नेपाली सेना र माओवादीले 'बेपत्ता पारेका' व्यक्तिका परिवारको पीडा अझै उस्तै, दुई छोराको बाटो अझै हेरिरहन्छिन् वृद्ध आमा

तस्बिर स्रोत, BINITA DAHAL/BBC
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
माओवादी सशस्त्र द्वन्द्वका बेला २०५७ सालमा दमकका भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका तीन छोरालाई सुरक्षाकर्मीले पक्राउ गरेर लगे। पाँचमध्ये तीन छोरा पक्राउ परेपछि बस्नेत दम्पतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिए।
पहिलो पटक २०५७ सालमा छुट्टाछुट्टै पक्राउ परेका तीनैजना छोरा सर्वोच्च अदालतको फैसलापछि २०५९ सालको चैतमा जेलबाट छुटे।
तर छ महिनापछि भदौमा सेनाले काइँला छोरा वीरेन्द्र बस्नेतलाई फेरि समात्यो।
त्यसको तीन महिनापछि माइला छोरा पुष्पराज र कान्छा छोरा धीरेन्द्र एक साताको फरकमा मंसिरमा कालीमाटी र कलङ्कीबाट पक्राउमा परे। त्यतिबेला भूमिगत रहेको माओवादी पार्टीका लागि उनीहरूले लुकीछिपी काम गर्ने गरेको बताइन्छ।
'फर्किएर आउलान् भन्ने आश अझै छ'
विसं २०६० सालको भदौ ११ गते पक्राउ गरेर लगेपछि बेपत्ता बनेका वीरेन्द्रलाई सेनाले १७ महिना बन्दी बनाएर भैरवनाथ गणमा राखेपछि रिहा गर्यो।
त्यो बेला पाएको यातना सम्झिँदा अहिले आफूले अर्कै जीवन पाए जस्तो लाग्ने उनी बताउँछन्।

तस्बिर स्रोत, SURENDRA BASNET
काइँला छोरा जीवितै फर्किएपछि आमा चन्द्रकुमारीलाई बाँकी दुई छोरा पनि फर्किन्छन् कि भन्ने आशा पलायो। उनको त्यो आशा अहिलेसम्म सेलाएको छैन।
"कतै मन्दिरतिर माग्न बसेकाहरूलाई देखेँ भने पनि अङ्गभङ्ग बनाएर मेरा छोरालाई छोडिदिएका छन् कि भनेर तिनीहरूको अनुहार नियालेर हेर्छु," चन्द्रकुमारीले भनिन्।
"वीरेन्द्र फर्किएपछि बेपत्ता भएका अरू दुई जना पनि फर्किएलान् भनेर बाटो अझै हेरिरहन्छु।"

तस्बिर स्रोत, BINITA DAHAL/BBC
बेपत्ता पारिँदा धीरेन्द्र १९ र पुष्पराज २४ वर्षका थिए। त्यस हिसाबले अहिले उनीहरूको उमेर क्रमशः ३८ र ४३ वर्ष हुन्छ।
उनीहरूको अनुहार अहिले कस्तो हुन्थ्यो होला, बेपत्ता नभएका भए उनीहरूको आफ्नै परिवार हुन्थ्यो भन्ने जस्ता तर्कना चन्द्रकुमारीको मनमा आइरहन्छ।
छोराहरूलाई सेनाले बन्दी बनाएपछि भीमबहादुर र चन्द्रकुमारीलाई दमकस्थित घरमा बस्नै गाह्रो भयो।
घरमा जुनबेला पनि सुराकी बस्ने भएपछि घरमा बस्ने स्थिति नभएको भन्दै उनीहरू काठमाण्डू सरे। घट्टेकुलोमा डेरा गरेर बस्दा एक दिन छिमेकीको घरमा एकजना नौला मानिस अँध्यारोमा घर सोध्दै आए।
चन्द्रकुमारीलाई आफ्नै बेपत्ता भएका छोरामध्ये एउटा आएको हो कि भन्ने लाग्यो।
उनले राति बाहिर आएर ती युवकको अनुहार नियालेर हेरिन्। न त्यो अनुहार हराएका पुष्पराजसँग मिल्थ्यो, न त धीरेन्द्रसँग नै। ती त छिमेकीको घरमा आएका पाहुना रहेछन्।
उनले छोरा फर्किएलान् भन्ने यस्तो आशाबारे सुनाइरहँदा सानोठिमीस्थित घरमा सोफामा सँगै बसेका भीमबहादुर बस्नेतचाहिँ व्यावहारिक पक्ष हेर्नुपर्ने ठान्छन्।
"आमाको मायामोह! जे भए पनि अब बेपत्ता छोरा आउने कुनै सम्भावना म देख्दिनँ," उनले भने।
अहिले भीमबहादुर र चन्द्रकुमारी दुवै ७३ वर्षका भए।

