दक्षिण सुडान 'तनावग्रस्त'

तस्बिर स्रोत, Reuters
दक्षिण सुडानबाट प्राप्त रिपोर्टहरुले राजधानी जुबाको एउटा अस्पतालमा ठूलो संख्यामा शवहरु लगिएको जनाएका छन्।
अहिलेसम्म मृतक संख्याबारे सरकारी तथ्यांक सार्वजनिक भएको छैन।
शुक्रबार राष्ट्रपति निवास नजिकै भीषण गोली हानाहान भएको थियो ।
शनिबार दक्षिण सुडानको पाँचौं स्वतन्त्रता दिवसको ठिक अगाडि यस्तो अस्थिरता देखा परेको छ।
तनावग्रस्त
बीबीसीका अफ्रिका सुरक्षा संवाददाता टमी ओलाडीपी भन्छन्, "दक्षिण सुडान स्वतन्त्रताको पाँचौं वार्षिकोत्सवका दिन शान्त देखिन्छ तर परिस्थिति तनावग्रस्त छ। राष्ट्रपति साल्भा कीर र उप राष्ट्रपति रिक मचारबीच विहिबार दुइ पक्षका सेनाबीच भएको झडपबारे छलफल भइरहेका बेला शुक्रबार पुन: लडाईँ भएको छ।"
अस्पतालका एकजना डाक्टरले सञ्चार माध्यम अशोशियटेड प्रेसलाई बताए अनुसार सैनिकहरुले अस्पतालमा ठूलो संख्यामा शवहरु ल्याएका छन्।
ती धेरैजसो सैनिकका शव हुन्। तर यसको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन।

तस्बिर स्रोत,
राष्ट्रपति किर र उप राष्ट्रपति मचारले शुक्रबारको हिंसालाई दुर्भाग्यपूर्ण भनेका छन्।
जनताप्रति 'घात'
नाजुक शान्ति सहमति मार्फत तिक्ततापूर्ण गृहयुद्ध अन्त्य गरेर यो संक्रमणकालीन सरकार गठन गरिएको हो।
पछिल्लो परिस्थितिलाई संयुक्त राष्ट्र संघीय महासचिव बान कि मुनले युद्ध शुरु भए यता पीडित दक्षिण सुडानका जनताप्रति 'नयाँ घात' भनेका छन्।
गृहयुद्धमा दशौं हजार मारिएका छन् र लाखौं आफ्ना घर छोड्न बाध्य बनाइएका छन्।
संसारको सबभन्दा नयाँ राष्ट्र दक्षिण सुडानको स्थिति यस्तो खराब छ कि अधिकारीहरुले पाँचौं स्वतन्त्रता दिवस मनाउने औपचारिक कार्यक्रम नरहेको जनाएका छन्।







