कोभिड, मङ्कीपक्स र युक्रेन युद्धका कारण विश्वलाई गम्भीर चुनौती: डब्ल्यूएचओ

मङ्कीपक्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्

विश्वले कोभिड, युक्रेन युद्ध र मङ्कीपक्ससहित विभिन्न चिन्ताजनक चुनौती सामना गरिरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले बताएका छन्।

टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाबाहिर १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न जिनीभामा भइरहेको बैठकका त्यस्तो बताएका हुन्।

युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र इजरेलमा ८० भन्दा बढी व्यक्तिमा मङ्कीपक्स सरेको पुष्टि भइसकेको छ।

तर बिफरजस्तै भाइरसबाट सर्ने यो रोगबाट सर्वसाधारणलाई निकै कम जोखिम भएको विज्ञहरूको भनाइ छ।

मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा भेटिने मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने र यसको सङ्क्रमण गम्भीर प्रकृतिको नहुने बताइएको छ।

यो भाइरसबाट सङ्क्रमणको केही सातामै बिरामी आफैँ निको हुने यूकेको न्याश्नल हेल्थ सर्भिसले बताएको छ।

अचम्मको विषय

तर अफ्रिकाबाहिर यो रोग १५ देशमा फैलिनु विज्ञहरूका लागि अचम्मको विषय बनेको छ।

यूकेमा स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई तीन साता एकान्तवास बस्न सुझाव दिएका छन्।

बेल्जियम सङ्क्रमितले तीन साता क्वारन्टीनमा बस्नुपर्ने नियम बनाउने पहिलो देश बनेको छ।

डब्ल्यूएचओ बैठक

तस्बिर स्रोत, Reuters

आइतवार जिनीभामा बोल्दै डा. टेड्रोसले भने: "विश्वको सङ्कट [कोभिड] महामारी मात्रै पक्कै होइन।"

"म यहाँ बोलिरहँदा हाम्रा सहकर्मीहरू कङ्गोमा बढेको इबोला सङ्क्रमण, अज्ञात कारणले बढेको मङ्कीपक्स र हेपाटाइटिसविरुद्ध सङ्घर्ष गरिरहेका छन् भने अफगानिस्तान, इथियोपिया, सोमालिया, दक्षिण सुडान, सिरिया, युक्रेन र यमनमा जारी मानवीय सङ्कटसँग सङ्घर्षरत छन्।"

"हामी रोग, खडेरी, भोकमरी र युद्धको चिन्ताजनक मिलनबिन्दुमा छौँ जसलाई जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिस्पर्धाले झन् विकराल बनाएको छ।"

कहाँकहाँ पुग्यो मङ्कीपक्स

डब्ल्यूएचओले यसअघि कुनै पनि देशको नाम नलिईकन मङ्कीपक्सका अरू सन्दिग्ध सङ्क्रमणबारे अध्ययन गरिरहेको र थप मानिसमा सङ्क्रमण पुष्टि हुन सक्ने बताएको थियो।

मङ्कीपक्स भाइरस

तस्बिर स्रोत, Science Photo Library

यूकेमा पहिलो पटक मङ्कीपक्सका बिरामी भेटिएपछि युरोपका अन्य देशमा पनि उक्त रोग पुष्टि भएको थियो।

स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनले शनिवारसम्म यो सङ्क्रमण पुष्टि गरेका थिए।

मङ्कीपक्स आइतवार अस्ट्रिया र स्विट्जरल्यान्डमा पनि पुष्टि भएको थियो।

यूकेमा अहिलेसम्म २० जनामा उक्त भाइरसले सङ्क्रमण गराएको पुष्टि भएको छ। आइतवार बिहान प्रमुख स्वास्थ्य सल्लाहकार डा. सुसन हप्किन्सले बीबीसीलाई दैनिक रूपमा नयाँ सङ्क्रमित फेला परिरहेको बताएकी छन्।

उनका अनुसार भाइरस समुदायमा पुगिसकेको छ।

को बढी जोखिममा

तर सर्वसाधारण मानिसका लागि यसको जोखिम निकै कम भएको बताइएको छ। डा. हप्किन्सले अहिले सहरी क्षेत्रमा विशेषगरी समलिङ्गी पुरुषहरूमा सङ्क्रमण देखिएको बताइन्।

मङ्कीपक्सको लागि कुनै खोप नभए पनि धेरै देशले बिफरको खोप भण्डारमा राख्न सुरु गरेका छन्।

बिफरको खोप मङ्कीपक्सविरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ।

अहिले किन मङ्कीपक्स फैलियो भन्ने स्पष्ट छैन। एउटा अनुमान मङ्कीपक्स भाइरसको उत्परिवर्तन भएर नयाँ भेरिअन्ट आएको हुनसक्ने भनिए पनि यसलाई पुष्टि गर्ने यथेष्ट प्रमाण छैन।

अर्को अनुमान भनेको यो भाइरसले आफ्ना लागि अनुकूल समय र स्थान भेटेको हुनसक्ने भन्ने हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप

लक्षणहरू के हुन्

सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।

एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।

सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।