नेपाल निर्वाचनः माओवादीबाट निर्वाचित जनप्रतिनिधि अघिल्लो चुनावभन्दा कम

जनप्रतिनिधि

तस्बिर स्रोत, RSS

स्थानीय तह निर्वाचनको करिब ९५ प्रतिशत मत परिणाम आइसक्दा सत्ताधारी गठबन्धनको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रबाट अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा कम जनप्रतिनिधि निर्वाचित भएको देखिएको छ।

निर्वाचन आयोगले आइतवार अपराह्नसम्म ७१५ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिसकेको छ।

उक्त मत परिणामको तथ्याङ्क अनुसार गठबन्धनको दोस्रो प्रमुख शक्ति माओवादीबाट १४.६ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन्।

तर अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीबाट १५ प्रतिशतभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका थिए।

आइतवार अपराह्नसम्म देशैभर निर्वाचित भएका करिब ३४,००० जनप्रतिनिधिमध्ये माओवादीबाट निर्वाचित हुने जनप्रतिनिधिहरूको सङ्ख्या ५,००० भन्दा कम छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीबाट ५,४४१ जनप्रतिनिधि निर्वाचित भएका थिए।

तर माओवादीले पालिका प्रमुख पद भने अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा बढाएको छ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा माओवादीबाट ९५ पालिका प्रमुख निर्वाचित भएका थिए।

यो पटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट २४ उपमहानगर तथा नगरपालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२० स्थानीय तह प्रमुख निर्वाचित भइसकेका छन्।

भरतपुरसहित दुई स्थानीय तहमा माओवादी उम्मेदवारले आइतवार अपराह्नसम्म अग्रता लिइरहेको छन्।

nepali_congress cadres celebrate
RSS
२०७४ सालको स्थानीय चुनावमा दलगत अवस्था

७५३ स्थानीय तहका ३५,००० भन्दा धेरै पद

  • १४,१०० नेकपा एमाले (४०%)

  • ११,४५६ नेपाली कांग्रेस (३२.६%)

  • ५,४४० नेकपा माओवादी (१५.५%)

निर्वाचन आयोग

माओवादी नेताहरू के भन्छन्

माओवादी नेतृ जयपुरी घर्तीले स्थानीय तह निर्वाचन परिणामबारे पार्टीमा समीक्षा हुन बाँकी नै रहे पनि हालसम्मको नतिजाबाट आफूहरू सन्तुष्ट नै रहेको बताइन्।

तर गठबन्धनबाट अपेक्षित सहयोग नभएको माओवादी नेताहरूको गुनासो छ।

"गठबन्धनमा एकअर्कालाई सहयोग गरेर मत दिनुपर्नेमा सबै ठाउँमा त्यस्तो भएको छैन। तर पनि विगतको निर्वाचनमा भन्दा प्रमुख र उपप्रमुख पदमा हाम्रो सङ्ख्या बढेको छ," उनले भनिन्।

माओवादीबाट काठमाण्डू उपत्यकामा भने एउटा पनि स्थानीय तहमा प्रमुख निर्वाचित भएनन्।

जनप्रतिनिधि

तस्बिर स्रोत, RSS

यसअघि ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुख जितेको माओवादीले यो निर्वाचनमा उक्त गाउँपालिका एमालेसँग गुमाएको छ।

माओवादीका उम्मेदवार उपत्यकाका केही स्थानीय तहमा उपप्रमुख पदमा भने निर्वाचित भएका छन्।

"माओवादी गाउँबाट उठेको पार्टी भएकाले सहरी इलाकामा अलिकति कमजोर नै हो। तर पनि नेपालको दोस्रो ठूलो सहर भरतपुरमा हाम्रो जित सुनिश्चित जस्तै देखिएको छ," घर्तीले भनिन्।

"राजधानी उपत्यकासहित सहरी क्षेत्रमा कसरी अघि बढ्ने भन्नेमा माओवादी मात्रै होइन, सबै पार्टीले समीक्षा गर्नुपर्ने देखिन्छ। किनभने कांग्रेस एमालेले जितेका ठाउँमा पनि स्वतन्त्र अगाडि आएका छन्," उनले भनिन्।

जनप्रतिनिधि

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, धेरै स्थानीय तहमा जनप्रतिनिधिहरूले सपथ ग्रहण पछि काम सुरू गरिसकेका छन्

जसपाको स्थिति के छ?

गठबन्धनको अर्को साझेदार दल जनता समाजवादी पार्टीमा भने अघिल्लो स्थानीय तह निर्वाचनयता एकता र विभाजन भएका कारण कति सङ्ख्या बढ्यो वा घट्यो भन्ने विवरण पहिल्याउन सहज छैन।

अघिल्लो स्थानीय तह निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले ३३ स्थानीय तह प्रमुखमा जित हासिल गरेको थियो।

यादव अहिले जसपाको अध्यक्ष छन्।

उनी नेतृत्वको दलले यो स्थानीय निर्वाचनमा २८ पालिकामा जित हासिल गरिसकेको छ भने आइतवार अपराह्नसम्म तीन पालिकामा अग्रता कायम गरेको छ।

कांग्रेसले कति बढायो?

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट यसअघिको स्थानीय तह निर्वाचनमा ११,४५६ पदमा ३२.६ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका थिए।

आइतवार अपराह्नसम्मको विवरण अनुसार कांग्रेसबाट करिब ३९ प्रतिशत अर्थात् १३,२०० जनप्रतिनिधि निर्वाचित भएका छन्।

कांग्रेसले सबैभन्दा धेरै ३१४ स्थानीय तहमा जित हासिल गरेको छ।

कांग्रेस उम्मेदवार १२८ पालिका प्रमुख र १८६ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।

एमालेले कति गुमायो?

जनप्रतिनिधि

तस्बिर स्रोत, RSS

दोस्रो स्थानमा रहेको एमाले १९३ स्थानमा सफल भएको छ। एमाले उम्मेदवारहरू ७२ पालिका प्रमुख र १२१ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।

अधिकांश स्थानको मत परिणाम आइसक्दा एमालेबाट ११,००० बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यो स्थानीय तह निर्वाचनमा सबै महानगरमा पछि परेको छ।

देशभरिका ११ उपमहानगरपालिकामध्ये यसअघि वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा सात वटामा जीत हासिल गरेको नेकपा एमालेले यो पटक दुई वटामा जीत र एउटामा अग्रता कायम गरिरहेको छ।