'मिचाहा' वनस्पतिको मारमा वन्यजन्तु

Rhino

तस्बिर स्रोत, NTNC/Naresh Subedi

तस्बिरको क्याप्शन, डेढ वर्षअघि सरकारले मिचाहा प्रजाति नियन्त्रणका लागि राष्ट्रिय रणनीतिको मस्यौदा तयार पारेको भए तापनि त्यो अहिले वन तथा वातावरण मन्त्रालयमै अल्झिरहेको अधिकारीहरूले बताएका छन्।

गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको विवरण आइरहँदा संरक्षण अधिकारी तथा विज्ञहरूले कतिपय घटनामा त्यसको एउटा प्रमुख कारण लहरे वनमाराजस्ता मिचाहा प्रजातिले उनीहरूको वासस्थानमा परिवर्तन ल्याएकोलाई औंल्याएका छन्।

तराईका संरक्षण क्षेत्रमा मिचाहा प्रजातिको अतिक्रमणबारे चर्चा हुन थालेको झण्डै दुई दशक पुग्न थाले तापनि यसबारे व्यवस्थित अध्ययन भने हुन सकेको छैन।

डेढ वर्षअघि सरकारले मिचाहा प्रजाति नियन्त्रणका लागि राष्ट्रिय रणनीतिको मस्यौदा तयार पारेको थियो। तर त्यो अहिले वन तथा वातावरण मन्त्रालयमै अल्झिरहेको अधिकारीहरूले बताएका छन्।

अतिक्रमण

वनमारा अर्थात् माइकानिया माइक्रान्टाको हालीमुहाली चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले समेत सहजै अनुभव गर्छन्।

वनमाराका लहराले झाँगिएको नदी तटिय क्षेत्रको घाँसे मैदान र ओसिलो भूभाग खासगरि गैंडा, हात्ती, र मृगजस्ता वनस्पतिमा निर्भर जंगली जनावरहरू बस्ने बासस्थल समेत हो।

त्यहीं मृगजस्ता चित्तल प्रजातिको शिकार गर्ने बाघहरू समेत बस्छन्।

वनमाराले उनीहरूको चरण क्षेत्र ढाकिदिएर आहाराको लागि निर्भर रहने ठाउँमा परिवर्तन ल्याईदिंदा जनावरहरूको आवतजावत र बसोवासको क्षेत्र साँघुरिँदै गएको बताइन्छ। मिचाहा प्रजातिका अधिकांश वनस्पति जनावरहरूका लागि खान योग्य मानिंदैनन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण विज्ञ नरेश सुवेदी भन्छन्, "मिचाहा झारकै कारणले एक सयवटा बस्न सक्ने ठाउँमा अहिले ६६ वटाभन्दा बढी जनावरहरू बस्न सक्दैनन्। गैंडा मात्र नभएर मृग प्रजातिहरूमा समेत असर परेपछि बाघको आहारामा समेत असर परेको देखिन्छ।"

'छैन अध्ययन'

वासस्थान फेरबदल गर्ने क्रममा गैंडाहरू एकआपसमा जुध्ने अवस्थाहरू समेत पाइएका छन्।

Invasive species

तस्बिर स्रोत, NTNC/Naresh Subedi

ससाना पोखरीहरूमा जलकुम्भी भनिने अर्को मिचाहा प्रजातिले समेत संकट थपिरहेको बताइन्छ।

बिउ, फूल र हाँगाबाट समेत फैलने भएकाले वनमारा निर्मुल गर्न जैविक अध्ययन आवश्यक पर्ने विज्ञहरू बताउँछन्।

त्यस्ता जैविक उपाय अन्यत्रको हुबहु सार्न नसकिने हुँदा यहीँको परिवेशमा अध्ययन गर्नुपर्ने उनीहरूको मत छ।

हालको दोधारबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल भन्छन्, "काटेर, उखालेर फ्याँक्दा पनि भएन। यसबारे अध्ययन गर्नुपर्छ भन्ने कुरा उठिराखेको छ। तर अहिले नै ठ्याक्क यही उपायले काम गर्छ भन्ने हामीलाई थाहा छैन।"

भविष्य

नेपालमा लहरे वनमारा, सेतो वनमारा, तुल्सीझार, वनफाँडा, जलकुम्भीजस्ता एक दर्जनभन्दा बढी मिचाहा प्रजाति विभिन्न ठाउँमा फैलिरहेको पाइन्छन्।

यस्ता प्रजातिहरूको असर यहाँका अन्नबालीमा समेत पाइएका छन्।

वनमाराजस्ता प्रजाति केहीवर्ष अघिसम्म नारायणी नदीभन्दा पूर्वतर्फ मात्र पाइनेमा अहिले दाङसम्म पाइन थालेका छन्।

यसबारे गम्भीर कदम चाल्न ढिलो भइसकेको बताउँछन् त्रिभुवन विश्वविद्यालको केन्द्रिय वनस्पति विभागका सहप्राध्यापक भरतबाबु श्रेष्ठ, "सुरूको अवस्थामा नियन्त्रण गर्न सके मात्र काम हुन्छ। नत्र पछि जति खर्च गरेपनि यसलाई नियन्त्रण गर्न सकिन्न।"

अहिलेसम्म पश्चिम नेपालमा दुईवटा मुख्य मिचाहा प्रजाति छैनन् तर ती त्यहाँ फैलने क्रममा छन्।

यस्ता पराई मिचाहा प्रजातिसँग जुझ्न जैविक अध्ययनसँगै सर्वसाधारणमा यसको पहिचान गर्न र यताउती लैजानबाट रोक्न सचेतना जगाउन समेत आवश्यक रहेको विज्ञहरू बताउँछन्।