धानका लागि टर्कीका अधिकारीहरूले थप खोजबिन गरिरहेका छन्।
नाम नखुलाइएका टर्कीका एक जना अधिकारीले खशोग्गीको हत्यापछि उनको शरीर नजिकैको जंगल वा खेतमा लगि नष्ट गरिएको हुन सक्ने बताए।
अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरे यता खशोग्गी देखापरेका छैनन्।
टर्कीका अधिकारीहरूले त्यहीँ भित्र खशोग्गीको हत्या भएको बताउँदै आएका छन्।
तर साउदी अरेबियाले भने त्यहाँको घट्नाबारे कुनै जानकारी नभएको बताउँदै आएको छ।
प्रतीक्षा
खोजको क्रममा घटनास्थल भनिएका ठाउँबाट ल्याइएका नमुनाहरू पत्रकार खशोग्गीको डिएनएसँग मिल्छ वा मिल्दैन भनी परीक्षण भइरहेको छ।
खशोग्गीको बेपत्ता प्रकरणबारे जारी अनुसन्धानका परिणामको प्रतीक्षा रहेको बताउँदै अहिल्यै रियादसँगको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पत्रकार खशोग्गीको हत्याको रेकर्ड गरिएको श्रव्य सामग्री सुनेको टर्कीका एक जना वरिष्ठ अधिकारीले एबीसी न्युजलाई बताएका छन्।








