सलमान रुश्दी: अमेरिकामा भएको साङ्घातिक आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

तस्बिर स्रोत, Getty Images
इरानले सलमान रुश्दीमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उसले बरु रुश्दी नै दोषी भएको आरोप लगाएको छ।
अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुश्दी गम्भीर घाइते भएका छन्। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो।
अहिले उनी बाह्य सहायताबिना आफैँ सास फेर्न सक्ने अवस्थामा फर्किएका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानको सरकारी सञ्चारमाध्यमले उक्त घटनाप्रति प्रसन्नता व्यक्त गरेको आरोप लगाउँदै त्यस्तो व्यवहारलाई "नीच" को सङ्ज्ञा दिएका थिए।
उनको 'द सट्यानिक भर्सिज' उपन्यास प्रकाशित भएपछि रुश्दीले हत्याको धम्की खेपिरहेका छन्।
रुश्दीले एउटा आँखा गुमाउन सक्ने विवरण आएपछि इरानको सरकारी टेलिभिजन जाम-ए-जमले "शैतानको एउटा आँखा बन्द भएको छ" भनेको थियो।
शुक्रवार रुश्दीमाथि आक्रमण भएको समाचार आउनेबित्तिकै सबैको ध्यान इरानको प्रतिक्रिया के हुन्छ भन्नेतिर गएको थियो।
रुश्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि रुश्दीको हत्या गर्न इरानका सर्वोच्च नेताले फतवा अर्थात् धार्मिक आदेश जारी गरेका थिए।
के भन्छ तेहरान?
इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले उक्त आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबी अस्वीकार गरेका छन्।
"इस्लामिक गणराज्य इरानलाई आरोप लगाउने अधिकार कसैसँग छैन," उनले सोमवार भने।
वाक् स्वतन्त्रताले रुश्दीको लेखनमा देखिएको धर्मको अपमानलाई उचित नठहर्याउने उनको तर्क छ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, "यो आक्रमणमा त्यसको दोषी र अझ निन्दा गर्नुपर्ने यदि कोही छन् भने ती सलमान रुश्दी र उनका समर्थकबाहेक अरू कोही होइनन्।"
उनका अनुसार रुश्दीमाथि भएको आक्रमणबारे इरानसँग सञ्चारमाध्यममा उपलब्धबाहेक अरू जानकारी छैन।
के भन्छ अमेरिका?
ब्लिङ्कनले यसअघि इरानको सरकारी निकायहरूले लेखक रुश्दीविरुद्ध हिंसा गर्न उक्साएको भन्दै निन्दा गरेका थिए।
एउटा विज्ञप्तिमा उनले रुश्दी "विश्वव्यापी अभिव्यक्ति स्वतन्त्रता, धार्मिक वा आस्थाको स्वतन्त्रता, र प्रेस स्वतन्त्रताका पक्षमा दृढतापूर्वक उभिएको" बताएका थिए।
"आक्रमणबारे कानुन कार्यान्वयनकारी निकायले अनुसन्धान जारी राखिरहँदा घृणा फैलाउने अभिव्यक्ति र हिंसा भड्काउने क्रियाकलापसहित ती अधिकारलाई कमजोर पार्न खोज्ने घातक तत्त्वहरूबारे मलाई सम्झना दिलाइएको छ," ब्लिङ्कनले भने।
"खासगरी इरानी सरकारी निकायहरूले पुस्तौँदेखि रुश्दीविरुद्ध हिंसा गर्न उकासिरहेका छन् र सरकारी सञ्चारमाध्यमहरूले हालै उनको ज्यान लिन गरिएको प्रयासप्रति प्रसन्नता व्यक्त गरेका छन्। यो घिनलाग्दो कुरा हो।"
उनले अमेरिका र उसका साझेदारहरू "प्रत्येक उपयुक्त साधन" को प्रयोग गर्दै "त्यस्तो जोखिम" देखिएका ठाउँमा उभिने बताए।
के छ रुश्दीको अवस्था?
आइतवार उनका छोरा जफरले लेखक रुश्दी अझै जटिल अवस्थामा रहेको बताएका थिए।
"उनका घाउहरू गम्भीर भए पनि सधैँ झैँ उनको जीवन्त र निडर हास्यचेत उस्तै छ।"
आइतवार उनलाई भेन्टिलेटरबाट बाहिर निकालिँदा रुश्दीका परिवारजनले आफ्नो पीडा "निकै कम भएको" बताएका थिए।
जफरले आफ्ना पिताले "केही शब्द बोल्न सकेको" बताएका थिए।
सुरुमा रुश्दीका प्रतिनिधि एन्ड्रू वाइलीले आक्रमणका कारण रुश्दीको एउटा हातमा गम्भीर चोट लागेको, कलेजोले काम नगर्ने देखिएको र उनले एउटा आँखा समेत गुमाउन पनि सक्ने बताएका थिए।
आक्रमणपछि शुक्रवार नै पक्राउ परेका उक्त घटनाका अभियुक्त २४ वर्षीय हादी मतरले अभियोग स्वीकार गरेका छैनन्।
रुश्दी एउटा साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा ती युवकले मञ्चमा उक्लिएर उनलाई अनुहार, घाँटी र पेटमा चक्कुले प्रहार गरेको आरोप लगाइएको छ।
रुश्दीलाई किन जोखिम?
सन् १९८८ मा प्रकाशित द सट्यानिक भर्सिजका कारण इरानी धार्मिक नेता आयातुल्ला रुहुल्ला खोमेनीले हत्याको आदेश दिएपछि रुश्दी आफ्नी पत्नीसहित १० वर्ष लुकेर बसेका थिए।
उक्त पुस्तकको विषयवस्तुलाई इस्लामविरुद्ध मान्दै मुस्लिम समुदाय आक्रोशित भएको थियो।
रुस्दीविरुद्ध जारी गरिएको फतवामा उनको टाउको ल्याउनेलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरिएको थियो।
पछि रुश्दीले त्यस बेलासम्म मुस्लिमहरूलाई भावनामा चोट पुर्याएकोमा गहिरो क्षमायाचना गरे। तर उनीविरुद्धको फतवा फिर्ता भएन।
यद्यपि रुश्दीलाई मृत्युदण्ड दिने आदेशलाई सन् १९९८ मा इरान सरकारले औपचारिक रूपमा अगाडि बढाउन छोडेको छ। सन् २०१२ मा इरानको एउटा अर्धसरकारी धार्मिक सङ्गठनले रुश्दीको हत्या गर्ने व्यक्तिलाई दिने पुरस्कार राशिमा पाँच लाख डलर थपिदिएको थियो।
उक्त फतवा अहिले पनि कायम छ।
को हुन् सलमान रुश्दी?
भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि सलमान रुश्दीको जन्म सन् १९४७ मा बम्बईमा भएको थियो।
चौध वर्षको उमेरमा अध्ययनका लागि इङ्ग्ल्यान्ड गए। पछि उनले केम्ब्रिजको किङ्स कलेजमा इतिहास विषय पढे।
उनले ब्रिटिश नागरिकता लिए। पछि उनले इस्लाम धर्म अनुसरण गरेनन्।
साहित्यमा गरेकोमा सेवाका लागि उनलाई 'नाइट' उपाधि दिइएको थियो।









