दु्इभाषाको ज्ञान मानसिक स्वास्थ्यलाई राम्रो

तस्बिर स्रोत, Science Photo Library
बयस्क भए पछि नै किन नहोस दोश्रो भाषा सिक्नुले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने एडिनबरा विश्वविद्यालयको एउटा अध्ययनले देखाएको छ।
एघार वर्षे या सत्तरीको उमेरमा रहेका मानिसहरुमा गरिएको अध्ययनले दोश्रो भाषाका कारण उनीहरुको वोल्ने गति र बौद्धिक स्तरमा सुधार आएको पाइयो।
यस अघिको अध्ययनले दुइ भाषामा दखल राखे विर्सने रोग डिमेन्सिया शुरु हुने समयलाई ढिला गरिदिने वा ढिलो डिमेन्सिया शुरु हुने देखाएको थियो।
'एनल्स अफ न्यूरोलोजी'मा छापिएको यो अध्ययनको सबभन्दा ठूलो प्रश्न चाहिँ दुइ वटा भाषा सिकेका कारण कसैको बोध क्षमता बढेको हो कि या उक्त व्यक्तिको विशेष क्षमताका कारण दुइभाषी हुन सकेको हो भन्ने हो।
चुस्त

तस्बिर स्रोत, Reuters
एडिनबरा विश्वविद्यालयको सेन्टर फर कग्नीटीभ एजीङ एन्ड कग्नीटीभ एपीडेमियोलोजीका डा थोमस बाकले आफुले त्यसको जवाफ पाएको विश्वास गरेका छन्।
उनी भन्छन्, "संसारका दशौं लाख मानिसहरुले दोश्रो भाषामा दक्षता जीवनको पछिल्लो समयतिर हासिल गर्छन्। हाम्रो अध्ययनले बयस्क उमेरमा दुइभाषी बन्नुले पनि उमेर बढ्दै जाने मस्तिष्कलाई चुस्त राख्न सहयोग पुर्याउन सक्छ।"
एडिनबरामा जन्मेका २६२ जनाको एघार वर्ष उमेर हुँदाको उनीहरुको बौद्धिक क्षमता परिक्षण 'इन्टेलिजेन्स टेष्ट'बाट प्राप्त तथ्यांक र उनीहरु ७० वर्ष उमेर पुग्दाको बौद्धिक क्षमतामाथि अध्ययन गरिएको थियो।
अनुसन्धान सन २००८ र २०१०मा गरिएको थियो।
सबै सहभागीले उनीहरुले अंग्रेजी बाहेक दोश्रो कुनै भाषामा पनि कुराकानी गर्न सक्ने बताएका थिए।

त्यो समुहका १९५ जनाले १८ वर्ष उमेर पुग्नु अघि नै दोश्रो भाषा सिकेका थिए भने ६५ जनाले १८ वर्ष पछि।
बौद्धिक क्षमता
उनीहरुमा गरिएको परिक्षणले दुइ वा त्यो भन्दा बढि भाषा बोल्नेहरुको बौद्धिक क्षमता बढता भएको पाइयो।
मुख्य प्रभावकारी असर चाहिँ उनीहरुको बुद्धिमता र पढने गतिमा देखियो।
जीवनको शूरुवाती चरण होस या पछि दुवैलाई दोश्रो भाषाले सकारात्मक असर पारेको पाइयो।
यसले बृद्ध हुँदै जाने मस्तिष्कमा पनि सकारात्मक असर पार्छ कि पार्दैन या दोश्रो भाषा सिके मात्रै पुग्छ कि सक्रिय रुपमा यसको प्रयोग भइरहनुपर्छ भन्ने जस्ता थुप्रै प्रश्नहरु भने यो अध्ययनले जन्माएको डा थोमसले स्वीकारे।
अमेरिकाको बोस्टनस्थित हार्भर्ड मेडिकल स्कूलका डा एलभ्यारो पास्कर लीओनले भने, यो अध्ययनले उमेर बढ्दै जाने मस्तिष्कमा दोश्रो भाषाको असरबारे महत्वपूर्ण पहिलो चरण भएपनि बौद्धिक क्षमता ह्रास आउनबाट बचाउने उपाय खोज्ने प्रयत्न गर्न यसमा थप अध्ययन आवश्यक छ।








