साङ्घाई सहकार्य सङ्गठन: सी जिन्पिङ र भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे छलफल हुने

तस्बिर स्रोत, Getty Images
- Author, फ्रान्सेस माओ
- Role, बीबीसी न्यूज
चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन्।
भेटका क्रममा दुई नेताहरूबीच युक्रेन युद्ध र "अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरू"मा छलफल हुने क्रेमलिनले जनाएको छ।
उज्बेकिस्तानमा हुने साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनका अवसरमा यी दुईबीच भेट हुनेछ।
दुई नेताको भेटले पश्चिमा विश्वको "विकल्प" देखाउने रुसको दाबी छ।
दुवै देशका लागि महत्त्वपूर्ण स्थितिमा यी दुईको भेट तय भएको हो। राष्ट्रपति सी ऐतिहासिक तेस्रो कार्यकाल चाहिरहेका छन् भने पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा रुसको आक्रमणलाई लिएर निकै खस्किएको छ।
सी जिन्पिङले बुधवारदेखि आफ्नो तीन दिन लामो कजाखस्तान भ्रमण सुरु गर्नेछन्।
त्यस लगत्तै उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने साङ्घाई सहकार्य सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्बेकिस्तान पुगेर बिहीबार पुटिनसँग भेट्नेछन्।
पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेताहरूसँग पनि भेट गर्ने क्रेमलिनले जनाएको छ।
उक्त सम्मेलनमा उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन्।
सीको भ्रमण चीनमा जारी लकडाउनको बीचमा हुँदै छ। त्यहाँ अझै पनि शून्य कोभिड नीति कायम छ।
भाइरससँगै बाँच्न सिक्ने भन्दै विश्वका अन्य देशहरू खुला गरिए पनि हरेकपटक सङ्क्रमण दर बढ्दा बेइजिङले सम्बन्धित सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ।
राष्ट्रपति सीले यसअघि वुहान सहरमा पहिलोपटक लकडाउन हुनुभन्दा केही दिनअघि, सन् २०२० को ज्यानुअरीमा म्यानमार भ्रमणका निम्ति चीन छोडेका थिए।
त्यसयता उनी चीनमै भएपनि यसै वर्षको जुलाई महिनामा हङकङ भ्रमण गर्नका लागि मुख्य भूमि छोडेका थिए।

तस्बिर स्रोत, Getty Images
पुटिनले पनि निकै दुर्लभ विदेश भ्रमण गर्न लागेका हुन्। गत जुलाईमा तेहरानमा टर्की र इरानी नेताहरूसँगको भेट उनको रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको दोस्रो विदेश यात्रा थियो।
यो वर्ष यी दुवै शीर्ष नेताको निम्ति यो दोस्रो भेट हुनेछ। उनीहरूले पछिल्लोपटक गत फेब्रुअरीमा बेइजिङमा भएको शीतकालीन ओलिम्पिक्सको अवसरमा भेटेका थिए।
विश्लेषकहरूले बढ्दो तनावका बीच पश्चिमा विरुद्धको शक्ति प्रदर्शनका रूपमा यस भेटवार्ताको महत्त्वलाई जोड दिएका छन्।
फेब्रुअरीको उक्त भेटपश्चात् जारी संयुक्त विज्ञप्तिमार्फत् उनीहरूले दुई देश बीचको सम्बन्धको "सीमा नरहेको" बताएका थिए। त्यसको केही दिनपछि रुसले युक्रेनमा आक्रमण गर्यो।
तर यस विषयमा चीनले न त आलोचना गरेको छ न त समर्थन नै गरेको छ। बेइजिङले वास्तवमा दुवै पक्ष दोषी रहेको बताएको छ।
रुस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा चीन सामेल भएको छैन। बरु दुई देशबीचको व्यापार बढ्दै गएको छ।
युक्रेनमाथि आक्रमण भएपछि रुसी तेलको भारतीय र चिनियाँ आयात बढेको छ।
हालैका महिनाहरूमा स्वशासित ताइवानको विषयमा तनाव बढेसँगै चीनको पश्चिम, विशेषगरी अमेरिकासँगको सम्बन्ध चिसिएको देखिन्छ। चीनले उक्त टापुलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।
गत महिना बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसीको भ्रमण लगत्तै त्यस टापु वरिपरि पाँच दिन लामो सैन्य नाकाबन्दी लगाएको थियो।
दुई वर्षभन्दा बढी समयमा, लकडाउन र धरमराएको अर्थतन्त्रजस्ता विभिन्न राष्ट्रिय चुनौतीहरूका बाबजुद चीन छोड्ने निर्णयलाई चिनियाँ जानकारहरूले राष्ट्रपति सीको आफ्नो नेतृत्त्वप्रतिको आत्मविश्वासका रूपमा व्याख्या गर्छन्।
विश्लेषकहरूले आगामी अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा उनी अभूतपूर्व तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अपेक्षा गरेका छन्।
एससीओ एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा सङ्गठन हो। यस सङ्गठनलाई चीन, रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानले सन् २००१ मा स्थापना गरेका हुन्। जसमा हाल इरान पनि सामेल हुन खोजिरहेको छ।
सङ्गठनका सदस्यहरूले आयोजना हुन लागेको शिखर सम्मेलनमा व्यापारको विषयमा छलफल गर्नेछन्।
बेइजिङले लामो समयदेखि युरोपमा आफ्नो व्यापार बिस्तार गर्नका लागि नयाँ रेल मार्गहरूको सञ्चालन चाहेको छ। यद्यपि, चीनसँग थप माध्यममार्फत् जोडिनेबारे मध्य एसियाली देशहरू निकै उत्सुक छन्।
यस वर्षको सुरुमा किर्गिस्तानले चीन र उज्बेकिस्तानसँग जोड्ने नयाँ मार्ग निर्माण सन् २०२३ मा सुरु गर्ने घोषणा गरेको थियो।









