अमेरिका: बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Reuters

दुई वटा सामूहिक गोली प्रहारको घटनापछि अमेरिकाभरि बन्दुक नियन्त्रणमा कडाइको माग गर्दै हजारौँ मानिस प्रदर्शनमा निस्किएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले "म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु" जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई "बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न" आह्वान गरे।

यद्यपि प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार गर्न सक्ने देखिन्छ।

मे २४ मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ जना बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।

त्यसपछि बेफेलो, न्यूयोर्कमा भएको अर्को आक्रमणमा १० जना मारिएका थिए।

यी दुई घटनाले अमेरिकामा बन्दुक नियन्त्रणमा कडाइबारे बहस सुरु गरेको छ।

सन् २०१८ मा फ्लोरिडाको पार्कल्यान्ड विद्यालयमा भएको गोलीकाण्डबाट बचेका व्यक्तिहरूले स्थापना गरेको बन्दुक सुरक्षा समूह 'मार्च फर आवर लाइभ्स' एमएफओएलका अनुसार शनिवार वाशिङटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागोलगायत विभिन्न ४५० स्थानमा प्रदर्शन आयोजना भएका थिए।

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Reuters

सो समूहले मानिसहरू मारिने क्रम जारी रहँदा राजनीतिकर्मीलाई "चुप लागेर बस्न नदिने" बताएको छ।

राजनीतिक नेताहरूको निष्क्रियताले अमेरिकीहरूलाई मारिरहेको एमएफओएलले बताएको छ।

"मानिसहरू मरिइरहँदा हामी तिमीहरूलाई चुप लागेर बस्ने अनुमति दिने छैनौँ," समूहका कार्यसमिति सदस्य ट्रेभोन बोस्लेले एक विज्ञप्तिमार्फत भनेका छन्।

वाशिङ्टन डीसीमा प्रदर्शनकारीहरूसँग बोल्दै पार्कल्यान्ड गोली प्रहारबाट बचेका डेभिड होगले भने,"युभाल्डीमा भएको बालबालिकाको हत्याले मानिसलाई क्रोध र परिवर्तनको माग केन्द्रित बनाउनु पर्छ।"

उनले यस विषयमा बहसभन्दा परिवर्तन हुनुपर्ने कुरामा जोड दिए।

न्यूयोर्कको बेफेलोमा जातीयताप्रेरित गोली प्रहारमा ८६ वर्षीय आमा गुमाएकी गार्नेल ह्विटफिल्डले वाशिङ्टनमा जम्मा भएका प्रदर्शनकारी समक्ष भनिन्, "हामी यहाँ न्यायको माग गर्न आएका छौँ।"

"हामी यहाँ तिनीहरूसँग उभिएका छौँ जो विवेकपूर्ण तरिकाले बन्दुकसम्बन्धी कडा कानुनको माग गरिरहेका छन्।"

एमएफओएलले आक्रमण गर्न प्रयोग हुने हतियारमा प्रतिबन्ध लगाउन, बन्दुक खरिद गर्न खोज्नेहरूको वा बन्दुक बोक्नेहरूलाई दिइने राष्ट्रिय अनुमतिपत्र प्रणालीको लागि आवेदन दिनेहरूको विश्वव्यापी पृष्ठभूमि जाँच गर्नेलगायत माग गरेको छ।

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Reuters

एमएफओएलको पहिलो विरोध प्रदर्शन सन् २०१८ मा फ्लोरिडाको पार्कल्यान्ड विद्यालयमा १४ जना विद्यार्थी र तीन वयस्क मारिने गरी भएको गोली प्रहार लगत्तै आयोजना भएको थियो।

हतियारहरू प्रतिबन्धित गर्न, हतियार खरिदकर्ताको पृष्ठभूमि जाँचहरू कडा गर्न र अन्य बन्दुक नियन्त्रण उपायहरू लागु गर्न आग्रह गरेका राष्ट्रपति जो बाइडनले शनिवारको विरोध प्रदर्शनलाई समर्थन गरे।

"आज देशभरका युवाहरू फेरि एक पटक संसद्मा बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न माग गर्दै छन्। यो मागलाई बहुसङ्ख्यक अमेरिकीहरूले समर्थन गरेका छन्," उनले ट्वीट गरेका छन्।

"म संसद्‌समक्ष 'केही गर्नुहोस्' भन्ने आह्वान दोहोर्‍याउँदै प्रदर्शनकारीहरूको समर्थन गर्छु।"