'आफ्नै मलामी गए जस्तो लाग्थ्यो'
बेपत्ता बनेर १७ महिनापछि रिहा भएका काइँला छोरा वीरेन्द्रले भैरवनाथ गणमा पाएको यातनाबारे बुवा भीमबहादुरलाई सुनाएका थिए। त्यसैले पनि उनी अरू दुई छोरा फर्किएलान् भन्ने आशा नलागेको बताउँछन्।
वीरेन्द्रका अनुसार उनले त्यहाँ हुँदा छुट्टाछुट्टै दिन संयोगवश दाइ पुष्पराज र भाइ धीरेन्द्रलाई शौचालयमा भेटेका थिए।
अहिले कामको सिलसिलामा भारतको कलकत्तामा रहेका वीरेन्द्रले फोनमा भने, "हामी बन्दीलाई हातमा हतकडी, खुट्टामा नेल अनि आँखामा पट्टी लगाएर राखिएको हुन्थ्यो। कसलाई कहाँ राखिएको केही थाहा हुँदैनथ्यो। तर शौचालयमा बन्दीलाई एकैपटक सेनाले पठाउँथ्यो। त्यही बेला मैले एक पटक दाइ र एक पटक भाइलाई भेट्न पाएको थिएँ।"
वीरेन्द्रका अनुसार दाइ पुष्पराजलाई भेट्दा उनका औँलाभरि सियोले घोपेको घाउ र ढाडभरि आलो चोट थियो।
"त्यो घाउमा कमिज टाँसिएको थियो, दाइले मलाई 'त्यो निकालिदे' भनेका थिए। तर कमिज तान्दा रगत आएपछि मैले सकिनँ। बरु एकैछिन भए पनि दाइलाई अँगालो मारेँ," उनले भने।
त्यसको करिब एक महिनापछि पुसको तेस्रो साता वीरेन्द्रले फेरि भाइ धीरेन्द्रलाई पनि शौचालयमै भेटे। उनीसँग करिब ३५ सेकेन्डमात्रै कुराकानी गर्न पाएको उनले बताए।
शरीरमा लुगा लगाए जस्तै त्यतिबेला आँखामा पट्टी जतिबेला पनि लगाइदिएको सम्झना गर्दै उनले भने , "सेनाले गाडीमा राखेर कतै लैजाँदा आफूलाई आफ्नै मलामी जाँदै छु भन्ने लाग्थ्यो।"

तस्बिर स्रोत, SURENDRA BASNET
'सास रहँदै सरकारले बेपत्ता छोराहरूको अवस्था भनिदेओस्'
भीमबहादुर बस्नेतलाई अब आफू धेरै बाँचिएला भन्ने लाग्दैन। छ महिनामा टुङ्गो लगाउँछौँ र बेपत्ताबारे सत्यतथ्य बताउँछौँ भनेको सरकारले १७ वर्ष पुग्दा पनि आफ्ना छोराबारे केही जबाफ दिन नसकेको गुनासो उनी गर्छन्।
"हाम्रो सास छँदै सरकारले बेपत्ताहरूको अवस्था जे जस्तो छ सार्वजनिक गरिदिओस्," उनले भने।
आमा चन्द्रकुमारी आशैआशामा मात्र बाँच्दा पनि पीडा भएको बताउँछिन्। "यो पापी मन कस्तो छ भने मेरा छोरा संसारमा छैनन् भन्ने लाग्दैन। आमाको यो पीडा कम हुने कुनै औषधि भइदिए पनि त हुन्थ्यो," उनले भनिन्।
भीमबहादुरलाई आफ्ना छोराहरू भैरवनाथ गणमा हुँदा नै मारिए भन्ने लाग्छ। सेनाले कतै लगेर निर्मम तरिकाले हत्या गर्यो होला भन्ने लाग्छ।
उनी भन्छन्, "छोराहरू बाँकी छन् जस्तो मलाई लाग्दैन। यिनीहरूको हत्या गरिएको भए पनि कमजोरी भयो भनून्, माफी सरकारले दिने होइन, परिवारका सदस्यहरूले हामीले नै दिने हो।"

