हप्तामा दुई दिन बिदा: एक महिना नपुग्दै सरकारले उल्ट्यायो निर्णय

नेपाल सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अब सातामा एकदिन शनिवार मात्र बिदा दिने निर्णय गरेको मन्त्रीहरूले बताएका छन्।
शहरीविकास मन्त्री रामकुमारी झाँक्रीले बीबीसीसँग कुरा गर्दै 'अब असार १ गतेदेखि लागु हुनेगरी' आइतवार समेत दिन थालिएको बिदा काटिएको पुष्टि गरिन्।
गत जेठ १ गतेदेखि सातामा दुईदिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले एक महिना पूरा नहुँदै त्यसलाई उल्टाउने निर्णय गरेको हो।
सरकारले त्यसबेला परीक्षणका लागि भन्दै कार्यालय समयलाई समेत विहान साढे नौबजेदेखि साँझ साढे पाँच बजेसम्म पुर्याएको थियो।
किन ल्याइएको थियो? किन हटाइयो?
सरकारले खासगरी अन्तर्राष्ट्रिय बजारमा महँगो भइरहेको इन्धनको खपतलाई घटाउने र राष्ट्रिय ढुकुटीमा घटिरहेको विदेशी मुद्रा बचाउने प्रयासको एउटा पाटोको रूपमा उक्त निर्णय गरिएको जनाएको थियो।
सरकारी अधिकारीहरूले यसअघि सातामा एक दिन बिदा थप गर्दा इन्धन, बिजुली, पानी लगायतमा २० प्रतिशतसम्म बचत गर्न सकिने बताएका थिए।
"त्यसबेलै सरकारले अस्थायी रूपमा ल्याएको थियो। यो अवैज्ञानिक भयो भनेर फिर्ता लिइएको होइन, भविष्यमा जाने बाटो त्यही नै हो," सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले भने।
"हाम्रोमा त्यो तत्काल सधैका लागि लागु गर्दा केही धरातलीय समस्या छन्। हामी त्यसको लागि अभ्यस्त भइसकेका छैनौँ," मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले 'जुन कारणले त्यो निर्णय लागु गरिएको थियो, त्यसमा अवस्था सुधारउन्मुख भएको' समेत दाबी गरे।

सार्वजनिक सेवामा त्यसले असर पुर्याएको ढिलासुस्ती झन् बढेको भन्दै यसबारे आलोचना समेत भएका थिए।
कतिपय स्थानिय सरकार, व्यापारिक एवं शैक्षिक संस्थाहरूले त्यसलाई कार्यान्वयन नगर्ने निर्णय समेत गरेका थिए।
त्यसलाई खारेज गर्न माग राखेर सर्वोच्च अदालतमा एउटा रीट निवेदन समेत दायर भएको थियो।
लागु र खारेजीको पुरानै क्रम
नेपालमा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि समेत भन्दै विगत केही वर्षदेखि साताको दुई दिन बिदा दिने कुरा उठ्दै आएको थियो।
हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे एउटा समिति गठन गरेर अध्ययन समेत गरेको थियो।
जसमा सरकारी र निजी क्षेत्रले साताको दुई दिन बिदा दिए करिब ७० देखि ८० लाख मानिसहरूले बिदा पाउने जनाउँदै त्यसको करिब १० प्रतिशत मानिस मात्रै एक दिन घुमफिरका लागि निस्कने अवस्था आयो भने करिब सातदेखि आठ लाख मानिस घर बाहिर निस्कने आकलन गरिएको थियो।
यसअघि शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिन त्यसअघि गरिएको निर्णय दुई वर्ष लागु गरिएपछि २०५९ सालमा उल्टिएको थियो।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो।








