काठमाण्डू महानगरपालिका: ठोस फोहोर व्यवस्थापनको समस्या खास कस्तो हो?

तस्बिर स्रोत, RSS
काठमाण्डू महानगरपालिकाले फोहोरलाई छुट्याएको अवस्थामा मात्र सङ्कलन गर्ने योजनालाई कार्यान्वयन गरेमा फोहोरको समस्या निकै घट्ने अधिकारी तथा विज्ञहरूले बताएका छन्।
महानगरपालिकाले साउनदेखि प्राङ्गारिक, गैरप्राङ्गारिक र जलाउन सकिने फोहोरलाई छुट्टाछुट्टै राखेको हकमा मात्र उठाउने नियम ल्याउन लागेको जनाएको छ।
फोहोरमैला व्यवस्थापनको ढाँचा बनाउने जिम्मा पाएका मेयर बालेन्द्र शाहका सचिवालय सदस्य इन्जिनियर सुनिल लम्साल भन्छन्, "फोहोरलाई मिसाएको पाइएमा उनीहरूलाई नै छुट्याउन लगाउने र नमानेमा त्यस्ता परिवारको फोहोर नलिने गरी काम गर्न लागिएको छ।"
काठमाण्डू महानगरपालिकामा दैनिक झन्डै ६०० मेट्रिक टन ठोस फोहोर जम्मा हुने गरेको छ।
"प्रयोग भइसकेका स्यानेटरी प्याड, डाइपर, ब्याट्री र औषधिजन्य फोहोरलाई छुट्याएर राखेर निश्चित दिनमा मात्र सङ्कलन गर्ने तालिका समेत बनाइँदैछ," लम्सालले भने।
के फरक पार्छ?
फोहोर फ्याँकिने ठाउँका जनताको विरोधले गर्दा काठमाण्डू महानगरभित्र पटकपटक कैयौँ दिनसम्म फोहोर नउठ्ने समस्या दोहोरिइरहेको छ।
महानगरकै फोहोर सङ्कलन तथा ढुवानी गर्ने शैली एवं त्यस क्रममा स्वास्थ्यजन्य पक्षमा गरिने बेवास्तालाई लिएर समेत बेलाबखत विरोध हुने गरेका छन्।
"हाम्रो घरबाट निस्कने ६० देखि ७० प्रतिशत कुहिने फोहोरहरू हुन्छ। त्यसलाई मात्र व्यवस्थापन गर्न सक्ने हो भने बाँकी ठूलो समस्याका रूपमा रहँदैनन्," वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने भन्छन्।
"करेसाबारी वा कौसी खेतीका लागि प्राङ्गारिक मल बनाउन सकिन्छ। सजिलै व्यवस्थापन हुनुपर्ने जैविक फोहोरमा हाम्रो सबैभन्दा ठूलो मिहिनेत र पैसा खर्च भइरहेको छ।"

तस्बिर स्रोत, Keshav Koirala/BBC
गैरप्राङ्गारिक फोहोरका समेत ९० प्रतिशत हिस्सा पुर्नप्रयोग वा प्रशोधन गर्न सकिने खालको हुने वातावरण अधिकारीहरू बताउँछन्।
काम नलाग्ने बाँकी ठोस फोहोरलाई जलाएर खरानीको रूपमा वा अन्य कुनै प्रयोगमा नहुने १० प्रतिशत हाराहारीका फोहोरलाई मात्र ल्यान्डफिल्ड क्षेत्रमा लैजाने गरी महानगरपालिकाले योजना बनाइरहेको लम्साल बताउँछन्।
स्रोतमै जोड
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वातावरण वैज्ञानिक रहेकी टिस्टा प्रसाईँ जोशीले 'स्रोतबाट नछुट्टाएसम्म समस्या झन् बल्झिने' बताउँछिन्।
"एकातर्फ सहरीकरणले गैरप्राङ्गारिक फोहोरको मात्रा बढाएको छ। सबै कुरा प्याकेटमा आउन थालेका छन्। त्यसमाथि हाम्रो बानीबेहोराहरू यस विषयमा संवेदनशील छैनन्," जोशी थप्छिन्।
"वैज्ञानिक उपाय नसोचीकन कामहरू गरियो भने यसको सिधा समाधान छैन।"
अहिले ठोस फोहोरका रूपमा समस्या देखा परेको भए तापनि त्यसको राम्ररी व्यवस्थापन नहुँदा त्यो जल तथा वायु प्रदूषणका रूपमा विकराल बन्न सक्ने उनको चेतावनी छ।
नुवाकोटको सिस्डोल क्षेत्रमा क्षमताभन्दा निकै बढी फोहोर जम्मा हुँदा ठूलो मात्रामा रासायनिक ग्यासहरू उत्पन्न हुने समस्या देखिएको विज्ञहरूले सजग गराएका थिए।
लम्सालले प्राङ्गारिक फोहोरलाई घरमै वा वडाहरूमा सुख्खा बनाउने उपाय निकाल्दा त्यसको तौल समेत निकै कम गर्न सकिने गरी सोचिएको बताउँछन्।
"प्राङ्गारिक र गैरप्राङ्गारिक फोहोर छुट्टाछुट्टै गाडीमा उठाउने तयारी हुँदै छ। साउन १ गतेदेखि नयाँ तरिकाबाट अगाडि बढ्ने गरी काम भइरहेको छ।"
ल्यान्डफिल्ड साइटलाई 'भार कम'
ल्यान्डफिल्ड क्षेत्रमा भार कम पार्नका लागि कुहिने फोहोर सक्दो कम गर्नुपर्ने निरीक्षक लामिछाने बताउँछन्।
धादिङको बञ्चरेडाँडाको अन्य कुनै प्रयोग नभएपछि 'फ्याँक्नै पर्ने फोहोरका लागि' परिकल्पना गरेर बनाइएको अधिकारीहरूको भनाइ छ।
"तर प्रविधिको उपयोग नबढ्दा त्यहाँसम्म पुग्नै नपर्ने फोहोर पुगेका छन्," लामिछाने भन्छन्।
काठमाण्डू महानगरपालिकाको आफ्नै फोहोर प्रशोधन केन्द्रहरू नहुनुलाई समेत धेरैले समस्या औँल्याउने गरेका छन्।
लम्साल भन्छन्, "प्रशोधन गरेर प्रयोग गर्न मिल्नेको हकमा व्यापारीहरूलाई बेच्ने र त्यसको लागि उक्त क्षेत्रलाई व्यवस्थित पार्ने तत्कालको योजना छ।"










