राजेन्द्र लिङ्देन: छोटो बाटोबाट संसद्को 'कार्यकाल थप्ने तयारी'पछि राप्रपा अध्यक्षद्वारा सांसद पद 'त्याग'

राजेन्द्र लिङ्देन

तस्बिर स्रोत, RSS

नयाँ संसद्को पहिलो बैठक नबस्दासम्म यही संसद्को कार्यकाल कायम रहने गरी ल्याइएको विधेयकलाई प्रतिनिधिसभाबाट केही नियमहरू फेरबदल गर्दै पारित गर्ने तयारी गरिएको छ।

सामान्यतः सरकारले प्रस्तुत गर्ने विधेयक परिपक्व हुन पाँच दिन समय दिने संसदीय व्यवस्था रहेकोमा आइतवारको बैठकमा त्यसलाई एक दिनमै सीमित पार्ने गरी नियम निलम्बन गरिएको छ।

प्रतिनिधि सभाको अर्को बैठक २१ भदौमा बोलाइएको छ।

संविधानमा 'अगावै विघटन नभएमा संसद्को कार्यकाल पाँच वर्ष हुने' व्यवस्थामा टेकेर सरकारले यस्तो व्यवस्था राखिएको विधेयक अघि सारेको हो।

संविधानले संसद्को कार्यकाल सुरु र अन्त्य हुने मिति तोकेको छैन।

संसद्मा बोल्दै कानुन मन्त्री गोविन्दप्रसाद शर्माले भने "प्रतिनिधिसभाको कार्यकाल उसको पहिलो बैठक सुरु भएपछि हुने" भन्दै विधेयकको बचाउ गरे।

"कार्यकाल लम्ब्याउन खोजिएकै होइन। संविधानले कार्यकाल पाँच वर्ष भनेको छ। कहिले प्रारम्भ भएर कहिले अन्त्य हुन्छ भन्ने मात्र कानुनले पूर्ति गर्न खोजेको हो।"

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका एक्लो सांसद रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भने आइतवार अब संसद्मा नफर्कने भन्दै आफ्नो अन्तिम सम्बोधन गरेको बताएका थिए।

उनले "यस प्रकारको अनैतिक काममा सहभागी हुन कमसेकम मेरो आत्माले मानेन" भन्दै आफ्नो तलबभत्ता समेत नपठाउन सभामुखलाई भनेका थिए।

संसद् अन्त्य हुने मितिबारे बहस

दलहरूले मङ्सिर ४ गते हुने निर्वाचनको प्रयोजनका लागि असोज २ र ३ गते समानुपातिक उम्मेदवारको नामावली सूची पेस गर्नुपर्ने मिति तोकिएको छ।

निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा सरकार कामचलाउ हैसियतमा हुने कतिपय विज्ञहरूको भनाइ छ।

उनीहरूले कामचलाउ सरकारले निर्वाचन आयोगको अनुमतिमा अत्यावश्यक बाहेकका कामकारबाही गर्न नहुने बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: मतदाता बन्न के कुरामा ध्यान दिने? त्रुटि कसरी सच्याउने?

एमालेका सांसद गोकुल बाँस्कोटाले निर्वाचनको अघिल्लो दिनसम्म "कुनै संवैधानिक सङ्कटका लागि संसद् कायम राख्ने कुरा ठिक भए पनि" त्यो चुनावपछि कायम राख्न नहुने बताए।

उनले भने, "जागिरको निरन्तरताका रूपमा आउने कुरा मिल्दैन। दुइटा उम्मेदवार हुँदैनन्।"

माओवादी सांसद यशोदा गुरुङ सुवेदीले चुनावका बेला संसद्को फुली लगाएर जाने वा नजाने भन्ने कुरा निर्वाचन आयोगले निर्णय गर्ने बताइन्।

"संविधानले संसद्लाई अविच्छिन्न सभाको रूपमा लिएको देखिन्छ। जसले गर्दा यो कार्यकाल अब आउने संस्थालाई हस्तान्तरण गर्ने गरी बन्न जरुरी थियो," उनले भनिन्।

"नयाँ सांसदले शपथग्रहण गर्दा पुराना सांसदको समय सकिने कुरा असाध्यै जायज छ।"

राजेन्द्र लिङ्देनको 'पदत्याग'

निर्वाचन घोषणा भइसकेपछि संसद् जीवित भइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको राप्रपाका लिङ्देनले बताए।

आइतवार दुईपटक प्रतिनिधिसभा बैठक बसेको थियो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, आइतवार दुईपटक प्रतिनिधिसभा बैठक बसेको थियो

"त्यसमाथि प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरूले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकार समेत चुनावी सरकारमा परिणत गर्दा... उपयुक्त हुन्छ भन्ने धारणा थियो," उनले भने।

"संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रियाहरू प्रारम्भ भएका छन् त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो।"

उनले आइतवारबाट "सांसदको रूपमा उपस्थित नहुने" भन्दै सभामुखलाई "आफ्नो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस्" भनेका थिए।

तर उनले संसद्मा 'सबै कुरा त्याग गर्ने' बताए तापनि राजीनामा शब्द भने प्रयोग गरेका थिएनन्।