विश्वकप फुटबल २०२२: कतारमा हुने प्रतियोगितामा प्रत्येक राष्ट्रिय टोलीमा २६ खेलाडी रहन पाउने

तस्बिर स्रोत, Getty Images
फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ।
कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे।
देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो।
फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ। यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन्।
इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले त्यस्तो प्रबन्ध मिलाउनुपर्ने माग गर्दै आएका थिए।
"सबै खेलाडी सबै खेलका लागि उपलब्ध हुनुपर्छ भन्ने मलाई लाग्छ," उनले गत एप्रिलमा भनेका थिए।
"यदि टोली ठूलो हुने हो भने त्यस अवस्थामा कुनै खेलमा सबै जना फेरिन सक्ने हुनुपर्छ," उनको भनाइ थियो।
यसपालि विश्वकप फुटबलमा ३२ देश सहभागी हुँदै छन्। आगामी अक्टोबर २० सम्म तिनले आफ्नो टोलीबारे निर्णय गरिसक्नुपर्नेछ। त्यसको ठिक ३० दिनपछि सेनिगल र द नेदरल्यान्ड्सबीच अल तुमामा रङ्गशालामा पहिलो खेल हुनेछ।
फिफाले खेल हुँदा बेन्चमा १५ अतिरिक्त खेलाडी र ११ टोलीका अधिकारीसहित २६ जनाभन्दा बढीलाई बस्न नदिइने जनाएको छ। टोलीका अधिकारीमध्ये एक जना चिकित्सक हुनैपर्नेछ।
Final draw of group stages
अहिलेसम्मका विश्वकप विजेता
- ब्रजिल: पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
- जर्मनी: चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
- इटली: चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
- आर्जेन्टिना: दुई पटक (सन् १९७८, १९८६)
- फ्रान्स: दुई पटक (सन् १९९८, २०१८)
- युरुग्वे: दुई पटक (सन् १९३०, १९५०)
- स्पेन: एक पटक (सन् २०१०)
- इङ्ग्ल्यान्ड: एक पटक (सन् १९६६)
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो। उसले आठ पटक विश्वकप फाइनल खेलेको छ भने ब्रजिल सात पटक फाइनलमा पुगेको छ।
इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन्।
फाइनलमा पुगे पनि विश्वविजेता बन्न असफल देशहरू द नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई-दुई पटक) र स्वीडन र क्रोएशिया (एक-एक पटक) हुन्।
Qatar 2022 stage fixtures








