हरित ऊर्जा विस्तारमा कीर्तिमान

तस्बिर स्रोत, Getty

विश्वभर नवीकरणीय ऊर्जामा भइरहेको लगानी द्रुत गतिमा बढिरहेको एउटा नयाँ अध्ययनले देखाएको छ।

रिन्युएबल एनर्जी नेटवर्कले भनेको छ, सन् २०१५ मा विश्वभर सौर्य, वायु र जलविद्युतबाट लगभग १ सय ४७ गिगावाट ऊर्जा थपिएको छ जुन एक वर्षमा भएको हालसम्म सबैभन्दा ठूलो वृद्धि हो।

कोइला र ग्यासबाट चल्ने ऊर्जा भट्टीहरु भन्दा दुइ गुणा बढी रकम अघिल्लो वर्ष नवीकरणीय उर्जामा प्रयोग गरिएको पाइएको छ।

नयाँ अध्ययनले पहिलो पटक विश्वका उदयीमान अर्थतन्त्रहरुले शक्तिराष्ट्रहरु भन्दा बढी रकम नवीकरणीय ऊर्जामा लगानी गरेको देखाएको छ।

अग्रणी

सन् २०१५ मा नवीकरणीय ऊर्जामा सबैभन्दा बढी लगानी गर्ने देशहरुमा चीन, अमेरिका, जापान, ब्रिटेन र भारत रहेका थिए।

तस्बिर स्रोत, REUTERS

हरित ऊर्जामा अघिल्लो बर्ष २ सय ८६ अर्ब डलर खर्च भएको थियो।

ब्रिटेनमा वायु र सौर्य ऊर्जाका श्रोतमार्फत पहिलो तीन महिनाको कुल मागको एक चौथाई विजुली आपूर्ती गर्न सकिएको अध्ययनमा उल्लेख छ।

उक्त अध्ययनका लेखकहरुले विश्वका एकदमै गरिव देशहरुले समेत वायु, सौर्य र जलविद्युत क्षेत्रमा लगानी गरिरहेको जनाएका छन्।

विज्ञहरुले भनेका छन्, अव विकासोन्मुख देशहरुले पनि हरित ऊर्जामा विकसित देशभन्दा बढी लगानी गर्न थालेका छन्।

परिणाम

तस्बिर स्रोत, Getty

उनीहरुका अनुसार खनिज तेल जतिकै खर्चमा हरित ऊर्जा उत्पादन गर्न सकिने भएपछि पछिल्लो प्रवृत्ति देखिएको हो।

तर अझै पनि सबै क्षेत्रले नवीकरणीय ऊर्जा प्रति आकर्षित भइरहेका छैनन् किनभने कम मुल्य पर्ने हुनाले तेल नै सवारी साधन तथा अन्य तताउने एवं चिस्याउने उपकरणका लागि ऊर्जाको मुख्य श्रोत रहदैँ आएको छ।

तर अघिल्लो डिसेम्बरमा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौताले हरित ऊर्जाको उत्पादन व्यापक बढाउने देखिएको छ।

उक्त सम्झौतामा स्पष्ट निर्धारण गरिएका नवीकरणीय ऊर्जाका लक्ष्यहरु छन्।

नयाँ अध्ययनका लेखकहरुले हरित ऊर्जा उत्पादन सम्बन्धी अझै उत्कृष्ट परिणाम आउन बाँकी नै रहेको बताएका छन्।