तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अन्तको जस्तो नेपाली बजारमा तेलको भाउ धेरै बढ्दैन'
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य एक्कासी बढे पनि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य त्यही अनुपातमा नबढ्ने नेपाल आयल निगमका अधिकारीले बताएका छन्।
पन्ध्रपन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्ने गरिएको भएपनि एकै पटक धेरै बढेमा 'स्थिरीकरण कोष'मा जम्मा भएको रकम प्रयोग गरेर थोरै मात्रै मूल्य बढाइने निगमका अधिकारीहरूको भनाइ छ।
केही महिना अघिसम्म नाफामा रहेको निगम हाल 'न नाफा न घाटा' को अवस्थामा रहेको बताइएको छ।
अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट आफू अलग्गिएको र ऊविरुद्ध थप प्रतिबन्ध लगाउने घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ।
त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।
पछिल्ला केही महिनामा नेपाल आयल निगमले पटकपटक दुईदेखि तीन रुपैयाँको दरले मूल्य बढाएको छ।
नीति
अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढने आकलन गरिरहेको बेला आयल निगमले भने नेपालमा एकै पटक धेरै मूल्य नबढाउने जनाएको छ।
आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, "एक्कासी धेरै मूल्य बढेर आइदियो र पाँच प्रतिशत बिक्री मूल्यले थेग्ने स्थिति रहेन भने थोरै रकम बिक्री मूल्यमा बढाउने र बाँकी कोषको रकमबाट समायोजन गर्छौँ। तर हालसम्म उक्त कोषबाट रकम चलाउनु परेको छैन।"
मूल्य बढेको बेलाको भार धान्नका लागि बनाइएको 'मूल्य स्थिरीकरण कोष' मा हाल तीन अर्ब ४० करोड रुपैयाँ रहेको निगमले जनाएको छ।
पाँच वर्षअघि (२०७० सालमा) एक सय ४० रुपैयाँ प्रतिलिटरसम्म पुगेको पेट्रोलको मूल्य केही वर्षपछि ८० रुपैयाँसम्म झरेको थियो।
त्यो फेरि बढेर अहिले एक सय १० रुपैयाँसम्म पुगेको छ।
'शून्य'
हाल पाँच प्रकारका पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने निगम घाटा नाफाका हिसाबले बराबर रहेको निमित्त नायब कार्यकारी निर्देशक साहको भनाइ छ।
उनले भने, "पेट्रोलमा प्रतिलिटर ७२ पैसा नाफामा छौँ, डिजेल प्रतिलिटर दुई रुपैयाँ २९ पैसा घाटामा कारोबार भइरहेको छ। मट्टितेलमा हामी प्रतिलिटर १९ रुपैयाँ नाफामा छौँ।"
उनले भने, "हवाई इन्धनमा १० रुपैयाँ प्रतिलिटर नाफा छ तर एलपी ग्यास प्रतिसिलिन्डर ६४ रुपैयाँ २९ पैसा घाटा छ। समग्रमा अहिले निगमको नाफानोक्सान शून्य छ।"
विगतमा मूल्य समायोजन नगर्दा ३७ अर्ब रुपैयाँसम्म ऋणमा डुबेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढसँगै स्वचालित रूपमा यहाँपनि मूल्य हेरफेर हुने प्रणाली अपनाएपछि धेरै नोक्सानी भोग्नु नपरेको बताएको छ।