युक्रेन युद्धः के युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसी कब्जामा पुग्न लागेको हो

मारिऊपोल

तस्बिर स्रोत, Reuters

घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण आइरहेका छन्।

मारिऊपोललाई लिएर रुससँग निःशर्त "विशेष चरणको वार्ता गर्न" आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन्।

"आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको" भन्दै उनले ट्वीट गरेका छन्।

लडाइँका कारण हप्तौँदेखि फसिरहेका कतिपय मानिसहरू बुधवार मारिऊपोलबाट निस्कन पाएका छन्।

'डरलाग्दो अवस्था'

तर सुरक्षित रूपमा निस्कन पाएका मानिसहरूको सङ्ख्या अपेक्षा गरिएको भन्दा निकै नै कम रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

रुसी गणतन्त्र चेचन्याका नेता रमजान कादिरोभले बिहीवार दिउँसोसम्म रुसले मारिऊपोललाई नियन्त्रणमा लिइसक्ने बताएका छन्।

एकजना युक्रेनी मरिन कमाण्डरले आफूहरू अपर्याप्त सङ्ख्यामा रहेको, आपूर्तिका सामान सकिरहेको र 'अन्तिम दिन अथवा घण्टामा' पुगेका बताएका छन्।

आठ साताअघि अतिक्रमण थालेको रुसले मारिऊपोललाई नियन्त्रणमा लिनसके त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मारिऊपोलको अवस्थालाई "साँच्चिकै डरलाग्दो" भनेका छन्।

उनले बाहिर निस्कन सक्ने सबैलाई मानव निकासमार्ग भएर निस्किहाल्न अपील समेत गरेका छन्।

मारिऊपोल किन महत्त्वपूर्ण

मारिऊपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह शहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ।

बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार पहिलो कारण मारिऊपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो।

मारिऊपोल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।

मारिऊपोलमा एजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादीहरू छन्।

युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ।

मारिऊपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।

मारिऊपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।

रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ। युक्रेनमा धावा बोल्ने रुसी राष्ट्रपतिका लागि यसको ऐतिहासिक महत्त्व छ।

उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई "नोभोरोसिया" (नयाँ रुस) अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन्।

पुटिन "किएभस्थित पश्चिमतिर ढल्किएको सरकारको उत्पीडनबाट रुसीलाई उद्धार गरेर" उक्त अवधारणलाई बिउँताउन चाहन्छन्। त्यो उद्देश्यको बीचमा अहिले मारिऊपोल रहेको छ।

युक्रेनलाई मारिऊपोलको पराजयबाट ठूलो चोट पर्नेछ। सैन्य र आर्थिक रूपमा मात्र हैन, रुसी सेनासँग सङ्घर्ष गरिरहेका मानिसको मनमा पनि।

अनि यो पनि