दशैँ आयो: मालश्री धुनको गुणस्तरबारे प्रश्नहरू किन

दशैँको समयमा देशैभरि गुन्जिने मालश्री धुन बजाउन आधुनिक बाजाको प्रयोग गर्ने क्रम बढ्दै गएको छ।

तर प्रस्तुति र गुणस्तरमा खासै ध्यान नदिइएको भन्दै शास्त्रीय सङ्गीतका ज्ञाताहरूले चिन्ता व्यक्त गरेका छन्।

दशैँको आगमनसँगै मालश्री धुन रेडियो, टेलिभिजन एवम् मठमन्दिर र शक्तिपीठहरूमा गुन्जिने गर्छ।

प्राचीन कालमा शुरू भएको मानिने मालश्री धुन अहिले पूर्वदेखि पश्चिमसम्म लोकप्रिय छ।

विकृति

तर शास्त्रीय सङ्गीतका ज्ञाता डा. ध्रुवेशचन्द्र रेग्मी मालश्री प्रस्तुतिबारे भन्छन्, ''बजाउने नाममा विकृत पार्न भएन। यहाँ कतिपय प्रस्तुत गर्ने वा प्रशारण गर्ने संस्थाहरूले पनि मालश्रीको गुणस्तरतर्फ त्यति ध्यान दिएको पाइँदैन।''

''जुन रस हो, त्यस अनुसारको भाव व्यक्त गर्न सकिएन भने त्यसलाई विकृति भन्नुपर्छ।''

थुप्रै नयाँ तथा पुराना स्रष्टाले आ-आफ्नै शैली र स्वरमा मालश्री धुनको प्रयोग गरेका छन्।

मालश्री धुन प्रयोग गरेर ठाउँ अनुसार गीत गाउने आफ्नै प्रचलन रहेको र शरद ऋतुसँग यसको गहिरो सम्बन्ध रहेको विज्ञहरूको धारणा छ।

परम्परागत रूपमा यो धुनमा बाँसुरी, सितार, सारङ्गी लागयत बाजाको प्रयोग हुन्छ।

तर अहिले किबोर्ड, पियानो, गितार तथा कङ्गोजस्ता बाजाको प्रयोग हुन थालेको छ।

विश्वास

त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक सङ्गीता प्रधान रानाले भनिन्, ''नयाँ सिर्जनालाई चाहिँ हामीले विकृति नभनी एकदमै नराम्रोसँग प्रस्तुत गरियो भने मात्र त्यसलाई हामीले अवरोध गर्नुपर्छ।''

''तर कसैले त्यसलाई राम्रोसँग प्रस्तुत गर्छन् भने हामीले ती सिर्जना गर्ने कलाकारलाई स्वागत गर्नुपर्छ।''

नेपालमा प्रचलित मालश्रीको उत्पत्तिबारे भिन्न मत रहे पनि यो चार सय वर्ष पुरानो भएको बताइन्छ।

परम्परागत र शास्त्रीय सङ्गीतमध्ये नेवारी शैलीमा रहेको शास्त्रीय राग मालश्रीमा रहेको जानकारहरू बताउँछन्।

समग्र भारतवर्ष र दक्षिण एसियामा समेत प्रचलनमा रहेको मालश्रीभन्दा नेपालमा प्रचलित मालश्रीमा निकै भिन्नता रहेको बताउँछन् शास्त्रीय सङ्गीतका ज्ञाता डा. रेग्मी।

उनले भने, ''हाम्रो जुन शास्त्रीय राग छ त्यो हिन्दुस्तानी सङ्गीत पद्धति चाहिँ भारतवर्ष वा दक्षिण एसियामा समेत प्रचलनमा छ र नेपालमा पनि झण्डै दुई हजार वर्ष पहिलेदेखिको यसको इतिहास छ।''

''त्यो रागमा पनि मालश्री भन्ने एउटा अर्को राग छ। तर त्यो मालश्री राग र नेपालमा प्रचलित रागमा ठूलो फरक छ।''

मालश्री धुन प्रत्यक्ष बजाउने र सुन्ने क्रम घटे पनि आधुनिक सङ्गीतका विभिन्न माध्यम प्रयोग र भिन्न शैलीमा प्रस्तुत गर्दा यसको लोकप्रियता नघट्ने रेग्मीजस्ता सङ्गीतकर्मीको धारणा छ।