रुस युक्रेन युद्ध: बाइडनद्वारा सामरिक परमाणु अस्त्र प्रयोग नगर्न पुटिनलाई चेतावनी

तस्बिर स्रोत, EPA/RUSSIAN DEFENCE MINISTRY PRESS SERVICE
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्रहरू प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन्।
अमेरिकाको सीबीएस न्यूजसँग एक अन्तर्वार्ताका क्रममा बोल्दै बाइडनले त्यस्ता कदमले "दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको रूप देखा पर्ने" बताएका छन्।
त्यस्ता अस्त्रको प्रयोग भएको खण्डमा अमेरिकाले चाल्ने कदमबारे भने उनले केही बोलेनन्।
गत फेब्रुअरीमा युक्रेनमा अतिक्रमण थालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको परमाणु फौजलाई "विशेष" सतर्कतामा राखेका थिए।
उनले प्रतिरक्षा सम्बन्धी प्रमुखहरूलाई पश्चिमा विश्वको "आक्रामक अभिव्यक्तिका" कारण त्यसो गरिएको बताएका थिए।
परमाणु अस्त्रको प्रयोग
परमाणु अस्त्रहरू झण्डै ८० वर्षदेखि अस्तित्वमा छन्।
र धेरै देशहरूले त्यसलाई आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्दै सम्भावित युद्ध रोक्ने रणनीतिक उपायका रूपमा राखेको बताउने गरेका छन्।
रुससँग अनुमानत: झण्डै ५,९७७ वटा परमाणु युद्ध शीर्ष रहेको फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्सले जनाएको छ।
यद्यपि उसले त्यस्ता अस्त्रहरू प्रयोग गर्न चाहेको देखिँदैन।
सामरिक परमाणु अस्त्रहरू तुलनात्मक रूपमा छोटो दूरीमा प्रयोग हुने खालका हुन्छन्।
जबकि रणनीतिक परमाणु अस्त्रहरू निकै लामो दूरीमा प्रयोग हुन्छ र त्यसले पूर्ण आकारको परमाणु युद्ध हुने त्रास सिर्जना गर्छ।
बाइडनले थप के भने?
सीबीएसको 'सिक्स्टी मिनट्स' कार्यक्रमका संवाददाता स्कट पेलीसँगको एक अन्तर्वार्ताको क्रममा राष्ट्रपति बाइडनलाई यदि पुटिनले युक्रेनमा आम विनाशकारी अस्त्र प्रयोग गर्ने सोचिरहेको भए के गर्नुहुन्छ भनी सोधेका थिए।
"नगर्नुस्, नगर्नुस्, नगर्नुस्," बाइडनले भने।
त्यसपछि बाइडनलाई पुटिनले त्यस्तो सीमा नाघेमा कस्तो नतिजा हुनसक्छ भनी सोधिएको थियो।
"त्यो कस्तो हुनेछ भन्ने थाहा भएको भए तपाईँलाई भन्थेँ? अवश्य भन्ने छैन। त्यसले अरू कदम निम्त्याउनेछ ," बाइडनले जवाफ दिए।
"उनीहरू यसअघि कहिल्यै नभए जसरी विश्वमा अस्वीकृत हुनेछन्। र उनीहरू कुन हदसम्म जान्छन् भन्ने कुराले त्यसमा जनाइने प्रतिक्रिया निर्धारण गर्छ।"
युक्रेन युद्ध क्रेमलिनले सोचेजसरी चलिरहेको छैन।
पछिल्ला दिनमा युक्रेनले उत्तर-पूर्वी खार्किभ क्षेत्रमा ८ हजार वर्ग किलोमिटर भन्दा धेरै गुमाएको क्षेत्रफल पुनः प्राप्ति गरेको छ।
युक्रेनको सफल प्रत्याक्रमणबीच पुटिनले भने त्यसले पूर्वी युक्रेनमा रुसले आफ्नो कारबाही नरोक्नेमा जोड दिएका छन्।









