अमेरिका: रोग बोक्ने अजङको अफ्रिकी शङ्खेकिरा छुन र खान नहुने चेतावनी

अजङका शङ्खेकिरा

तस्बिर स्रोत, Getty Images

जमिनमा पाइने ठूला अफ्रिकी शङ्खेकिरा निकै सुस्त गतिमा हिँड्ने, हानि नगर्ने वा कतिका लागि त स्वादिष्ट आहारजस्तै देखिन सक्छन्।

तर अमेरिकी अधिकारीहरूका अनुसार यो किरा "विश्वका सबैभन्दा हानिकारक शङ्खेकिरामध्ये एक हुन् र मानव स्वास्थ्यको लागि जोखिम" हुन्।

"यी जीव हाम्रो स्वास्थ्यका निम्ति जोखिमपूर्ण छन् किनकि तिनीहरूले मेनिन्जाइटिस भनिने एक किसिमको परजीवीलाई बोक्छन्," फ्लोरिडाकी कृषि आयुक्त निक्की फ्राइड भन्छिन्।

"उनीहरूले कम्तीमा ५०० विभिन्न बिरुवा खान्छन् जसले मानव, कृषि र प्राकृतिक स्थानका निम्ति स्पष्ट रूपमा खतराको सङ्केत गर्छ।"

फ्लोरिडामा प्रशिक्षणप्राप्त विशेष किसिमका कुकुर र कम्तीमा ३० कर्मचारी यी आक्रमणकारी प्रजातिलाई उन्मूलन गर्न तैनाथ गरिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत जुन महिनामा पहिलो पटक पहिचान भएयता अधिकारीहरूले पास्को काउन्टी क्षेत्रमा मात्र १,४०० भन्दा बढी मृत वा जीवित शङ्खेकिरा नियन्त्रणमा लिएका छन्।

अफ्रिकी शङ्खेकिरा आठ इन्चसम्म बढ्न सक्छ र तिनीहरूको प्रजनन छिटो हुन्छ।

"एउटा अजङको अफ्रिकी शङ्खेकिराले प्रत्येक वर्ष २,००० वटासम्म अण्डा पार्न सक्छ," फ्लोरिडाको कृषि विभागका जीव विज्ञ जेसन स्टेनलीले एएफपीसँग भनेका छन्।

मानवका लागि जोखिमपूर्ण

यस शङ्खेकिराका कारण मानिसहरू पनि खतरामा पर्ने सम्भावनाबारे विज्ञहरू बोलेका छन्।

यी किराले बोक्ने परजीवी मानिसको शरीरमा प्रवेश गरे मस्तिष्कको नलीमा पुग्छ र त्यहाँ मेनिन्जाइटिस निम्त्याउन सक्छ।

अजङका शङ्खेकिरा

तस्बिर स्रोत, Getty Images

"सामान्यतया यसले मानिसहरूलाई असर गर्दैन। तर दुर्घटनावश यदि यो मानव शरीरमा पर्‍यो भने यसले घातक परिणामहरू निम्त्याउन सक्छ। आँखा नानी वा मस्तिष्कमा असर पार्न सक्छ," फ्लोरिडा विश्वविद्यालयका सहप्राध्यापक डा. विलियम केर्न भन्छन्।

उक्त शङ्खेकिरा थप फैलन नदिन न्यूपोर्ट रिची क्षेत्रलाई हाल ठप्प पारिएको छ र त्यहाँबाट कुनै पनि बोटबिरुवा वा अन्य वनस्पति अर्को ठाउँमा पुर्‍याउनु पाइँदैन।

सङ्क्रमणबाट जोगाउन कुकुरहरूलाई पनि ती किरालाई मुखले नच्याप्न तालिम दिइएको छ।

तालिमप्राप्त कुकुर

तस्बिर स्रोत, Getty Images

यसअघि कहिले देखिएको थियो?

यस किसिमको शङ्खेकिरा पहिलो पटक सन् १९६० मा देखिएको थियो।

त्यसलाई निर्मूल पार्नका लागि सात वर्ष र १० लाख अमेरिकी डलर खर्च लागेको थियो।

त्यस्तै दोस्रो पटक सन् २०१० मा यो किरा देखिएको थियो। त्यति बेला यसलाई उन्मूलन गर्नका निम्ति १० वर्षमा दुई करोड तीस लाख अमेरिकी डलर खर्च भएको थियो।

दुई वर्षसम्म यस प्रकारको किरा नदेखिएको भए स्थानीय अधिकारीहरूले उक्त स्थानलाई शङ्खेकिरा मुक्त घोषणा गर्ने थिए।

युरोपमा कतिपय मानिसहरूले यस किरालाई घरपालुवा जनावरको रूपमा राख्छन् तर अमेरिकामा अनुमतिपत्रबिना पाल्नु गैरकानुनी मानिन्छ।

यद्यपि अधिकारी र विज्ञहरूले यस किरा घरपालुवा जनावर व्यापारीहरूको कारण आक्रामक रूपमा बढेको हुनसक्ने आशङ्का गरेका छन्।

"उनीहरूलाई कसैले घरपालुवा जनावरको रूपमा ल्याएको हुनसक्छ। हामीले पास्को काउन्टीमा फेला पारेको शङ्खेकिराको छाला सामान्यतया हुने खैरो रङको साटो सेतो छ," डा. केर्नले बीबीसीलाई भने।

मूल रूपमा पूर्वी केन्या र पूर्वी तान्जानियाका यी किरा अहिले दक्षिण र दक्षिणपूर्व एशियासहित विश्वभरका धेरै ठाउँहरूमा पाइन्छ।

यूएस डिपार्टमेन्ट अफ एग्रीकल्चरका अनुसार "नरम शरीर भएको यस जीव हाल थुप्रै क्यारिबियन टापुहरूमा भेटिन्छन्, प्राय दक्षिण अमेरिकामा र हालसालै कोस्टारिकामा पनि देखिएका छन्।"

अजङका शङ्खेकिरा

तस्बिर स्रोत, Getty Images

खानको लागि होइन

फ्लोरिडाका अधिकारीहरूले अब मानिसहरूलाई यी शङ्खेकिरा देखेको खण्डमा जानकारी गराउन आग्रह गरेका छन्।

"यदि तपाईँले यस्तो किरा देखे त्यसलाई नछुनूस्। हामीलाई खबर गर्नूस्। तिनीहरूले आफूसँग रोगहरू बोक्छन्," आयुक्त निक्की फ्राइडले भनेकी छन्।

उनले त्यस किरा नखान चेतावनी दिएकी छन्।

"सबैभन्दा महत्त्वपूर्ण कुरा यो किरा नखानूस्। यो घ्यू, तेल र लसुन हालेर पकाउने शङ्खेकिरा होइन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, झ्याउँकीरी पकाएर 'स्वादिष्ट व्यञ्जन'