एन्फाः अखिल नेपाल फुटबल सङ्घको कार्यसमिति बैठक स्थगित, किन चुलियो विवाद

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बिहीवार बसेको कार्यसमितिको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरीकनै स्थगित भएको छ।
एन्फाका मुख्य पदहरूमा नियुक्ति, महिला साफ च्याम्पियनशिप आयोजनाजस्ता १९ वटा विषय भएको कार्यसूची छलफलका लागि तय भएको थियो।
तर बैठकको प्रारम्भमा माइन्युटमा हस्ताक्षर गर्ने विषयमा विवाद बढेपछि अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बैठक स्थगित गरेको बैठकमा सहभागी एन्फा उपाध्यक्ष दीर्घबहादुर केसीले बताए।
"बैठकको सुरुमा माइन्युटमा हस्ताक्षर गर्न लगाइयो। केही साथीहरूले बैठक सकेपछि मात्र हस्ताक्षर गर्ने भन्ने विवाद भयो। अनि बैठक नै स्थगित गरेर अध्यक्ष हिँड्नुभयो।"
यसअघि उक्त बैठक साउन २ गते राखिएको थियो। तर अध्यक्ष नेम्वाङ बिरामी भएको भन्दै उक्त दिनको बैठक स्थगित भएको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
नियुक्ति विवाद
बैठकका कार्यसूची मुख्यत: नियुक्तिसँग सम्बन्धित छन्। अहिले पदाधिकारीहरू आफूले चाहेका व्यक्तिहरू ल्याउने प्रयत्नमा देखिन्छन्।
तीन सह-महासचिव, सह-कोषाध्यक्ष र प्रवक्ताको नियुक्तिका लागि प्रतिस्पर्धा भए जस्तो देखिन्छ। अहिले एन्फामा तीन गुट रहेको बताइन्छ।
अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेसमर्थित अध्यक्ष नेम्वाङको समूह, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वमा पूर्वअध्यक्ष गणेश थापालाई समर्थन गर्ने समूह र उपाध्यक्ष दीर्घबहादुर केसीको नेतृत्वमा रहेको कर्मा छिरिङ शेर्पापक्षीय समूहमा एन्फामा प्रभाव देखिएको छ। शेर्पा एन्फाको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए।
पूर्वअध्यक्ष थापा आफ्ना छोरा गौरव थापालाई एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सह-महासचिवका रूपमा कुनै पनि हालतमा एन्फा प्रवेश गराउने योजनामा रहेको जानकारहरू बताउँछन्।

अध्यक्ष नेम्वाङ पक्ष भने त्यसलाई जसरी भए पनि रोक्ने र बद्री भट्टराईलाई सह-महासचिव बनाउने प्रयत्नमा रहेको बताइन्छ।
थापा पक्षको अर्को योजना एन्फा प्रवक्तामा पाँचथरका सदस्य सुरेश शाहलाई नियुक्ति गर्ने कतिपयको दाबी छ।
दुई पक्षको यो रस्साकस्सीमा प्रतिपक्षी भूमिकामा रहेको शेर्पा पक्ष भने मौन बसेर "रमिता" हेरिरहने मनस्थितिमा रहेको अर्कोथरीको आरोप छ।
एन्फाको हाल रहेको १९ सदस्यीय कार्यसमितिमा थापा पक्षको बहुमत रहेको बताइन्छ।
त्यसमा एक सदस्य रमेश व्यञ्जनकार उपस्थित नभएपछि बैठकमा १८ जनाको मात्र उपस्थिति थियो।
आफ्नो पक्ष अल्पमतमा परेकोले बैठक स्थगित गरेको बुझाइ थापा पक्षका सदस्यहरूको छ।
थापा समूहबाट एन्फा उपाध्यक्षमा विजयी भएका विराटजङ्ग शाही भन्छन्, "चुनावअगाडि जे सहमति भएको हो, त्यसलाई जसरी पनि लागु गराउने हो। खोलो तरेपछि लौरो बिर्सिन पाइन्छ ? बिर्सिने भन्ने कुनै सवाल नै हुँदैन।"

गत असार ६ गते भएको एन्फा निर्वाचनमा नेम्वाङ र थापा पक्ष एकजुट भएर निर्वाचन लडेका थिए। परिणामस्वरूप शेर्पा छ मतले पराजित भएका थिए।
तर निर्वाचन सकिएलगत्तै नेम्वाङ-थापाबीच नियुक्तिको विषयलाई लिएर असन्तुष्टि देखा पर्न सुरु भयो।
नेम्वाङले बिनाजानकारी महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरेको भन्दै थापा पक्षले विरोध जनाएको थियो।
गौरव थापालाई सीईओ वा सह-महासचिव बनाए विषय मिल्ने अनुमान गरिएको थियो।
तर नेम्वाङ पक्ष त्यसको विपक्षमा लागेपछि फेरि तनाव चुलिएको छ। बिहीवार बैठक स्थगित भएपछि विषय झन पेचिलो बन्न पुगेको छ।

निष्कासनको माग
बैठक रोकिएलगत्तै १२ जना पदाधिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै हटाउन एन्फामा निवेदन दर्ता गरेका छन्।
वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्वय विराटजङ्ग शाही र दीपक खतिवडा लगायतले विदेशी नागरिकलाई नियुक्ति दिन विधानको धारा २४(३) अनुसार नमिल्ने दाबी गरेको छ।
पाँडे नेपाली मूलका जर्मन नागरिक हुन्।
यस किसिमको रस्साकस्सीबीच एन्फा कसरी अगाडि बढ्छ भन्ने चिन्तामा अन्य पदाधिकारी देखिन्छन्।
उपाध्यक्ष केसीले भनेः "शुभ सङ्केत देखिएन।"








