नेपाल निर्वाचन: प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचनतर्फ साढे पाँच हजारभन्दा बढीले प्रतिस्पर्धा गर्ने

तस्बिर स्रोत, EC Nepal
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।
निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २,४१२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन्।
त्यसमध्ये २,१८७ जना पुरुष र २२५ जना महिला रहेका छन्। यो बुधवार साँझ ८ बजेसम्म यकिन गरिएको देशैभरिको विवरण भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए।
उनले भने, "यो प्रारम्भिक विवरण हो। त्यसैले यसमा एकाध विवरण घटबढ पनि हुनसक्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार गत आइतवार दशैभरि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि उम्मेदवारी दर्ता भएको थियो।
प्रदेशसभामा कतिको प्रतिस्पर्धा?
भुसालले दिएको जानकारी अनुसार देशका सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३,२२४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

तस्बिर स्रोत, Getty Images
त्यसमध्ये २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन्। त्यस्तै प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान 'अन्य' भनेर चिनाउने एकजनाले पनि उम्मेदवारी दिएका छन्।
देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।
गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो।
१२.५%पहिलो संविधानसभा निर्वाचन २०६४
४.१६%दोस्रो संविधानसभा निर्वाचन २०७०
३.६%गणतान्त्रिक नेपालको सङ्घीय संसदको पहिलो आमनिर्वाचन २०७४
प्रदेशसभामा पनि विभिन्न दलहरूका साथै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
चुनाव चिह्न प्रदान
निर्वाचन आयोगका अनुसार देशैभरिका उम्मेदवारहरूले बुधवारै आफ्नो चुनाव चिह्न पनि पाएका छन्।
दलगत उम्मेदवारहरूले दलको चुनाव चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरूले अन्य चुनाव चिह्न पाएको आयोगले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
प्रत्यक्षतर्फ हुने निर्वाचनमा अब उम्मेदवारहरूले आफूले पाएको चिह्नमा चुनाव लड्नेछन्।
आयोगका अनुसार गत आइतवार सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि कुल २,५२६ को उम्मेदवारी परेको थियो।
त्यस्तै सातवटा प्रदेश सभाका प्रत्यक्षतर्फका लागि ३,४७६ उम्मेदवारी परेको थियो।
त्यसरी सुरुमा दर्ता गरिएकामध्ये कतिपय उम्मेदवारको उम्मेदवारी उजुरीपछि खारेज भएको छ भने कतिपयले आफैँले उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगले समानुपातिकको प्रतिनिधिसभाका कुल ११० सदस्य र प्रदेशसभातर्फका कुल २२० सदस्यका लागि दलहरूले बुझाएको बन्द सूची यसअघि नै सार्वजनिक गरिसकेको छ।
बिहीवारबाट मतपत्र छापिने
निर्वाचन आयोगका सहायक प्रवक्ता भुसालका अनुसार आयोगले बिहीवारदेखि मतपत्र छाप्न सुरु गर्नेछ।
बीबीसीसँग कुरा गर्दै बुधवार साँझ उनले भने, "निर्वाचन कार्यालयहरूबाट उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गर्ने कार्य सम्पन्न भएको छ।"
"अब त्यसको विवरण अनुसार हामी भोलि (बिहीवार) देखि मतपत्र छाप्न थाल्छौँ।"
"जुनजुन जिल्लामा जुनजुन उम्मेदवारले जुनजुन चुनाव चिह्न पाउनु भएको छ, त्यसैका आधारमा हामी मतपत्र छपाइ सुरु गर्छौँ।"
उम्मेदवारको सङ्ख्या, सहभागी दल र स्वतन्त्र उम्मेदवारको विवरण अनुसार विभिन्न क्षेत्रमा मतपत्रमा राखिने चिह्नको सङ्ख्या फरक हुने बताइएको छ।









