पोखरा पर्यटन: जलकुम्भीको विस्तारले फेवातालको बेहाल

- Author, नारायण कार्की
- Role, पोखरा
माछापुच्छ्रे डुबुल्की मारेको मनमोहक दृश्य देख्न पाइने फेवाताललाई कुरुप बनाउने गरी जलकुम्भी झारले तालमा कहिलेदेखि प्रवेश पायो भनेर ठ्याक्कै भन्न नसके पनि जानकारहरू करिब चार दशकअघिदेखि यो झार तालमा देखिन थालेको सम्झन्छन्।
फुल्दा सुन्दर देखिएर तालको सौन्दर्य थप बढ्छ कि भनी मानिसले ल्याएर छाडेको होस् वा फिरन्ते चराहरूले बिस्ट्याएर तालमा प्रवेश पाएको होस् जलकुम्भी आज पोखरेलीहरूको टाउको दुखाइको विषय बनेको छ।
फेवातालमा मात्र होइन पोखरा उपत्यकाका अरू दुई ठूला ताल बेगनास र रुपामा पनि जलकुम्भी फैलँदैछ तथापि ती दुई तालमा फेवातालमा जस्तो जलकुम्भीको विस्तार मानवीय काबु बाहिर गएको अवस्था भने छैन।
जलकुम्भी उत्पादनको कारखाना सिमसार क्षेत्र
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार फेवामा जलकुम्भी उत्पादनको कारखाना तालको माथिल्लो भेगको सिमसार क्षेत्र हो।
जलाधार क्षेत्रबाट बर्सेनि आउने ढुङ्गा र गेग्रानले तालको आकार घटेर सिमसार क्षेत्रमा परिणत भएको मात्र होइन ससाना ताल पनि विकसित भएका छन् र त्यहाँ जलकुम्भी मौलाउने र फैलने अवसर पाएको उनी बताउँछन्।
बैदाम निवासी नागरिक समाज कास्कीका पूर्वअध्यक्ष विष्णुहरि अधिकारीको विचारमा वर्षामा त पानी र हावाले बगाएर तैरँदै आएको जलकुम्भीको 'जङ्गल'लाई व्यवस्थापन गर्ने मात्र हो।
जलकुम्भीको नियन्त्रणका लागि हिउँदका दिनमा तालको मुहान र सिमसार क्षेत्रमा यसका बीउ र बिरुवा नष्ट गर्नुको विकल्प नभएको उनको मत छ।
हिउँदमा तालको मुहान क्षेत्रमा त्यसरी काम गरिएका वर्ष मुख्य ताल क्षेत्रमा जलकुम्भी कमै आउने स्थानीयवासीको अनुभव छ।
कोभिड-१९ का कारण तालको मुहान क्षेत्रमा दुई वर्ष काम हुन नसक्दा यसपालि विकराल समस्याका रूपमा देखा परेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष ग्यानु जलारी बताउँछन्।

माछा र डुङ्गा व्यवसायलाई चुनौती
फेवातालमा पिँजडामा माछा पालेर तथा तालमा माछा मारेर जीविका चलाउने परिवारको सङ्ख्या १०० जति छ।
तर ताल पुरिने क्रम बढेर पिँजडामा माछा पाल्ने चलन लगभग समाप्त भएको छ।
अर्कोतर्फ तालमा जलकुम्भी यत्रतत्र फैलिएपछि जाल थापेर माछा मार्न पनि समस्या भएको जलारीको दुखेसो छ।
डुङ्गा चलाएर गुजारा चलाउने व्यवसायीलाई पनि जलकुम्भीका ठूलठूला जालो छिचोल्न नसक्दा स्वतन्त्र रूपमा डुङ्गा चलाउन समस्या खडा भएको छ।
पोखरा महानगरपालिकाले एक्वाटिक प्लाण्ट हार्भेष्टिङ मेसिन आयात गरेर जलकुम्भी झार नियन्त्रणमा ल्याउने प्रयास गरे पनि मेसिनको क्षमता कम भएका कारण प्रभावकारी हुन सकेन।
जलकुम्भी नियन्त्रणको उपाय
विज्ञहरू जलकुम्भी र त्यससँगै हुर्किएका अन्य झारहरू फेवातालमा किन मौलाए भन्ने कारण खोतलेर तदनुरूप नियन्त्रणका उपाय खोजिनुपर्नेमा जोड दिन्छन्।
तालको पानीमा नाइट्रोजन र फोस्फरसको मात्रा बढ्नुले जलकुम्भी बढ्ने र फैलने अनुकूल वातावरण दिएको कृषि तथा वातावरण विज्ञ डा. अनिल सुवेदीले बताए।
उनका अनुसार तालमा यी पदार्थ बढ्नुका धेरै कारणहरू छन्।
फेवातालको जलाधार क्षेत्र र तालको माथिल्लो क्षेत्र फेवा फाँटमा खेतीपाती गर्दा रासायनिक मल प्रयोग हुनु, शहरी क्षेत्रको ढल र सेती नहर फेवातालमा मिसिनु यसका प्रमुख कारण भएको बताइन्छ।

नियन्त्रणका लागि महानगरको प्रयास
पछिल्लो समयमा दशैँमा लामो झरी परी मुहान क्षेत्रबाट बगेर आएको जलकुम्भीले तालको मुख्य भाग नै ढपक्कै ढाकेपछि पोखरा महानगरपालिकाले बृहत सफाइ अभियान नै सञ्चालन गरी दर्जनौँ ट्रक जलकुम्भी निकाल्यो।
विगतका वर्षहरूमा पनि नियन्त्रणको प्रयास नभएको होइन तर समस्या भने बर्सेनि विकराल बन्दै गएको बताइन्छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एउटा स्थायी संयन्त्र नै बनाएर यसलाई नियन्त्रणमा ल्याउने प्रयास गर्ने बताएका छन्।
जलकुंभीबाट मल, बायोग्यास, पशुआहार, ब्रिकेट, डोरी, फेसन डिजाइनका सामग्री बनाएर प्रयोगमा ल्याउन सकिने विदेशी अनुभव छ।
त्यसतर्फ पनि काम गर्न सकिने विज्ञ सुवेदी बताउँछन्।
फेवाताल बिनाको पोखराको पर्यटनको कल्पना पनि गर्न नसकिने हुँदा तालको संरक्षणकालागि सरकारी र जनस्तरबाट पनि चासो दिनुपर्ने पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई जोड दिन्छन्।
सिँचाइ तथा विद्युत उत्पादनमा पनि तालको योगदान छ।
पोखराको सर्वतोमुखी विकासमा योगदान पुर्याएको फेवा तालको अहिलेको बेहाल रोक्न ढिला हुन लागिसकेको यथार्थलाई आत्मसात गर्नु आजको आवश्यकता भएको सरोकारवालाहरू बताउँछन्।









