युक्रेन युद्ध: मारिऊपोलको स्टील प्लान्टमा ज्यान गुमाएका कयौँको शव रुसले किएभलाई बुझायो

युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

युक्रेनको बन्दरगाह सहर मारिऊपोलको प्रतिरक्षा गर्ने क्रममा ज्यान गुमाएका केही युक्रेनी लडाकुहरूको शव मस्कोले किएभलाई बुझाएको मृतकका परिवारहरूले बताएका छन्।

रुसी फौजले उक्त सहर कब्जा गर्ने प्रयास गरिरहँदा खासगरी त्यहाँको मुख्य स्टील प्लान्ट आजोभ्स्तालमा कैयौँ सातासम्म बसेका ती धेरैजसो लडाकुहरूको मृत्यु भएको थियो। 

अन्ततः उनीहरूले गत महिना आत्मसमर्पण गरेपछि अन्यलाई रुसी फौजहरूले बन्धक बनाएका थिए। 

आदानप्रदान सहमति अन्तर्गत दुवै पक्षले १६० वटा शवहरू बुझेका छन्। 

आजोभ् रेजिमेन्टका धेरै

युक्रेनी पक्षमा ५० भन्दा धेरै शवहरू आजोभ रेजिमेन्टको रहेको उनीहरूका परिवारले टेलिग्राम मेसेजिङ सेवामार्फत् जनाएका छन्। 

उनीहरूको पहिचान गर्ने काम जारी छ। 

रोयटर्स समाचार संस्थासँग कुरा गर्दै ती लडाकुका परिवारहरूले यसपछि बन्दीहरू आदानप्रदान गर्नेगरी संवाद भइरहेको समेत बताए तापनि यसबारे थप खुलाएनन्। 

आजोभ्स्तालको प्रतिरक्षा गरेका २ हजार पाँच सयभन्दा धेरैलाई यतिखेर रुस पुर्‍याइएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि बताएका थिए।

आजोभ्स्ताल

तस्बिर स्रोत, Reuters

किएभले ती सबैलाई फिर्ता ल्याउन खोजिरहेका बेला कैयौँ शीर्ष रुसी सांसदहरूले खासगरी आजोभ् रेजिमेन्ट सहितका केही सैनिकहरूमाथि मुद्दा चलाइनुपर्ने माग राखेका छन्। 

उक्त रेजिमेन्ट सन् २०१४ मा स्थापना गरिएको थियो जसका केही सदस्यहरूको त्यसअघि उग्र दक्षिणपन्थी समूहसँग सम्बन्ध थियो। 

रुसले उक्त रेजिमेन्टका लडाकुलाई नवनाजी बताउने गरेको छ जसलाई युक्रेनले अस्वीकार गर्छ। 

किएभले सो सैन्य एकाईलाई सुधार गरिएको र त्यो राजनीतिभन्दा बाहिर रहेको बताउँछ। 

९७ प्रतिशत लुहान्स्क क्षेत्र नियन्त्रणमा- रुस

यसैबीच रुसी फौजले युक्रेनको लगभग सबैजसो पूर्वोत्तर क्षेत्रमा नियन्त्रण जमाएको रुसका रक्षामन्त्रीले बताएका छन्। 

टेलिभिजनमा प्रसारित एक बैठकमा रुसी रक्षामन्त्री सेर्गेई शोइगुले लुहान्स्क क्षेत्रको ९७ प्रतिशत भूभाग 'मुक्त पारिएको' दाबी गरे।

शोइगुले रणनीतिक शहर सेभेरोडोनेट्स्कका आवासिय क्षेत्र मस्कोको नियन्त्रणमा पुगेको र औद्योगिक क्षेत्रमा नियन्त्रण बढाउन थप प्रयासहरू भइरहेको दाबी गरे।

बीबीसीका लागि यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सम्भव छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?