फिलिपिन्स भूकम्पः ७.१ म्याग्निट्यूडको भुइँचालोले ठूलो क्षति पुगेको अनुमान, ३०० किलोमिटर पर मनिलासम्म कम्पन

फिलिपिन्स

तस्बिर स्रोत, HANDOUT/EPA

फिलिपिन्सको दक्षिणी भेगमा आएको एउटा शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ।

भूकम्पको धक्का ३०० किलोमिटर दक्षिणमा अवस्थित राजधानी मनिलासम्म महसुस भएको विवरणहरू आएका छन्। भूकम्पपछि संसद् भवनबाट केही व्यक्तिहरूलाई उद्धार गरिएको थियो।

उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको बताइएको छ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित प्रान्तमा उद्धार टोली पठाउन निर्देशन दिएका छन्।

अहिलेसम्म भूकम्पमा परेर चार जनाको मृत्यु भएको विवरण आएको छ।

भूकम्पपछि राष्ट्रपतिले देशको विपद् व्यवस्थापन गर्ने प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।

संवाददाताहरूसँग कुरा गर्दै उनले भविष्यमा हुने विपत्तिहरूको प्रभाव घटाउन एउटा विशिष्ट निकाय गठन गर्ने आफ्नो इच्छा भएको बताएका छन्।

यसअघि राष्ट्रपतिकी एक प्रवक्ताले मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको बताएकी थिइन्।

मार्कोसले केही साताअघि मात्र पदबहाली गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भूकम्पबाट प्रभावित क्षेत्रमा एउटा अस्पतालको केही भाग भत्किएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको विवरणहरू आएका छन्।

भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका स्थानमा खिचिएका तस्बिरमा ऐतिहासिक भवनहरू भत्किएको देखिएको छ।

सञ्चारमाध्यममा पनि भवनहरूमा क्षति पुगेको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्। लुजोनमा सडकहरू पनि चर्किएका छन्।

एउटा अस्पतालको भवनमा आंशिक क्षति पुगेपछि त्यहाँबाट सबै जनालाई बाहिर निकालिएको छ।

फिलिपिन्समा भूकम्प अब्रा प्रान्तको तस्बिर

तस्बिर स्रोत, EPA/Handout

स्थानीय अधिकारीहरूले भूकम्पपछि साना परकम्पहरू आइरहेको बताएका छन्।

'प्यासिफिक रिङ अफ फायर' भनिने क्षेत्रमा अवस्थित फिलिपिन्समा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरू भइरहन्छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आँधी आउँदा यसरी गरियो एकमहिने शिशुको उद्धार