विराटनगर गोलीकाण्ड: पुराणवाचकविरुद्ध हातहतियार मुद्दा

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु भनिने पुराणवाचक श्रीनिवास आचार्यविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

मुद्दा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आचार्यलाई १० दिन थुनामा राख्न अनुमति दिएको प्रहरी नायव उपरीक्षक निशान थापाले बीबीसीलाई बताए।

एक महिनाअघि विराटनगरको जतुवामा भएको गोलीकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका दुई अभियुक्तको बयानका आधारमा ३१ वर्षीय आचार्यलाई प्रहरीले सोमबार राजधानीबाट पक्राउ गरेको थियो।

उनलाई गोली हानेको अभियोगमा पक्राउ परेका माधव चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

आचार्यकै आग्रहमा आफूहरूले उनलाई गोली हानेको बयान उनीहरूले प्रहरीलाई दिएका थिए।

'उक्साउन गोली'

उक्त योजनाका लागि आचार्य आफैँले पेस्तोल जुटाएको र गोली चलाउन पनि उनैले सिकाएको अभियुक्तहरूले बताएको प्रहरीको भनाइ छ।

नेपाललाई हिन्दू राज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएकाले जनता र धर्मगुरुहरूलाई उक्साउन उक्त गोलीकाण्डको योजना बुनिएको उनीहरूले प्रहरीलाई बताएका थिए।

गत चैत्र २५ गते विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भागवत् सप्ताह पुराणका लागि प्रमुख वाचकका रूपमा आएका आचार्यमाथि सोही दिन राति गोली प्रहार भएको थियो।

बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए।