युक्रेन युद्ध: किभएसहित धेरै शहरमा भएका रुसी 'निर्मम' हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय जगतद्वारा निन्दा

युक्रेन

तस्बिर स्रोत, Reuters

रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। 

अमेरिकाले ती "निर्मम" हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको छ। 

जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आफू "स्तब्ध"मा परेको बताएका छन्। 

रुसी 'जवाफ'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती हमलाहरू रुस-क्राइमिया जोडिने मुख्य पुलमा शनिवार भएका विस्फोटनको जवाफ बताएका छन्। 

युक्रेनले त्यस घटनामा आफ्नो भूमिकाबारे कुनै पुष्टि गरेको छैन।

युक्रेनका अनुसार ८३ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएकामा ४३ वटालाई निष्क्रिय पारिएको थियो। 

युक्रेन

तस्बिर स्रोत, Getty Images

एउटा भिडिओमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "युक्रेनलाई त्रसित हुन नसक्ने। यो थप एकताबद्ध मात्र हुने" बताएका छन्। 

लभिभ, खार्किभ, डिनिप्रो र जापोरिजामा भएका ती घातक प्रहारहरू युक्रेनले हालैका महिनामा देखेका सबैभन्दा खराबमध्येका हुन्। 

अधिकारीहरूले कम्तीमा १४ जना मानिसहरू मारिएको र २० जनाभन्दा धेरै घाइते भएको जनाएका छन्। 

ऊर्जा सम्बन्धी पूर्वाधारमा क्षेप्यास्त्रहरू प्रहारसँगै कैयौँ क्षेत्रमा विद्युत् र पानीको आपूर्ति रोकिएको छ। 

व्यस्त समयमा हमला

राजधानी किएभका बासिन्दाहरूले सोमवार बिहानको मानिसहरू काममा फर्कने व्यस्त समयमा रुसले नागरिक क्षेत्रहरूमा निशाना गरेको बताएका छन्। 

जसमा बालबालिकाको खेलमैदान, विश्वविद्यालय र एउटा प्रख्यात पार्क समेत छ। 

एन्टोनियो गुटेरसले हमलाहरूलाई "युद्ध चर्काउने अर्को अस्वीकार्य काम" बताउँदै त्यसमा सर्वसाधारणले उच्च मूल्य चुकाएको बताएका छन्। 

युरोपेली सङ्घ ईयूले युद्ध अपराध भएको जनाएको छ। 

अन्तर्राष्ट्रिय निन्दा

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले रुसले आतङ्क र क्रूरताको पक्ष लिएको बताइन्। 

अमेरिकी राष्ट्रपति जो बाइडन भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गर्ने कैयौँ विदेशी नेताहरूमध्ये थिए। 

उनले "युक्रेनलाई विशिष्ट हवाई प्रतिरक्षा प्रणाली सहित आफ्नो प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता दिने काम जारी राखिने बाचा" गरेको ह्वाइटहाउसले जनाएको छ। 

बाइडनले हमलाहरूले पुटिनको "गैरकानुनी युद्ध" को "चरम क्रूरता" देखाएको बताए। 

युद्धको विरोध नगरेका चीन र भारतले तनाव कम गर्न आह्वान गरेका छन्। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य