'ओमिक्रोन भेरिअन्टबाट दीर्घ कोभिडको सम्भावना कम हुन्छ'

कोभिड

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले दीर्घ कोभिड भनिने लामो समयसम्म कोभिडको लक्षणले सताउने अवस्थाको सम्भावनालाई कम गर्ने यूकेमा गरिएको एक अध्ययनले देखाएको छ।

द लान्सेटमा प्रकाशित अध्ययनका लागि किङ्स कलेज लन्डनका अध्ययनकर्ताहरूले झन्डै एक लाख मानिसले कोभिडसम्बन्धी एपमा हालेको लक्षणको तथ्याङ्क केलाएका थिए।

ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितमध्ये चार प्रतिशतले मात्रै दीर्घ कोभिडका लक्षण रहेको बताएका थिए जबकि डेल्टा भेरिअन्टबाट सङ्क्रमितमा त्यो सङ्ख्या १० प्रतिशत थियो।

तर अध्ययनमा सहभागीमध्ये ओमिक्रोनले सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा धेरै थिए।

ओपन विश्वविद्यालयका प्राध्यापक केभिन म्याककोन्वोयले ओमिक्रोनले धेरैलाई सङ्क्रमित गर्दा दीर्घ कोभिडको सम्भावना कम गरेको भए पनि जनस्वास्थ्य सतर्कताका हिसाबले यसले धेरै फरक नपार्ने बताए।

"तर कुन भेरिअन्टले सङ्क्रमण हुन्छ भन्ने कुरा हामीले छान्न सकिन्न," उनले भने।

"अनि यो अध्ययनको निष्कर्षले नयाँ भेरिअन्टले दीर्घ कोभिडमा के हुन्छ भनेर भन्दैन।"

अध्ययनकर्ताहरूले सहभागीले कति पहिले कोभिड खोप लिएका थिए भन्ने जस्ता अन्य अवस्थाको अध्ययन गरे पनि दीर्घ कोभिडका बारेमा निश्चित हुने खालको तथ्याङ्क प्राप्त गर्न असम्भव भएको बताइएको छ।

प्रमुख अध्ययनकर्ता डा. क्लेअर स्टेभेस भन्छिन्: "अन्य पुराना भेरिअन्टभन्दा ओमिक्रोन भेरिअन्टले दीर्घ कोभिड गराउने सम्भावना कम देखिएको छ। यद्यपि कोभिड सङ्क्रमण भएका २३ मध्ये एक जनालाई चार साताभन्दा लामो समय कोभिडको लक्षण रहने देखिएको छ।"

"सङ्क्रमितहरूको कुल सङ्ख्या हेर्दा उनीहरूलाई घरमा र काममा सहयोग जरुरी देखिन्छ।"

अधिकारीहरूले यूकेमा मात्रै २० लाख मानिसलाई दीर्घ कोभिड भएको आकलन गरेका छन्।

ओमिक्रोन भेरिअन्टभन्दा पहिले यो अनुमान १३ लाख थियो।

छाति समाउँदै एक पुरुष

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, निरन्तरका लक्षणहरूले मस्तिष्कदेखि मुटु र छालासम्म प्रभाव पार्न सक्छन्

दीर्घ कोभिड भनेको के हो?

"कोरोनाभाइरस (कोभिड-१९) बाट सङ्क्रमणमुक्त भएपछि पनि केही समयसम्म मानिसहरूमा सङ्क्रमणको लक्षण एवं अन्य स्वास्थ्य समस्या देखिन्छ भने त्यो दीर्घ कोभिड हो," शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुन भन्छन्।

"ती समस्या शारीरिक एवं मानसिक दुवै खालका हुन सक्छन्। र, निरन्तर लामो समयसम्म सताउन सक्छ।"

मौसम परिवर्तनसँगै कोभिड-१९ सङ्क्रमणमुक्त भएका बिरामीहरूमा ज्वरो आउने, रुघा र खोकी लाग्नेजस्ता समस्या बल्झिएको चिकित्सकहरू बताउँछन्।

अधिकांशले अत्यधिक थकान, शरीर तात्ने, जोर्नी दुख्ने, रिङटा लाग्ने, अरुचि, श्वासप्रश्वासमा कठिनाइ र कपाल झर्ने समस्याबारे बताइरहेका छन्।

धेरैले मुटु ढुकढुक हुने, निद्रा नलाग्ने, डर र तनाव बढेको सुनाएका छन्।

यूकेमा स्वास्थ्यकर्मीमा लागि प्रकाशित निर्देशिकामा १२ साताभन्दा बढी कोभिडका सङ्क्रमण देखिए त्यसलाई दीर्घ कोभिड मान्ने भनिएको छ।

त्यस्ता लक्षणहरूमा निम्न रहेका छन्:

  • अत्यधिक थकान
  • श्वासप्रश्वासमा कठिनाइ र छाती दुख्ने
  • स्मरण वा एकाग्रतामा समस्या
  • स्वाद वा गन्धमा परिवर्तन
  • जोर्नीको दुखाइ

बिरामीहरूले अनिन्द्रा र पाचन समस्याजस्ता अन्य लक्षणहरू पनि भएको बताएका छन्।