तस्बिर स्रोत, Getty Images
विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाले द्वन्द्वका बेला भएका घटनाहरूको छानबिन गर्ने क्रममा भैरवनाथ गणमा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका प्रतिवेदन तयार गरेका थिए। तर सेनाले भने त्यसलाई कहिल्यै स्वीकार नगरेको पीडित तथा अधिकारकर्मीहरू बताउँछन्।
संयुक्त राज्य अमेरिकाले गत फागुन अन्तिम साता नेपालको सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह गर्ने भूमिकालाई आफूले उपलब्ध गराउने कतिपय सैन्य सहयोगका लागि एउटा सर्त बनाउने बताएको थियो।
त्यसको प्रतिक्रियामा नेपाली सेनाले सङ्गठनको मनोबल र पेसागत संवेदनशीलतामा कुनै आँच नआउनेगरी सङ्क्रमणकालीन न्यायको विषय टुङ्गोमा पुर्याइने बताएको थियो।

तस्बिर स्रोत, RAM BHANDARI
परिवारको पीडा उस्तै
शान्ति सम्झौतापछि बेपत्ता पारिएकाको खोजबिनमा भीमबहादुरले दुई वर्ष काम गरे।
"त्यतिबेला राज्यले बेपत्ता पारेकाहरूको सङ्ख्या १,०९१ र माओवादीले बेपत्ता पारेकाको सङ्ख्या १३५ थियो," उनले भने।
तर सरकारले निकालेको र विभिन्न अधिकारवादी सङ्घसंस्थाले निकालेको सङ्ख्या फरकफरक रहेको बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष भण्डारी बताउँछन्।
द्वन्द्वकालमा सङ्ख्याका हिसाबले राज्य पक्षबाट बेपत्ता पारिनेको सङ्ख्याको दाँजोमा विद्रोही माओवादी पक्षबाट बेपत्ता पारिनेको सङ्ख्या कम देखिन्छ।
जसको परिवारको सदस्यलाई बेपत्ता पारियो उनीहरूको पीडा अहिले २० वर्ष पुगिसक्दा पनि उस्तै छ।
सङ्ख्यामा कम भए पनि माओवादीले बेपत्ता बनाएकोबारे कुनै स्वीकारोक्ति नगरेको बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारी बताउँछन्।
उनले भने, "न माओवादीले आफूले बेपत्ता बनाएका व्यक्तिबारे स्वीकार गरेको छ न सेनाले नै स्पष्ट केही भनेको छ। त्यसैले पनि बेपत्ताबारे सत्यतथ्य बाहिर आउन समय लागेको हो भन्ने लाग्छ।"
माओवादीले बेपत्ता पारेका परिवारको वेदना
काठमाण्डू नैकापमा बस्ने श्याम र शोभा भट्टका दुई सन्तान छोरा र छोरी तीन र चार वर्षका थिए।
किराना पसल खोलेर भट्ट दम्पतीको गुजारा चल्दै आएको थियो। शोभाका अनुसार उनी आफ्ना साना छोराछोरीलाई विद्यालय लैजाने हतारोमा थिइन्।
विसं २०५८ असोज १८ गते बिहान तीन-चारजना माओवादी घरमै आए। एकैछिनका लागि लिएर जान्छौँ, केही सोधपुछ गर्छौँ अनि फिर्ता गरिदिन्छौँ भने। अपरिचित मानिससँग श्रीमान् नगइदिए हुन्थ्यो भन्ने उनलाई लागेको थियो।
तर श्यामले त्यतिबेला उनलाई भनेका थिए, "मानिस भएको ठाउँमा मानिस आएका हुन्। हामीले केही गल्ती गरेका छैनौँ। म एकैछिनमा आइहाल्छु। तिमी छोराछोरीलाई स्कूल पुर्याऊ।"

