नेपाल निर्वाचन: स्थानीय तह निर्वाचनमा पहिलाको भन्दा कम मतदान, आयोग भन्छ 'सन्तोषजनक लागेन'

मतदान

निर्वाचन आयोगले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले मात्रै स्थानीय तह निर्वाचनमा मतदान गरेको जनाएको छ।

शुक्रवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा कम मतदान भएको जानकारी दिए।

"चौसट्ठी प्रतिशत मतदान भएको अहिले प्रारम्भिक अनुमान छ, मलाई लाग्छ यसको हाराहारीमै मतदान होला भन्ने छ। आयोगले अपेक्षा गरे अनुसार मतदान भएन कि भन्ने लागेको छ," उनले भने।

वि.सं। २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए।

तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो।

आयोगले कम मतदान हुनुको कारण पहिल्याउन बाँकी नै रहे पनि धेरै मतदाता भएका स्थानमै काम मतदान भएका कारण यो स्थानीय तह निर्वाचनमा अनुमान गरिएभन्दा कम मत खसेको जनाएको छ।

काठमाण्डूमा ५२ प्रतिशत मात्रै

"धेरै मतदाता भएको स्थानमा कम मतदान हुने बित्तिकै थोरै मतदाता भएका ठाउँमा धेरै मतदान भए पनि समग्रमा कम मतदान भएको देखिन्छ," थपलियाले भने।

आयोगले काठमाण्डू महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ।

"मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि अहिले करिब ५२ प्रतिशत मात्रै मतदान भएको छ भन्ने प्रारम्भिक तथ्याङ्क जुन छ यो त्यति सन्तोषजनक मलाई लागिरहेको छैन," थपलियाले भने।

तीन लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचन भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन्।

विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरमा २,७९,३०९ जना योग्य मतदाता थिए।

उक्त निर्वाचनमा कुल मतदाताको ७० प्रतिशत मत मात्रै महानगरमा खसेको थियो। खसेको मत मध्ये पनि १५ प्रतिशत मत बदर भएको थियो।

जसमध्ये ६४,९१३ मत ल्याएका नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले निकै फराकिलो मत अन्तरले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई पराजित गरेका थिए।

जोशीले ४५,२६८ मत ल्याए। माओवादीका सर्वोत्तम दास डंगोलले ७९०६ मत ल्याएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'नयाँ जनप्रतिनिधिले इमान्दार भएर काम गरुन्'

आयोगले देशभरिका ७५३ स्थानीय तहमध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण भए पनि केही स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको जनाएको छ।

शुक्रवार साँझ ८ बजेसम्म पनि कतिपय स्थानमा मतदान कार्य जारी रहेको जनाएको छ।

केही स्थानीय तहमा मात्रै शुक्रवार रातिबाट मतगणना प्रारम्भ गर्ने र केही अन्य स्थानीय तहमा शनिवार बिहानबाट मात्रै मतगणना सुरु हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

यसपालिको चुनावमा निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने योग्य मतदाता थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ र यसको महत्त्व के छ?