कोभिड-१९: भाइरसहरू कसरी प्रयोगशालाबाट चुहिन सक्छन्?

तस्बिर स्रोत, Reuters
चेतावनी - यस सामग्रीमा तपाईँलाई विचलित पार्न सक्ने तस्बिरहरू छन्
कोभिड-१९ चिनियाँ सरकार नियन्त्रित प्रयोगशालाबाट सुरु भएको भन्ने पछिल्लो अमेरिकी दाबीले महामारीको सुरुवातबारे ताजा प्रश्नहरू उठाएको छ जुन पहिलो पटक तीन वर्षअघि पनि संसारभर उठेका थिए।
सन् २०१८ देखि सन् २०२१ बीचमा अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रहेका डा. रोबर्ट रेडफिल्डले एक अमेरिकी संसदीय समितिसँग बोल्ने क्रममा कोभिड-१९ चीनको प्रयोगशालाबाट दुर्घटनावश चुहिएको आफूले ठानेको बताएका छन्।
उनको दृष्टिकोण सङ्घीय जाँच ब्यूरो एफबीआईका प्रमुख क्रिस्टोफर रेसँग मिल्न आउँछ।
उनले अमेरिकी टेलिभिजन फक्स न्यूजलाई "एफबीआईले केही समयदेखि महामारीको सुरुवातबारे मूल्याङ्कन गरिरहेको र त्यो सम्भावित प्रयोगशालाको घटनाजस्तो देखिएको" बताएका थिए।
कैयौँ वैज्ञानिकहरूले त्यो प्रयोगशालाबाट चुहिएको भन्नेमा प्रमाण नरहेको बताउँछन् तर अन्य अमेरिकी निकायका निष्कर्ष भिन्न देखिन्छन्।
त्यसैले प्रकोपको सुरुवातबारे एकमत देखिँदैन। अमेरिकी सरकारभित्रैसमेत त्यस्तो अवस्था देखिन्छ।
तर प्रयोगशालाबाट भाइरस चुहिने कति सहज कुरा हो? के त्यस्तो विगतमा भएको छ?
घातक प्रकोप
हो - विगतमा पनि घातक भाइरसहरू दुर्घटनावश मुख्य सहरबीचमा रहेका प्रयोगशालाबाट चुहिएका छन्।
र त्यसरी चुहिएकोमा सम्भवतः बिफरभन्दा खतरनाक अरू भएका छैनन्।
सन् १९७७ मा निर्मूल पारिनुअघि यसले २०औँ शताब्दीमा मात्र ३० करोड मानिसहरूको ज्यान लिएको ठानिन्छ।
युनिभर्सिटी अफ बर्मिङ्घममा सन् १९७८ मा एकजना ४० वर्षीय मेडिकल फोटोग्राफर ज्यानेट पार्करले झेलेको त्रासले पनि यस रोगको व्याख्या गर्छ।
"यो निर्मूल भइसकेको रोग थियो; बर्मिङ्घममा मात्र अत्यास भएन, सरकार र विश्व स्वास्थ्य सङ्घठन डब्ल्यूएचओमा त्यो फेरि देखा परेकोमा चिन्ता उत्पन्न भयो," प्राध्यापक अलस्डेर गेडिस भन्छन्।
उनी उक्त प्रकोप फैलिएका बेला इस्ट बर्मिङ्घम अस्पतालमा सङ्क्रामक रोगहरूबारे परामर्शदाताका रूपमा थिए।
सङ्क्रमितमध्ये झण्डै एकतिहाइको ज्यान जाने त्यस सङ्क्रामक रोगबारे उक्त विश्वविद्यालयको प्रयोगशालामा अनुसन्धान भइरहेको थियो।

तस्बिर स्रोत, Getty Images
पार्कर कसरी बिफरको सङ्क्रमणमा आइन् भन्ने कुराको जवाफ कहिल्यै पूर्ण रूपबाट आएन।
एक सरकारी प्रतिवेदनका अनुसार उक्त भाइरसको सङ्क्रमण हावा, व्यक्तिगत संसर्ग वा सङ्क्रमित वस्तुमध्ये एक माध्यमबाट हुन्छ।
एकान्तवास र क्वारिन्टिन उपायहरूका कारण पार्कबाहेक त्यसबाट सङ्क्रमित हुने अर्की व्यक्ति उनकी आमा बनिन्।
पार्करको मृत्यु भयो भने उनकी आमा मध्यमखाले सङ्क्रमणपश्चात् निको भइन्।
तर त्यस प्रकोपमा थप दुईजनाले ज्यान गुमाए।
उनका बुवा फ्रेडरिक, ७७ ले हृदयाघातजस्तो लाग्ने अवस्थाबाट क्वारिन्टिनमा ज्यान गुमाए जसलाई छोरीको रोगका कारण चिन्ताले त्यस्तो अवस्था आएको समेत ठानिन्छ।
बर्मिङ्घमको बिफर प्रयोगशालाको नेतृत्व गर्ने प्राध्यापक हेनरी बेडसनले आत्महत्या गरे।
अधिकतम सुरक्षा