तस्बिर स्रोत, SHOVA BHATTA
श्रीमान्ले शोभालाई भनेका ती शब्द नै अन्तिम बने। त्यतिबेलादेखि उनी श्याम कहिले घर फर्केलान् भनेर बाटो हेरेर बसिरहेकी छन्।
उनले केही पत्तो लाग्छ कि भनेर देशविदेशका विभिन्न सङ्घसंस्थामा हारगुहार पनि गरिन्। कसैले अत्तोपत्तो केही दिन सकेका छैनन्।
"आधा रातमा कसैले ढोका ढक्ढकाउँदा पनि मेरै श्रीमान् हुन् कि जस्तो लाग्छ। अहिले २३ वर्ष हुँदा पनि उहाँलाई सम्झिँदा मेरो आँसु थामिएको छैन," शोभाले भनिन्।
शोभा घरमा नहुँदा श्याम डायरी लेख्थे।
"ती डायरी, उहाँले लगाएका बेल्ट, कपडा, जुत्ता मसँग अझै सुरक्षित छन्। मेरो श्रीमान्को चिनो भनेर मैले सुरक्षित राखेकी छु," उनले एक अन्तर्वार्तामा भनिन्।

तस्बिर स्रोत, RAM BHANDARI/FACEBOOK
बुवा बेपत्ता हुँदा काखैमा खेल्ने गरेका दुवै सन्तानको अहिले बिहेबारी भयो।
सानै छँदा "हाम्रो बुवा कहाँ जानुभएको? कहिले आउनुहुन्छ?" भन्ने उनीहरूको प्रश्नले शोभा किंकर्तव्यविमूढ हुन्थिन्। उत्तर दिन नसकेर धेरै पटक आफू भक्कानिने गरेको उनी सुनाउँछिन्।
"दुई जना भएर छोराछोरीको भविष्य राम्रो बनाऊँला भन्ने थियो। त्यो सपना चकनाचुर भयो। जति बुढेसकाल लाग्न थाल्यो त्यति मलाई उहाँको सम्झनाले सताएको छ," शोभा भन्छिन्।
त्यही यादले सताउँछ र श्रीमान्को खोजी उनले जारी राखेकी छन्। बेपत्ता नागरिकबारे विभिन्न कार्यक्रम हुँदा उनी सक्रिय रूपमा आफ्ना कुरा राख्छिन्।
"बेपत्ताको परिवारको आँसु कसरी पुछ्ने भनेर सरकारले विचार गरिदेओस् भन्ने लाग्छ। लड्दालड्दै हाम्रो जिन्दगी यसै आधी भइसक्यो। अब कहिले चाहिँ न्याय पाउँछौँ त हामीले?" उनी प्रश्न गर्छिन्।
छोराछोरी "बाबाको खोजी गर्दागर्दै आमा थाकिसक्नुभयो, अब छोडिदिनुहोस्" भन्छन्। विभिन्न सञ्चारमाध्यम र अधिकारकर्मी संस्थालाई आफ्ना वेदना सुनाउँदै आएकी उनलाई अब दिक्क लाग्न थालिसक्यो।
बीबीसीले कुरा गर्दा पनि उनले पटकपटक भनिन्, "मेरो कथा मलाई खोस्रिरहनै मन लाग्दैन। त्यो कुरा सुरु गर्यो कि खाटा बसिसकेको घाउ कोट्याइरहे जस्तो लाग्न थाल्छ। राज्यले केही गर्दैन। बताइरहँदा पनि वाक्क लागिसक्यो।"
तर फेरि चुप लागेर बस्न पनि मनले नमान्ने उनले बताइन्।
"सत्यतथ्य पत्ता लगाइदेऊ - कि सास देऊ, कि लास देऊ भन्ने लाग्छ। यदि मेरा मान्छे नभए सरकारले परिपूरण गरिदेओस्। योग्यता पुगेका सन्तानलाई रोजगारी देओस्," उनले भनिन्।
तत्कालीन समयमा राज्य र विद्रोही दुवै पक्षबाट बेपत्ता पारिएका परिवारहरू अहिले पनि आफ्ना मान्छे फर्किएलान् भन्ने आशामा छन्।

