ऋषि सुनक: विश्व नेताहरूद्वारा यूकेमा नयाँ बन्ने प्रधानमन्त्रीको स्वागत

तस्बिर स्रोत, Getty Images
नयाँ ब्रिटिश प्रधानमन्त्रीको प्रतिस्पर्धामा ऋषि सुनकले हासिल गरेको जितलाई लिएर विश्व नेताहरूले प्रतिक्रिया जनाइरहेका छन्।
धेरैले उनलाई बधाई दिँदै पछिल्ला केही "अस्तव्यस्त" साताको पृष्ठभूमिमा स्थिरताको आशा व्यक्त गरेका छन्।
भारत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् लेखका छन्, "तपाईँ प्रधानमन्त्री बनिरहँदा म विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप २०३० को कार्यान्वयन गर्न खोजिरहेको छु।"
मोदीले उक्त ट्वीटमा दुई देशबीच अड्किरहेको एउटा सम्झौताको सन्दर्भ उठाएका छन्।
भारत र यूकेले एउटा खुला व्यापार सम्झौता गर्न खोजिरहेका छन्।
तर खबरहरूमा जनाइए अनुसार सुनकको कन्जर्भेटिभ दलभित्र त्यसले झन् आप्रवासन बढाउने चिन्ताले त्यो अगाडि बढ्न नसकिरहेको बताइन्छ।
"हाम्रो ऐतिहासिक सम्बन्धलाई आधुनिक सहकार्यमा रूपान्तरण गरिरहँदा जीवित सेतुका रूपमा रहेका यूकेका भारतीयमा विशेष दिवालीको शुभकामना।"

तस्बिर स्रोत, Getty Images
सुनकको नियुक्तिको विषय भारतमा तारम्तारको खबरसहित ठूलो समाचार बनेको छ।
एउटा च्यानलले यसरी प्रस्तुत गरेको छ, "साम्राज्यमा भारतीय छोरा छाएको छ, ब्रिटेनमा इतिहासले पूरा चक्र पार गरेको छ।"
सुनकका हजुरबुवा-हजुरआमा पन्जाबका हुने भने उनका ससुरा नारायण मुर्ति इन्फोसिसका संस्थापक हुनुका साथै भारतका एक निकै चर्चित व्यापारी हुन्।
सुनक हिन्दू समेत हुन् जसले सांसदको शपथ हिन्दुग्रन्थ भागवत गीता छोएर लिएका थिए।
युरोपेली सङ्घ
युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिशेलले "साझा चुनौतीहरूसँग जुझ्ने एकमात्र बाटो भनेको सहकार्य हुने" जनाउँदै "स्थिरता ल्याउनु नै तिनलाई जित्ने साँचो भएको" बताएका छन्।
ऋषि सुनक युरोपेली सङ्घ ईयूबाट ब्रिटेनको बहिर्गमन ब्रेक्जिट समर्थक हुन्।

तस्बिर स्रोत, Getty Images
हाम्री युरोप सम्पादक कात्या एड्लरका भनाइमा धेरै ईयू नेताहरू प्रधानमन्त्री बन्ने व्यक्ति बोरिस जोनसन नभई सुनक भएको केही चैन भने देखिन्छन्।
सुनक व्यवहारिक नेताका रूपमा हेरिन्छन्।
र ईयू नेताहरू बढ्दो ऊर्जा मूल्य र नर्दन आयरल्यान्डका नियमबारेका कठिन मुद्दामा उनीसँग काम गर्न इच्छुक देखिन्छन्।
एउटा महत्त्वपूर्ण व्यापार मुद्दाको रूपमा रहेको नर्दन आयरल्याण्ड सम्बन्धी सम्झौता ब्रेक्जिट वार्ताका क्रममा थाती राखिएको थियो।
अगस्ट महिनामा भएको पछिल्लो नेतृत्व प्रतिस्पर्धामा सुनकले ईयूसँगको व्यापार युद्ध यूकेको स्वार्थमा नरहेको बताएका थिए।
तर सम्झौतामा पुग्ने काम भने उनका लागि राजनीतिक रूपमा कठिन हुनसक्छ।
आयरल्याण्ड
आइरिस प्रधानमन्त्री माइकल मार्टिनले "आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्त्वपूर्ण मुद्दामा" सुनकसँग सहकार्य गर्न चाहेको बताएका छन्।
आइरिस टाइम्स पत्रिकाले सुनकको "विवेकपूर्ण राजनीति"को पहिचान रहेको भन्दै स्वागत गरेको छ।