तस्बिर स्रोत, Getty Images
त्यस घटनापछि अधिकारीहरूले अर्को प्रयोगशालामा हुनसक्ने चुहावटको पुनर्मुल्याङ्कन गरे र भाइरस राखिएका अन्य स्थानहरू घटाइए।
सन् १९७९ को डब्ल्यूएचओ सम्झौता अनुसार औपचारिक रूपमा जीवित बिफर भण्डारण गरिएका ठाउँ एट्लान्टा, अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) र साइबेरिया, रुसको भेक्टर ल्याब थिए।
ती प्रयोगशालाहरू उत्कृष्ट र विश्वमै सबैभन्दा सुरक्षित रहेकाले चयन गरिएको थियो। तर तिनलेसमेत आफ्नैखाले सजग गराउने घटना सामना गरे।
सन् २०१४ मा सीडीसीका कर्मचारीहरूले परीक्षण गरिएका एन्थ्राक्सका नमुनालाई राम्रोसँग निष्क्रिय पार्न विफल भएका थिए।
जसले गर्दा त्यसले दर्जनौँ मानिसहरूलाई जोखिममा पारेको थियो। यद्यपि ती कोही सङ्क्रमित भने भएनन्।
सन् २०१९ मा भेक्टर ल्याबमा भएको एक ग्यास विस्फोटनले एक भवनको झ्याल खसालिदिँदा सघन स्याहारका एक कर्मचारी गम्भीर रूपमा जलेका थिए।
यद्यपि उक्त दुर्घटनाका कारण कुनै जैविक सङ्क्रमण देखा नपरेको अधिकारीहरू बताउँछन्।
घातक त्रुटी

तस्बिर स्रोत, Getty Images
उच्च सुरक्षा व्यवस्था गरिएका प्रयोगशालामा भएका अन्य घटनाको असर नजिकै रहेका कर्मचारी र मानिसहरू सङ्क्रमित हुन पुगेको पाइन्छ।
फ्रान्समा एकजना वैज्ञानिकले आफूलाई एक उपकरणले काटेपछि त्यसको दश वर्षपछि ज्यान गुमाइन्। र त्यसपछि फ्रान्सका त्यस्ता केन्द्रमा सुरक्षा व्यवस्था कडा पारियो।
एमिली जुमइनको सन् २०१९ मा ३३ वर्षको उमेरमा निधन भयो। झण्डै एक दशकअघि उनी प्राइओन्स भनिने सङ्क्रमित प्रोटिनको संसर्गमा पुगेकी थिइन्।
त्यसले जनावरमा बीएसई र मानिसमा सीजेडी रोग निम्त्याउँछ।
उनी त्यसबाट सङ्क्रमित भएको हुनसक्ने कुरा थाहा हुँदाहुँदै पनि खोप वा रोग निदानका लागि कुनै विधि थिएन।
उत्तर पश्चिमी चीनस्थित लान्झाउको एक वायोफार्मासुटिकल प्लान्टमा देखा परेका त्रुटिहरूले १०,००० भन्दा धेरै मानिसहरूलाई खतरनाक प्रकारको प्याथोजीनबाट सङ्क्रमित गरायो।
जनावरका लागि ब्रुसेला ब्याक्टेरियाविरुद्धको खोप बनाउने केन्द्रमा म्याद नाघेका किटनाशकहरू त्यहाँबाट निस्कने ग्यासहरूको प्रशोधनका लागि प्रयोग गरिएका थिए।
त्यसकारण उक्त भाइरस नजिकैको अध्ययन संस्थानमा फैलँदै पछि सहरका थप हजारौँ मानिससम्म पुग्यो।
कमै घातक रहेको त्यसले फ्लुजस्ता लक्षण देखायो जसले दीर्घकालीन समस्याहरू सिर्जना गराउन सक्थ्यो।
र त्यसलाई अमेरिका र सोभियत सङ्घले शीतयुद्धका बेला जैविक हतियार बनाउन प्रयोग गरेका थिए।
हजारौँ मानिसहरूलाई चिकित्सकीय स्याहार र क्षतिपूर्तिस्वरूप पैसा दिइएको थियो।
यी घटनाहरू मौलिक घटना होइनन् र कैयौँ अन्य त्रुटिहरूले प्रयोगशालाका कर्मचारी र नजिकै बस्नेहरूलाई सङ्क्रमित बनाएका छन्।
रहस्यमयी चुहावट
प्रयोगशालाबाट रोगहरू चुहिए तापनि त्यसको कारण कहिल्यै थाहा नभएका घटनाहरूसमेत छन्।
सन् २०२१ मा ताइवानको ताइपेईस्थित एक केन्द्रमा एकजना कर्मचारी भाइरससँग काम गर्नेक्रममा कोभिड-१९ बाट सङ्क्रमित भए।
एक अनुसन्धानका अनुसार प्रयोगशालाको निगरानी 'पर्याप्त रूपमा बलियो थिएन' तर के कारण त्यस्तो त्रुटि भयो भन्ने चाहिँ कहिल्यै थाहा हुन सकेन।
प्रयोगशालामा श्वास लिने क्रममा वा त्यहाँ सुरक्षित भएर काम गर्ने उपकरणसहित तरिकाले ननिकाल्दा त्यसो भएको हुनसक्ने अनुमान गरियो।
प्रयोगशालाहरूमा रहस्यमयी ढङ्गका चुहावटहरू निश्चितरूपमा भइरहन्छन्।
तर विश्वव्यापी महामारीको रूप लिएको चीनबाट सुरु भएको कोभिड-१९ को प्रारम्भिक प्रकोपको स्रोत प्रयोगशालाको चुहावट थियो, वा प्राकृतिक रूपमा जङ्गली जनावरबाट सरेर भएको हो भन्नेबारे कुनै ठोस निचोड निकाल्न बाँकी नै छ।











