युक्रेन युद्ध: महिनौँपछि राजधानी किएभसहित कैयौँ क्षेत्रमा रुसको व्यापक आक्रमण

तस्बिर स्रोत, Reuters
किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालीन सेवाहरूले जनाएका छन्।
युक्रेनको आन्तरिक मामिला मन्त्रीका एकजना सहयोगीले बताएअनुसार क्षेप्यास्त्र हमलाका कारण ११ जना मानिसहरूको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्।
युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो।
कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो।
बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्।

तस्बिर स्रोत, Reuters
ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्।
यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो।
सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडिओहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ।
किएभमा रहेका बीबीसी संवाददाता पोल एडम्सका अनुसार हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए।
जेलेन्स्कीको प्रतिक्रिया
सोमवार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रुसले "संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको" युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
टेलिग्राममा लेखिएको एउटा पोस्टमा उनले किएभ, जेपोरिजा र डिनिप्रोमा भएका विस्फोटनलाई जनाउँदै त्यो युक्रेनभरि कम नहुने बताए।
"दुर्भाग्यवश, मानिसहरूको ज्यान जाने र अङ्गभङ्ग हुने काम भइरहेको छ" भन्दै उनले युक्रेनी नागरिकहरूलाई घरमै बस्न भने।
हालसम्म देशको मध्यमा रहेको डिनिप्रो, दक्षिणमा रहेको जेपोरिजा र पश्चिममा रहेको लभिभमा हमलाहरू भएका विवरण आएका छन्।
रुसले के भन्यो?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शनिवार क्राइमियालाई रुससँग जोड्ने एउटा प्रमुख पुलमा गरिएको आक्रमणको बदलामा युक्रेनको राजधानीसहित अन्य क्षेत्रमा व्यापक आक्रमण गरिएको पुष्टि गरेका छन्।
उनले उक्त पुलमा गरिएको आक्रमणलाई आतङ्ककारी कार्य भनेका छन्।
रुसी राष्ट्रपति पुटिनले रुसले युक्रेनको उर्जा, सैन्य र सञ्चार सेवा लक्षित आक्रमण गरिरहेको बताए।
गत शनिवार रुसी कब्जामा रहेको क्राइमियालाई रुससँग जोड्ने एउटा प्रमुख पुलमा आक्रमण भएको थियो।

तस्बिर स्रोत, Getty Images
त्यसलाई पुटिनले "आतङ्कवादी क्रियाकलाप" भन्दै मौन बस्न नसक्ने बताए।
उनले रुसमा थप आक्रमण भए त्यसको पनि कडा जवाफ फर्काउने बताएका छन्।
उक्त पुलमा भएको विस्फोटन आफूले गराएको भनेर युक्रेनले दाबी भने गरेको छैन।
रुसी हमलाको नेटोसहित पश्चिमा शक्तिहरूले निन्दा गरेका छन्।
चीनले पनि युक्रेनमा बढ्दो हिंसा चाँडै कम हुने आशा व्यक्त गरेको छ।
रुसी आक्रमणमा परेका युक्रेनी क्षेत्रमा विद्युत् आपूर्ती पनि बन्द भएको छ।