तस्बिर स्रोत, Getty Images
तर खासगरी ब्रेक्जिटसहितका बिषयमा उनले चुनौतीहरू खेप्ने उक्त पत्रिकाले लेखेको छ।
जसमा सुनकको जित नर्दन आयरल्याण्ड सम्बन्धी नियमहरूका लागि कस्तो अर्थ राख्छ भन्ने अझै स्पष्ट नभएको जनाइएको छ।
आइरिस इन्डिपेन्डेन्ट पत्रिकाले ट्रसको "मूर्खतापूर्ण" कर कटौतीपछि नयाँ प्रधानमन्त्री "दोषमुक्त" भएको जनाएको छ।
नर्दन आयरल्याण्डसम्बन्धी नियमहरू अझै टुङ्गो नलाग्दा ब्रेक्जिट यतिखेर यूके र आयरल्याण्डबीचको मुख्य मुद्दाको रूपमा छ।
हाल ब्रिटेनबाट आयात गरिने सामानहरू नर्दन आयरल्याण्ड प्रवेश गर्नुअघि जाँच गरिन्छन्।
तर यूके सरकारले यसअघि दुईवटा प्रणाली हुने र आयरल्याण्डतर्फ जाने सामानमा मात्र जाँचहरू हुने भनेको थियो।
अमेरिका
ह्वाइटहाउसमा दीपावली मनाउने क्रममा राष्ट्रपति जो बाइडनले सुनक यूकेको भावी प्रधानमन्त्री हुने विषयलाई "अभूतपूर्व क्षण" बताएका छन्।
राष्ट्रपतिले उनलाई औपचारिक बधाई भने दिइसकेका छैनन्।

तस्बिर स्रोत, AFP
सुनकले राजा चार्ल्सलाई भेटेर उनीबाट सरकार बनाउने आग्रह नपाउँदासम्मका लागि प्रोटोकलहरूका आधारमा त्यसलाई थाती राखिएको छ।
न्यूयोर्क टाइम्स पत्रिकाले पछिल्ला वर्षहरूमा कन्जर्भेटिभहरूले "प्रतिनिधित्वको कीर्तिमान" विकास गरेको भन्दै सुनकको जित महिला र रङ्गका व्यक्तिहरूलाई महत्त्वपूर्ण पदमा पुर्याउने इतिहासमा अर्को एउटा विशेष क्षण रहेको जनाएको छ।
वासिङ्टन पोष्ट पत्रिकाले "इतिहासमा पहिलोपटक डाउनिङ स्ट्रीटमा बस्नेहरू बकिङ्घम दरबारमा बस्नेभन्दा धेरै धनी भएको" लेखेको छ।
जो बाइडनले यसअघि नै लिज ट्रसको ठाउँमा जोसुकै आए तापनि "निकट सम्बन्ध" राख्ने बताएका थिए।
उनले ट्रसले अगाडी बढाउन नसकेको कर कटौतीको योजनालाई "गल्ती" भनेका थिए।
आफ्ना साझेदारको आन्तरिक राजनीतिमा प्रतिक्रिया जनाउन नखोज्ने अमेरिकी राष्ट्रपतिको त्यस्तो अभिव्यक्तिले धेरैलाई सजग गराएको थियो।
युक्रेन
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुनकको जितबारे अझै प्रतिक्रिया जनाइसकेका छैनन्।
युक्रेनको संसदका प्रथम सहअध्यक्ष ओेलेकसान्ड कोर्निन्कोले सुनकलाई "सहकर्मी" भन्दै स्वागत गरेका छन्।

तस्बिर स्रोत, Getty Images
उनले थपेका छन्, "ग्रेट ब्रिटेनका मानिसहरूलाई पुन: राजनीतिक स्थिरता प्राप्त गरेकोमा बधाई।
सुनकको नेतृत्वमा यूकेको युक्रेनप्रतिको नीति परिवर्तन हुनेछैन।
अघिल्लो नेतृत्व प्रतिस्पर्धामा उनले युक्रेनलाई साथ दिने काम जारी राखिने र किएभमा सुरुवाती भ्रमण गरिने जनाएका थिए।
तर लिज ट्रसले सन् २०३० भित्र रक्षा खर्च कुल गार्हस्त उत्पादनको २ देखि ३ प्रतिशतले वृद्धि गर्ने बताइरहँदा सुनकले त्यो 'योजना होइन' भन्दै स्वेच्छाचारी हुने बताएका थिए।








