जनता समाजवादी पार्टी: मन्त्री हेरफेर रोक्न बाबुराम भट्टराई विफल, 'अलग पार्टी बनाउँदै'

उपेन्द्र यादव र बाबुराम भट्टराई

तस्बिर स्रोत, Getty/BBC

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको सिफारिसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दलका तीन जना मन्त्री हेरफेर गरेका छन्।

सिफारिसको सूचना पाएपछि अर्का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए।

भट्टराई निकट नेता गङ्गानारायण श्रेष्ठ भन्छन्, "बाबुराम भट्टराई स्वयम्‌ले यो गुटको र एकल निर्णय हो, यसमा हामीलाई आपत्ति छ, कार्यान्वयन नगर्नुस् भन्नु भएको थियो।"

लामो समयदेखि विवादकाबीच केन्द्रीय समितिको बैठक बोलाउने अध्यक्ष यादवको कदमलाई लिएर विवाद थपिएको देखिन्छ।

एकैदिन अलगअलग बैठक

उनले एक्लै निर्णय गरेर बैठक बोलाएको बताउने श्रेष्ठ त्यसबारे छलफल चलिरहेका बेला मन्त्री हेरफेरका कारण विवाद झन् बढेको स्वीकार गर्छन्।

अब आफूहरू पनि केन्द्रीय समितिको बैठक बोलाउने निर्णयमा पुगेको उनको भनाइ छ।

अल्पमतमा पर्ने डर रहँदासम्म बैठक नडाकेर यादवले आफू बहुमतमा रहेको निश्चित भएपछि उक्त बैठक बोलाएको एक थरीको बुझाइ छ।

तर श्रेष्ठ भन्छन्, "उहाँहरूको बैठककै दिन हामीले पनि बोलाउँछौँ, कहाँ बहुमत रहेछ भन्ने थाहा भइहाल्छ।"

उपेन्द्र यादव

तस्बिर स्रोत, Getty Images

त्यसो भए जसपा औपचारिक विभाजनतर्फ लागेको हो? अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेनन् तर त्यसमा भट्टराई जिम्मेवार रहेको सङ्केत गरे।

'बिदाबारी हुनुभयो बाबुरामजी'

"उहाँ त अलग्गै पार्टी बनाउँछु भनेर बिदाबारी भईकन जानुभयो त," केही दिनअघि भट्टराई र आफूबीच कुराकानी भएको उल्लेख गर्दै यादवले भने, "सल्लाहमै फुटौँ भनेर मसँग बिदाबारी लिईकन जानुभाको हो। उहाँले अर्को पार्टी बनाउँदै हुनुहुन्छ।"

केन्द्रीय समितिको अलगअलग बैठक डाकिएपछि भट्टराई के यादवले भने जस्तै नयाँ पार्टी खोल्ने निधोमै पुगेका हुन्?

उक्त कुरा त्यस बेलाको परिस्थितिले निर्धारण गर्ने बताउँदै नेता श्रेष्ठले भने, "उहाँले एकलौटी रूपमा बोलाएको बैठकमा जानुपर्ने बाध्यता त छैन। हामी उपेन्द्रजीको दास त होइनौँ नि।"

यादवले सांसदहरूको माग, कार्यकारी र संसदीय दलको निर्णयका आधारमा पार्टीका वरिष्ठ नेताहरूले मन्त्री हेरफेरको निर्णय गरेको बताए।

त्यसमा भट्टराई र उनी पक्षका नेता डाकिएका थिएनन्। 'म त हिँडे' भनेर गइसकेपछि भट्टराईले आफूलाई बोलाउलान् भन्ने आशा राख्न नहुने उनको भनाइ थियो।

अडिओ क्याप्शन सुरु हुँदैछ, जसपाका नेता भट्टराई भन्छन्- ‘केपी ओलीसँग सत्ता साझेदारीको कुनै सम्भावना छैन’

जसपा जातीय: भट्टराई

त्यसो भए अब मिलन असम्भव नै भइसकेको हो? यादव भन्छन्, "हामीले सल्लाह नै गर्‍यौँ, एक ठाउँमा जान नसकिने, नीतिगत रूपमा पनि फरक भएपछि कसैलाई जबरजस्ती एक ठाउँमा राख्न सकिँदैन।"

उनले नेता भट्टराईले केही दिन अघि एउटा कार्यक्रममा पनि नीतिगत भिन्नता औँल्याएको स्मरण गराए।

भट्टराईले हिमाल, पहाड र तराई जोड्ने वैकल्पिक पार्टी बनाउन खोज पनि जसपाको छवि सानो क्षेत्रीय र जातीय दलमा सीमित हुने खतरा देखिएको टिप्पणी गरेका थिए।

बाबुराम भट्टराई

तस्बिर स्रोत, Getty Images

उनको भनाइ थियो, "यो क्षेत्रभित्रको एउटा जातको पार्टी हो भन्ने आम मानिसमा पर्‍यो, त्यस कारण यस्तो पार्टीलाई धेरै (सुधार) गर्न सकिने देखिँदैन।"

भट्टराईले वैकल्पिक राजनीतिलाई बुझ्ने मानिसहरू एक ढिक्का भएर नयाँ अभियानमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

जातीय समीकरणमा सुधार?

नयाँ विकल्प दिने कुरामा आफू अझै विश्वस्त रहेको बताउँदै उनले त्यो कसरी गर्ने भन्नेबारे प्राविधिक विषयमा परामर्श भइरहेको जानकारी दिए।

उनले नेतृत्वलाई सुधार्न नसकिने ठहरमा पुगेको सङ्केत पनि दिएका थिए।

जसपामा तराईमा बाक्लो उपस्थिति रहेको यादवहरूको वर्चस्व रहेको आरोप लाग्दै आएको थियो।

राजेन्द्र श्रेष्ठलाई कायम राखेर चारमध्ये फिर्ता बोलाइएका तीन मन्त्री यादव थरका छन्। नयाँमा दुई जना यादव थरकै पर्दा एक मुस्लिम समुदायका हुन्।

त्यसलाई कतिपयले जातीयताको आरोपबाट जोगिने प्रयासको रूपमा हेरेको पाइन्छ।