तस्बिर स्रोत, RAM BHANDARI/FACEBOOK
आयोग के भन्छ
सत्यतथ्य पत्ता लगाउन भनेर गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वर्षौँदेखि कानुन नबनेका कारण काम गर्न सकेका छैनन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ अहिलेसम्म दर्ता भएका ३,२८८ उजुरीमध्ये २,४९० उजुरीहरू विस्तृत छानबिनको क्रममा रहेको जनाइएको छ।
उजुरीका आधारमा बेपत्ता पारिएका भनिएका व्यक्तिको सङ्ख्या आयोगका अनुसार २,५५८ छ।
हालसम्म १,३२१ बेपत्ता व्यक्तिका ३९९३ जना पीडित सदस्यलाई पीडित परिचयपत्र वितरण गरिएको आयोगले जनाएको छ।
तर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका कैयौँ विषयहरूमा उठाइएका प्रश्नहरू सम्बोधन नहुँदा दुवै आयोगले आफ्ना कामहरू खासै गर्न सकेका छैनन्।
अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनसम्बन्धी संशोधन विधेयक संसद्मा प्रस्तुत गरे पनि द्वन्द्वपीडितहरूले असन्तुष्टि जनाइरहेका छन्।
सङ्क्रमणकालीन न्यायको सिद्धान्त र सर्वोच्च अदालतको फैसलाको मर्म समेटेर कानुन ल्याइएको सरकारको दाबी छ।
तर कैयौँ अधिकारवादी संस्थाहरूले प्रस्तावित संशोधन विधेयकले गम्भीर मानवअधिकार उल्लङ्घनमा न्याय दिन नसक्ने आशङ्का व्यक्त गरेका छन्।
अहिले कानुनमन्त्री रहेका गोविन्दप्रसाद शर्मा कोइरालाले विगतमा पीडित पक्षको वकालत गर्दै आएको भए पनि संशोधन विधेयकका कारण उनी स्वयं विवादमा तानिएका छन्।
गठन भएयता पटकपटक म्याद थपिएको आयोगले अब आफ्ना मुद्दाहरूको छिट्टै सम्बोधन गरोस् भन्ने बेपत्ता पारिएका परिवारका सदस्यहरूको छ।
"प्रतिशोध गरेर मुद्दामामिला गरेर पनि साध्य छैन। हामी यो अन्त्य होस् भन्ने चाहन्छौँ," भीमबहादुर बस्नेतले भने।
एक महिनाअघि कानुनमन्त्रीसँग भेट हुँदा पनि आफूले त्यही भनेको उनले बताए।
आफूले कानुनमन्त्रीलाई भनेको कुरा सम्झिँदै उनले भने, "अब हामी धेरै बाँच्नु छैन। कमसेकम बेपत्ताबारे बुझ्ने तपाईँ जत्तिको कानुनमन्त्रीले तपाईँकै पालामा यसको निर्क्योल गरिदिनुहोस्।"
देशमा परिवर्तनका लागि आफ्ना छोराहरूले लडेका कारण सरकारले आफ्ना छोराहरूलाई शहीद घोषणा गरिदेओस् भन्ने पनि उनलाई लाग्छ।
कानुनमन्त्रीले आफूले प्रस्ताव गरेको कानुनलाई संसद्ले सकेसम्म चाँडो अनुमोदन गरेर द्वन्द्वपीडितको घाउमा मलम लगाउनुपर्ने धारणा राख्दै आएका थिए।
तर शान्ति सम्झौतामा हस्ताक्षर गर्दा छ महिनामा टुङ्गो लगाउने भनि प्रतिबद्धता गरिएको यो प्रक्रिया डेढ दशकभन्दा बढी तन्किसकेका कारण द्वन्द्वपीडितहरूले आशा गुमाउँदै गएका छन्।
"अब खाटा बसिरहेको घाउलाई फेरि कोट्याउने इच्छा छैन। सरकारले केही गर्न सकेको छैन। अब त वेदना सुनाउन पनि दिक्क लाग्छ।"
"भो! खाटा बसेको घाउ नकोट्याऊँ," शोभा भट्टले सङ्क्षिप्त कुराकानीको बिट मार्दै भनिन्।
यो पनि हेर्नुहोस्










